जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • ब्याजदर घटेपछि बीमा कम्पनी नयाँ क्षेत्र खोज्दै

ब्याजदर घटेपछि बीमा कम्पनी नयाँ क्षेत्र खोज्दै

बैंकको ब्याजदर निरन्तर ओरालो लागेपछि बीमा कम्पनीले लगानीको नयाँ क्षेत्र खोज्न थालेका छन्। इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणसँग स्वीकृति लिएर उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न थालेका हुन्। बीमा कम्पनीको अधिकांश रकम अहिले मुद्दती निक्षेपमा छ। बैंकको ब्याजदर न्यून विन्दुमा आएकाले लागत धान्नै सकस परेपछि कम्पनीहरुले अरु क्षेत्रतिर लगानी विस्तार गर्न थालेका हुन्।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइँले प्रतिफल दिनसक्ने आयोजनातिर लगानी विस्तार गर्ने काम भइरहेको बताए। ‘बैंकहरुको एफडीको रेट अहिले निकै तल आएको छ। त्यसैले थोरै भए पनि नयाँ प्रोजेक्टतिर लगानी एक्सपान्सन गरिरहेका छौं। हाइड्रोपावर,पर्यटन र कृषि क्षेत्रका उपयुक्त प्रोजेक्ट हेरेर लगानी गर्ने काम भइरहेको छ,’ प्रसाइँले भने, ‘बीमित र लगानीकर्तालाई छोटो अवधिमा प्रतिफल दिनसक्ने आयोजना चाहिएको छ। त्यसैले आयोजनाको जोखिम र प्रतिफल हेरेर लगानी गर्नुपर्ने अवस्था छ।’

प्राधिकरणले जोखिममा आधारित पुँजी लागू गरेकाले जोखिम बढी भएका आयोजनामा लगानीका लागि त्यही अनुसार पुँजी बढाउनुपर्ने प्रसाइँले बताए। जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीसँग अहिले ८ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँ लगानीयोग्य रकम छ। यो रकममध्ये अधिकांश बैंकको मुद्दती निक्षेपमा छ। बैंकको ब्याजदर अहिले जम्मा २.७५ प्रतिशत छ।

कर्जाकै औसत ब्याजदर साढे ७ प्रतिशतमा आउँदा पनि ऋणको माग बढ्न नसकेर प्रणालीमा तरलता थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्। अधिक तरलताका कारण लागत बढ्‌ने भएपछि बैंकहरुले अहिले ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्।

ब्याजदर घटेका कारण मुद्दतीको रकम इन्स्योरेन्सले पूर्वाधार, ऊर्जा र पर्यटनमा लगानी गरिरहेका हुन्। ‘इन्स्योरेन्सको पोर्टफोलियो म्यानेज गर्न अहिलेको अवस्थामा के ठिक हुन्छ भन्ने विश्लेषण गरेर इन्भेष्ट गरिरहेका छौं। हामीले हस्पिटालिटी, हाइड्रोपावर र पूर्वाधारतिर पनि लगानी बढाउनुपर्ने अवस्था छ,’ आइएमई लाइफ इन्स्योरेन्सका सीइओ पवनकुमार खड्‌काले भने। जीवन र निर्जीवन बीमा कम्पनीले चालु वर्ष असोजसम्म कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा १२ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्।

इन्स्योरेन्सले यी क्षेत्रमा गत वर्ष तीन महिनाको तुलनामा १५.४५ प्रतिशतले लगानी बढाएका हुन्। गत वर्ष पहिलो त्रैमाससम्म बीमा कम्पनीले ११ अर्ब २४ करोड ९४ लाख रुपैयाँ लगानी गरेका थिए। कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा, लगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा जीवन बीमा कम्पनीले मात्रै ११ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन्।

कम्पनीले बढाएको लगानी पोहोरको तुलनामा १३.९९ प्रतिशत बढी हो। मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीको लगानी गत वर्ष कात्तिकसम्म ४ खर्ब ९० अर्ब १९ करोड रुपैयाँ रहेकामा अहिले ५ खर्ब ५२ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यस्तै निर्जीवन बीमा कम्पनीले मुद्दती निक्षेपमा पोहोर कात्तिकसम्म ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेकामा अहिले ४१ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ।

यस्तै मुद्दतीमा पुनर्बीमा कम्पनीको लगानी २८ अर्ब ९९ करोड ४५ लाख रुपैयाँबाट एक वर्षमा २४ अर्ब ५२ करोड ३९ लाख रुपैयाँमा झरेको छ। बीमा कम्पनीले नयाँ क्षेत्रमा लगानीका लागि स्वीकृति माग गर्दै प्राधिकरणमा आवेदन दिएका छन्। कम्पनीहरुले होटल तथा पर्यटन,कृषि र जलविद्युत क्षेत्रमा लगानी गर्न स्वीकृति मागिरहेको प्राधिकरणका अधिकृतहरु बताउँछन्।

‘इन्स्योरेन्स कम्पनीसँग फण्ड ठूलो छ। तर, लगानी गर्ने नयाँ ठाउँ पाएका छैनन्। त्यसैले अहिले पर्यटन, कृषि, होटल तथा जलविद्युत क्षेत्रमा लगानी गर्न माग गर्दै स्वीकृति मागिरहेका छन्,’ प्राधिकरणका एक अधिकृतले भने।प्राधिकरणले लगानीका लागि क्षेत्रगत सीमा तोकेको छ। कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा, लगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा कुल लगानीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैनन्।

इन्स्योरेन्स कम्पनीलाई लगानीका लागि सीमित ठाउँ भएकाले थप नयाँ क्षेत्र खुला गर्नुपर्ने बीमकहरु बताउँछन्। ‘इन्स्योरेन्सका लागि अहिले लगानीको सीमित क्षेत्र छन्। त्यसैले नयाँ क्षेत्र विस्तार हुने गरी खुला गर्नु जरुरी छ,’ नेसनल लाइफ इन्स्योरेन्सका सीइओ सुरेशप्रसाद खत्रीले भने।

इन्स्योरेन्सले यो वर्ष सेयर बजारमा पनि लगानी बढाएका छन्। ब्याजदर घटेकै कारण पहिलो त्रैमासमा कम्पनीहरुको नाफामा समेत गिरावट आएको थियो। लगानी विविधिकरणका लागि स्वीकृति माग गरे पनि प्राधिकरणका कर्मचारीले स्वीकृत दिन आनाकानी गरिरहेको बीमकको गुनासो छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका