

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् । काठमाडौंमा सोमवार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताए ।
अधिकारीका अनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए । गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय सक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।