जोडिनुहोस
शुक्रबार, मंसिर २७, २०८२
शुक्रबार, मंसिर २७, २०८२
  • होमपेज
  • भिजिट भिसा प्रकरणमा अध्यागमन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा प्रकरणमा अध्यागमन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ‘भिजिट भिसा’ प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले करिब सात महिना लामो अनुसन्धानपछि बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

रोजगारीका लागि विदेश जाने युवाहरूलाई भिजिट भिसाको आवरणमा ‘सेटिङ’ मिलाई अवैध रकम असुली गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो । आयोगले अनुसन्धानबाट खुलेको तथ्यका आधारमा ८० लाख रुपैयाँ बराबरको बिगो कायम गरेको छ ।

अख्तियारले दायर गरेको आरोपपत्रमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई मुख्य प्रतिवादी बनाइएको छ । उनीसँगै मिलेमतोमा संलग्न रहेको आरोपमा अध्यागमनकै शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण खड्का तथा बिचौलियाहरू खेम सुवेदी, कविता पौडेलसहित सात जनालाई प्रतिवादी कायम गरिएको छ ।

अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र बिचौलियाको मिलेमतोमा संगठित रूपमै अवैध असुली हुने गरेको तथ्य खुलेको छ । भिजिट भिसामा खाडी मुलुक जाने युवासँग अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म र युरोपेली मुलुक जानेहरूसँग ३ लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको अख्तियारको दाबी छ । यसरी दैनिक लाखौँ रुपैयाँ अवैध रूपमा संकलन हुने गरेको उजुरीमाथि अख्तियारले विस्तृत छानबिन गरेको थियो ।

भिजिट भिसाको आडमा विमानस्थलमा व्यापक आर्थिक अनियमितता भइरहेको सूचनाका आधारमा अख्तियारले गत जेठ ७ गते अध्यागमन कार्यालयमा आकस्मिक छापा मारेको थियो । सो क्रममा कार्यालय प्रमुख भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिई आयोगले अनुसन्धान अघि बढाएको थियो । लामो समयको बयान, प्रमाण संकलन र प्राविधिक विश्लेषणपछि आयोगले ८० लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा दायर गरेको हो ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका