
जेनजी विद्रोहपछि आम निर्वाचनको परिणामले परम्परागत राजनीतिक दलहरूमा महाभूकम्प नै गएको छ र यसको इपिसेन्टर बन्यो झापा-५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका ३६ वर्षीय बालेन्द्र शाह (बालेन) ले ६८,३४८ मत ल्याएर ऐतिहासिक छलाङ मार्दा, चारपटक देशको प्रधानमन्त्री बनिसकेका ७४ वर्षीय ओली जम्मा १८,७३४ मतमा खुम्चिएका छन् ।
ओलीको यो सर्मनाक पराजयको जग अचानक एकैदिनमा तयार भएको होइन। यसको सबैभन्दा ठूलो ‘ट्रिगर पोइन्ट’ भदौ २३ र २४ को जेनजी विद्रोह थियो ।
जब राज्यको गैरन्यायिक गोलीले स्कुल ड्रेसमै नानीबाबुहरू मारिए, रक्ताम्य घाइते शरीरका तस्बिरहरू विश्वभर फैलिए, तब राज्यको क्रूरता भौतिक मात्र होइन, मनोवैज्ञानिक र नैतिक तहमा पनि उजागर भयो ।
यो निर्वाचनले एउटा अर्को गम्भीर सत्यलाई पनि स्थापित गरेको छ- राजनीतिमा दलहरू मिलेर जनतालाई मूर्ख बनाउने दिन अब सकिए । चुनाव जित्नु नै राजनीतिको अन्तिम सत्य मान्ने ‘इलेक्टोरल फेटिसिज्म’ ले ग्रसित दलहरूले जनतालाई केवल भोट बैंक मात्र ठानेका थिए ।
जेनजी आन्दोलन दबाउने सरकारमा प्रधानमन्त्री रहेका ओलीले कांग्रेस र अन्य दलहरूसँग मिलेर सत्ता जोगाउने जुन प्रपञ्च रचेका थिए, त्यसलाई जनताले राम्ररी पढेका रहेछन् ।
दलहरूले आफ्नो स्वार्थका लागि अपवित्र गठबन्धन गरिरहँदा, जनताले चाहिँ दलहरूविरुद्ध आफैं ‘महागठबन्धन’ तयार गरिसकेका थिए । बालेनको ४९ हजार प्लस मत कुनै एउटा विचार वा सिद्धान्तको मात्र मत होइन; यो त पुराना दलहरूको सिन्डिकेटविरुद्ध उठेको क्रोधको भेल हो ।
झापा-५ ले ओलीलाई पराजित गरेर एउटा स्पष्ट सन्देश दिएको छ- अबको राजनीतिमा कोही पनि अजेय छैन र जनभावनालाई कुल्चिने जतिसुकै ठूलो लालकिल्ला किन नहोस्, त्यो भत्किन केवल एउटा विकल्पको पर्खाइ मात्र काफी हुन्छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार




































































