
सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।
यस अन्तर्गत कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनसम्बन्धी सम्झौता २०८२ साल आश्विन १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
सुमेरु पोलिमर्स लिमिटेडले हालसम्म निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न पाइप तथा फिटिङ्ग उत्पादित गर्दै आएको छ। कम्पनीले विशेषगरी पीभीसी पाइप तथा फिटिङ्ग्स, एचडिपिई पाइप, र सिपिभिसी पाइप तथा फिटिङ्ग्सको उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू निर्माण, सिँचाइ र औद्योगिक प्रयोजनमा प्रयोग हुने प्रमुख सामग्री मानिन्छन्।
कम्पनीको दर्ता कार्यालय काठमाडौंको कुलेश्वरमा रहेको छ भने मुख्य फ्याक्ट्री काभ्रेको पनौती नगरपालिका–९ मा करिब ११ रोपनी क्षेत्रफलमा स्थापना गरिएको छ। वि.सं. २०७४ सालमा प्राइवेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको यस कम्पनीले हाल व्यवसायिक उत्पादनलाई विस्तार गर्दै आएको छ।
आईपीओ निष्काशनमार्फत कम्पनीले आम लगानीकर्तालाई आकर्षित गर्नुका साथै व्यवसाय विस्तारका लागि आवश्यक पूँजी संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। यससँगै कम्पनी पूँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ, जसले यसलाई दीर्घकालीन व्यवसायिक योजनामा सशक्त बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































