जोडिनुहोस
सोमवार, माघ २७, २०८२
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • चुनावी माहौल बुझ्न जिल्ला दौडाहामा अर्थमन्त्री

चुनावी माहौल बुझ्न जिल्ला दौडाहामा अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनाल अहिले निर्वाचन सम्बन्धी तयारी, सुरक्षा र आचारसंहिता पालनाको अवस्था बुझ्न जिल्ला दौडाहामा छन्।
पदमा नहुँदा पनि गाउँ घुम्ने, स्थानीयसँग कुराकानी गर्ने उनले यसपालीको दौडाहामा फरक खालको अनुभव गरेका छन्। चार दिनमा ९ जिल्ला घुमेका उनलाई यत्तिको शान्त नेपाल यसअघि कहिल्यै लागेको थिएन।

‘यसपाली मलाई गज्जब अनुभूति भयो। अभूतपूर्व सौहार्द छ। गालीगलौज शून्य छ,’ उनले भने। गाउँघरमा निर्वाचन लागेको छ। उम्मेदवार भेटघाटमा व्यस्त छन्। सुरक्षा स्थिति पनि सुदृढ भएर गएको छ। मनोबल पनि बढेर गएको उनले महशुस गरे।

खनाल निर्वाचनबारे बुझ्न गोरखा, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम-पूर्व, रुकुम-पश्चिम र जाजरकोट पुगेका छन्। ती जिल्लामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि डन भनेर चिनिएका ‘मिलन चक्रे’सम्म चुनावै मैदानमा छन्।

यी क्षेत्रमा हिंसा त परै जाओस्, सामान्य गालीगलौज पनि छैन। ‘निर्वाचन कार्यक्रममा हिँड्दा जम्का भेट भयो भने दुबै उम्मेदवार हार्दिकता साट्दै चिया खाएर छुट्टिएको पनि देखियो,’ खनालले आफ्नो अनुभव सुनाए।

फागुन २१ गतेको निर्वाचनका लागि अहिले देशैभरी चुनावी माहोल छ। केन्द्रका सबै नेताहरु अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिन थालेका छन्।

सत्ता नै उल्ट्याएको जेनजी आन्दोलनको बलमा हुन लागेको निर्वाचनमा नेताहरुले यसपाली तिलस्मी कुरा कमै गर्न थालेका छन्। यसअघि मेट्रो रेलदेखि पानीजहाजसम्म, फ्लाइओभरदेखि २५ हजार मेगावाट बिजुलीसम्मका गफ लगाउने नेताहरुको भाषण अहिले फेरिएको छ।

जेनजी आन्दोलनको प्रमुख माग भ्रष्टाचार मुक्त देश र सुशासनयुक्त समाज हो। त्यसैका लागि भदौ २३ र २४ गते देशैभरी आन्दोलन भएर सत्ता उल्टिएको थियो।

जेनजीसँग लय मिलाउन नेताहरुले पनि सुशासनको विषयमा अलिक बढी चर्चा गर्न थालेका छन्। जनस्तरमा पनि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवाज बढेको छ।

अर्थमन्त्री खनालले जनताको माग विकास निर्माणसँगै सुशासन रहेको अनुभव गरे। ‘सुशासन पक्कै हो। म गएका जिल्लामा सडक पहुँच र त्यसको गुणस्तरमाथि जनताले प्रश्न उठाएको पाएँ,’ उनले भने।

खनालले निर्वाचन क्षेत्रमा स्थानीयहरुसँगको अन्तर्क्रियाका आधारमा यसपालीको चुनावमा भिडन्त नहुने प्रतिकृया पाए।

जेनजी आन्दोलनका क्रममा सयौं कैदीबन्दी फरार भएको, हतियार लुटिएको, सुरक्षाकर्मीको मनोबल गिरेको थियो। त्यही कारण सरकार र सरोकारवालाले सुरक्षा चुनौतीलाई प्रमुख समस्याका रुपमा हेरेका थिए।

खनाल अनुगमनका क्रममा पुगेका निर्वाचन क्षेत्रहरुमा आचारसंहिता मिचिएको एउटा पनि उजुरी निर्वाचन कार्यालयमा परेको छैन। गोरखामा एउटा मौखिक उजुरी परेको थियो। तर, गुनासो गर्ने बित्तिकै अर्का उम्मेदवारले त्यो गल्ती दोहोर्‍याएनन्।

प्रहरी, प्रशासनका साथै नागरिकस्तरबाट पनि आचारसंहिता पालना गराउन खबरदारी भइरहेको छ। यसले गर्दा मदिरा पिउने स्थान भनेर चिनिएका चोक तथा बजार पनि यसपाली अचम्मसँगले शान्त देखिएको उनको अनुभव छ।

‘अचम्म त यो लाग्यो, अघिपछि मदिरा पिउने पसलहरुमा यसपाली मान्छेहरु थिएनन्,’ उनले भने, ‘आजसम्मको स्थितिका आधारमा निष्कने निष्कर्ष हो- यसपालीको निर्वाचन ऐतिहासिक रुपमा शान्तिपूर्ण हुनेछ।’

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?