
आईसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ग्ल्याण्ड भिड्दैछन्। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज साँझ सवा ७ बजे यो खेल सुरु हुनेछ। यी दुवै टोली विश्वकपका पूर्वविजेता हुन्। यसअघिको संस्करण २०२४ मा भारतले दक्षिण अफ्रिकालाई हराएर च्याम्पियन बनेको थियो। त्यसभन्दा अगाडिको संस्करण सन् २०२२ मा इङ्ग्ल्याण्डले पाकिस्तानलाई हराएर उपाधि जितेको थियो।
त्यसबाहेक सन् २००७ मा भारतले र सन् २०११ मा इङ्ग्ल्याण्डले उपाधि जितेका थिए। सन् २०२२ मा इङ्ग्ल्याण्डले सेमिफाइनलमा भारतलाई हराएको थियो भने सन् २०२४ मा भारतले इङ्ग्ल्याण्डलाई सेमिफाइनलमै हराएको थियो।
संयोग २०२२ मा इङ्ग्ल्याण्ड र २०२४ मा भारत विश्व विजेता बनेका थिए।
जारी संस्करणको कुरा गर्दा इङ्ग्ल्याण्ड समूह चरणमा नेपाल रहेकै समूह ‘सी’मा थियो। यो समूहमा उसले वेस्ट इण्डिजसँग हार ब्यहोर्दा नेपाल, इटली र स्कटल्याण्डलाई हराएको थियो। नेपाल इङ्ग्ल्याण्डसँग वानखेडेमा ४ रनको झिनो अन्तरले पराजित भएको थियो। त्यही स्टेडियममा आज उसले घरेलु टोली भारतको सामना गर्नेछ।
सुपर-८ मा भने इङ्ग्ल्याण्ड अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। सुपर-८ मा उसले न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंकालाई हराएको थियो। अर्कोतर्फ साविक विजेता भारतले समूह चरणमा शतप्रतिशत जित निकालेको थियो। समूह ‘ए’मा उसले पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबियालाई हराएको थियो।
सुपर-८ मा पुगेर उसले पहिलो हारको स्वाद चाखेको थियो। सुपर-८ मा दक्षिण अफ्रिकासँग हार ब्यहोरेको भारतले वेस्ट इण्डिज र जिम्बाब्वेलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। शीर्षक्रममा संघर्ष गरिरहेको भारतलाई देब्रेहाते ब्याटर सञ्जु सामसनले अघिल्लो खेलमा जितसम्म डोहोर्याएका थिए। अभिषेक शर्मासँगको देब्रे-दाहिने कम्बिनेसन वेस्ट इण्डिजलाई हराउन महत्त्वपूर्ण बनेको थियो।
यस्तोमा समूह चरणमा नचलेका शर्माको ब्याट चलेको खण्डमा राम्रो सुरुवात गर्न सके मध्यक्रम र तल्लोक्रमसँग भारतको ब्याटिङ डेप्थ राम्रो छ। बलिङमा जसप्रीत बुमराह, वरुण चक्रवर्ती जस्ता बलरहरू छन्। अर्कोतर्फ इङ्ग्ल्याण्डले नपत्याउँदो तरिकाले लय पकड्दै लगेको छ। खासगरी समूह चरणमा एसोसिएट टोलीलाई हराउन निकै संघर्ष गरेको इङ्ग्ल्याण्डले सुपर-८ मा शतप्रतिशत जित निकाल्दै आफूलाई उपाधिकै बलियो दाबेदारको रुपमा देखाएको छ।
इङ्ग्ल्याण्डको ब्याटिङमा जोस बटलरको लयलाई छाड्ने हो भने अन्य ब्याटरले प्रभाव छाड्दै आएका छन्। जारी विश्वकपमा इङ्ग्ल्याण्ड एकै ब्याटरमा निर्भर नरहेको देखिन्छ। जारी प्रतियोगिताको शीर्ष १० धेरै रन बनाउने ब्याटरमा इङ्ग्ल्याण्डका कप्तान ह्यारी ब्रुक ९ औँ नम्बरमा छन्। उनीसँगै विल ज्याक्सको ब्याटिङ प्रभावशाली बन्न सक्छ।
बलिङमा स्पीनर आदिल राशिदसँगै मुम्बईको पेसरमैत्री पिचमा जोफ्रा आर्चर प्रभावशाली हुन सक्छन्। सञ्जु सामसनविरुद्ध ५ खेल खेल्दा आर्चरले तीनपटक उनको विकेट लिएका छन्। आजको खेलमा वर्षा भएको खण्डमा शुक्रबार रिजर्भ डे रहनेछ। यसदिन पनि खेल नभएको खण्डमा इङ्ग्ल्याण्ड फाइनल पुग्नेछ।
यद्यपि, आज वर्षाको सम्भावना नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत र इङ्ग्ल्याण्ड हालसम्म २९ पटक टी-२० अन्तर्राष्ट्रियमा भिडेका छन्। जसमा भारतले १७ पटक र इङ्ग्ल्याण्डले १२ पटक जित निकालेका छन्। विश्वकपमा यी दुई टोली ५ पटक भिड्दा भारत ३-२ ले अगाडि छ। आजको विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्। न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको एकतर्फी जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार




































































