आर्थिक विशेष
एभरेष्ट बैंकलाई डबल ए इश्युअर रेटिङ: तीन दशकको सफल यात्रासँगै सुदृढ पूँजी र राष्ट्रव्यापी सञ्जाल

एभरेष्ट बैंक लिमिटेडलाई केयर रेटिङ नेपाल लिमिटेडले डबल ए श्रेणीको इश्युअर रेटिङ प्रदान गरेको छ । उक्त मूल्याङ्कनअनुसार बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्चस्तरको सुरक्षा रहेको छ । यस्तो श्रेणीमा परेका संस्थाहरूको ऋण जोखिम अत्यन्तै न्यून मानिन्छ ।
बैंकको दीर्घकालीन सफल सञ्चालन, संस्थागत प्रवद्र्धक समूहको समर्थन, अनुभवी तथा परिपक्व व्यवस्थापन टोली तथा स्वस्थ वित्तीय स्थितिलाई ध्यानमा राखेर उक्त रेटिङ प्रदान गरिएको हो । वि.सं. २०८१ को चैत मसान्तसम्मको अवस्था हेर्दा बैंकको पूँजीकरण स्थिति सन्तोषजनक देखिएको छ । आन्तरिक रूपमा सशक्त पूँजी सृजनासँगै बैंकले नियामक निकायद्वारा तोकिएको न्यूनतम पूँजी आवश्यकताको पूर्ति मात्र होइन आगामी दिनमा कर्जा प्रवाह वृद्धिको लक्ष्यसमेत सहज रूपमा पुरा गर्नसक्ने आधार देखिएको छ ।
एभरेष्ट बैंकले आफ्ना प्रतिस्पर्धी संस्थाहरूसँग तुलना गर्दा निरन्तर रूपमा गुणस्तरीय सम्पत्ति कायम राख्न सफल भएको छ । चैत मसान्तसम्मको अवस्था हेर्दा बैंकको कुल निष्क्रिय कर्जा तथा निवल सम्पत्तिको अनुपात न्यून रहेको पाइएको छ, जसले बैंकको वित्तीय सुदृढता र स्थायित्व स्पष्ट पारेको छ ।
बैंकको आ.व. २०८०/८१ (अडिट गरिएको) र ९ महिनासम्मको चालु आ.व. २०८१/८२ (अना. अडिट गरिएको) को वित्तीय प्रतिवेदनअनुसार आम्दानी तथा नाफा प्रोफाइल सुदृढ देखिएको छ । यस्तै, तरलता स्थिति पनि सन्तोषजनक छ भने देशैभर फैलिएको शाखा सञ्जाल, बचत खातामा वृद्धि हुँदै गएको अनुपात तथा तुलनात्मक रूपमा कम लागतको स्रोत व्यवस्थापन बैंकको प्रमुख बलका रूपमा देखिन्छ ।
यस रेटिङले एभरेष्ट बैंकको विविध भौगोलिक पहुँच, स्थायी शाखा सञ्जाल, बढ्दो ग्राहक विश्वास तथा दक्ष व्यवस्थापन क्षमता पुष्टि गर्दछ । बैंकको सशक्तता र सुधारको यात्रालाई यसले अझ सकारात्मक सन्देश दिएको छ ।
एभरेष्ट बैंक लिमिटेडको स्थापना वि.सं. २०५१ मा भएको हो र यसले झण्डै तीन दशक लामो सफल सञ्चालनको इतिहास बोकेको छ । यसले वाणिज्य बैंकको रूपमा क वर्गको इजाजतपत्र नेपाल राष्ट्र बैंकबाट वि.सं. २०६३ सालको वैशाख १३ गते (सन् २००६ अप्रिल २६) मा प्राप्त गरेको हो ।
स्थापनाकालदेखि नै बैंकले नेपालभरि वित्तीय सेवा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । वि.सं. २०८१ सालको चैत महिनासम्म बैंकले देशभर १३२ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। यससँगै १६७ स्वचालित रकम झिक्ने मेसिन, ४ विस्तारित काउन्टर, ३२ राजस्व संकलन केन्द्र तथा ४९ शाखारहित बैंकिङ सेवा इकाइमार्फत ग्रामीण तथा सहरी क्षेत्रमा समान रूपमा पहुँच विस्तार गरेको छ। यी सेवा केन्द्रहरूको माध्यमबाट बैंकले सरकारी राजस्व संकलनदेखि लिएर व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई सहज, सुरक्षित र प्रभावकारी बैंकिङ सेवा दिँदै आएको छ।
एभरेष्ट बैंक लिमिटेड भारतीय सरकारी स्वामित्वमा रहेको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित छ, जसमा पञ्जाब नेशनल बैंकको २०.०२ प्रतिशत स्वामित्व छ। बैंकले पञ्जाब नेशनल बैंकसँग प्राविधिक सेवा सम्झौता समेत गरेको छ, जुन हरेक पाँच वर्षमा नवीकरण हुने गर्दछ । यो सम्झौता वि.सं. २०७८ को कात्तिक महिनामा (सन् २०२१ नोभेम्बर) पुनः नवीकरण गरिएको हो । वि.सं. २०८१ सालको चैत ३१ गतेसम्म (सन् २०२५ अप्रिल १३) को विवरण अनुसार एभरेष्ट बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब ७ लाख रुपैयाँ बराबर पुगेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































