
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नयाँ नेतृत्व पाएको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत रूपमा परिसंघको अध्यक्ष चयन भएका हुन्।
नबिल बैंकको साधारण सभा सम्पन्न भएपछि सञ्चालक समितिबाट उपेन्द्र पौडेल बाहिरिएसँगै सिबिफिनको अध्यक्ष पद खाली भएको थियो। परिसंघको विधानअनुसार कार्यसमिति सदस्यले प्रतिनिधित्व गर्ने बैंकको सञ्चालक समितिबाट हटेमा परिसंघमा रहेको पद पनि स्वतः समाप्त हुने व्यवस्था रहेकाले नयाँ अध्यक्ष नियुक्ति गरिएको हो।
माघ ६ गते कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। बैंकिङ क्षेत्रमा करिब दुई दशकभन्दा लामो अनुभव भएका श्रेष्ठ यसअघि सिबिफिनका महासचिवका रूपमा कार्यरत थिए।
पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले संस्थापक अध्यक्ष पवन गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले स्थापना गरेको आधारलाई सुरक्षित राख्दै बैंकिङ क्षेत्रको दिगो र सन्तुलित विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए। उनले हाल बैंकिङ क्षेत्र विभिन्न चुनौती र जोखिमको सामना गरिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने धारणा व्यक्त गरे।
त्यसैगरी, अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले अन्य पदाधिकारी पनि चयन गरेको छ। सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल सर्वसम्मत रूपमा मनोनीत भएका छन्। महासचिव रहेका श्रेष्ठ अध्यक्ष बनेपछि र एनआईसी एसिया बैंकका पूर्व अध्यक्ष तुल्सीराम अग्रवालले बैंकबाट राजीनामा दिएपछि यी पद रिक्त भएका थिए।
नवनियुक्त महासचिव गोयलले नबिल बैंक, बैंक अफ काठमाण्डू लगायतका बैंक तथा वित्तीय संस्थामा उच्च तहमा काम गरेको लामो अनुभव राख्छन्। यस्तै, कोषाध्यक्ष रमण नेपाल नेपाल राष्ट्र बैंकका निर्देशक तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक हुन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































