बैंकिङ्ग
लक्ष्मी सनराइज बैंकले नेपालमा प्रविधि तथा एआइको दायरा बढाउन दुई संस्थासँग गर्यो सम्झौता

लक्ष्मी सनराइज बैंकले नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआइ)लाई समर्थन गर्ने गरी दुई संस्थासँग सम्झौता गरेको छ। बैंकले आद्यन्त एडभाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग उद्यम नवप्रवर्तनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
डिजिटल डिसेम्बर कार्यक्रम सातौँ वर्षमा प्रवेश गरिरहँदा यो पहल सचेतनाबाट उद्यम रूपान्तरणतर्फ अघि बढेको बैंकले जनाएको छ। नगद र चेकबाट हुने कारोबारलाई डिजिटल माध्यमतर्फ सार्न जोड दिइएको छ। त्यस्तै, उद्यम प्रणालीसँग बैंकिङ सेवा जोड्ने काम पनि अघि बढाइएको छ।
बैंकका अनुसार नयाँ सम्झौताले नवउद्यम र संस्थापकलाई वास्तविक बैंकिङ संरचनासँग जोड्नेछ। यसले ज्ञान, अनुभव र पुँजी तयारीको बाटो खोल्नेछ। प्रारम्भिक चरणका नवप्रवर्तकलाई बजार तयारी र विस्तारमा सहयोग गरिने बताइएको छ।
‘सम्झौताअन्तर्गत बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू एपीआई सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ। यसमा नवप्रवर्तकहरूलाई उद्यम-सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपीआईहरू वा स्यान्डबक्स वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअप तथा स्केल-अप पुँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा देशभरका ३ पहललाई सहयोग गर्नेछ। सातै, प्रदेशका करिब ४ सय युवा नवप्रवर्तक यसमा सहभागी हुनेछन्। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु क्षेत्रमा समाधान विकास लक्ष्य राखिएको छ।
उद्यम भुक्तानी र नवप्रवर्तन अर्थतन्त्र जोडिँदै गइरहेका बेला बैंकले डिजिटल बैंकिङलाई आधारभूत संरचनाका रूपमा अघि सारेको छ। आद्यन्त एडभाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन र संलग्नताको समन्वय गर्नेछ। चेम्बर र आद्यन्त कोष व्यवस्थापनले निजी क्षेत्र जोड्नेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































