जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

सानिमा बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले कात्तिक २ गते २१औं वार्षिक साधारण सभा बोलाएको हो। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव यसअघि नै सार्वजनिक गरिसकेको छ।

साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। साधारण सभामादुई अर्ब रुपैयाँ बराबरको अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिंदैछ। साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने मिति तोकेको छ।

राष्ट्र बैंकको खुकुलो नीति र न्यून ब्याजदरले बढ्यो घर कर्जा

राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थाबाट जाने घर कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले होम लोनको हकमा लोन टू भ्यालु रेसियो र कर्जाको सीमा बढाएसँगै यस क्षेत्रमा जाने कर्जा बढ्न थालेको हो। चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ३१ करोड १५ लाख रुपैयाँ घर कर्जा लगानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो लगानी ६९ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। घट्दो ब्याजदरसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्।

अहिले ब्याजदर एकल अंकमा छ भने बैंकहरूसँग लगानीयोग्य रकम ८ खर्बभन्दा धेरै छ। साउनमा समग्र कर्जा ०.३ प्रतिशत अर्थात १७ अर्ब ४६ करोड रुपैयाँले खुम्चिंदा घर कर्जा भने बढेको हो।

२०८२ साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.६० प्रतिशत अर्थात ४ खर्ब २३ अर्ब रुपैयाँ घर कर्जा हो।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।

‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण हामीलाई व्यवसाय बढाउन सहयोग पुगेको हो। यसमा सस्तो ब्याजदरले पनि ठूलो काम गरेको छ,’ उनले भने।

नेपाल बैंकले अहिले ५.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। यो ब्याजदर स्थिर होइन, परिवर्तित हो। बैंकको बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ।

घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा छ।

डेढ वर्षदेखि घर बनाउन तथा किन्नका लागि ऋण नपाएका मध्यम वर्गलाई लक्षित गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘लोन टु भ्यालु रेसियो’ बढाइसकेको छ। यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर राष्ट्र बैंकले हेरिरहेको छ।

राष्ट्र बैंकको नीति अनुसार, ३ करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि २ करोडको सीमा थियो। साथै, पहिलो पटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो ८० प्रतिशत पुगेको छ। यसअघि यस्तो रेसियो ७० प्रतिशत थियो।

आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। अन्य क्षेत्रमा माग नहुँदा सुरुमा बैंकहरुले प्रोत्साहित गर्दै आएको क्षेत्र पनि घरजग्गा हो।

अहिले वाणिज्य बैंकहरुले घरजग्गा कर्जा ६ प्रतिशत हाराहारी ब्याजदरमा दिइरहेका छन्। वाणिज्य बैंकहरुको कर्जाको ‌औसत ब्याजदर अहिले ७.७६ प्रतिशत छ। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतसम्म दिइरहेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। नबिल र ग्लोबल आइएमई बैंकबाट घर कर्जा लिन चाहनेले ८.९९ प्रतिशत स्थिर ब्याजदर तिर्नुपर्छ।

अधिकांश बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्। परिवर्तितको हकमा भने सबैजस्तो बैंकले ६/७ प्रतिशत ब्याजदरमा कर्जा घर कर्जा दिन थालेका छन्।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल भने केन्द्रीय बैंकले सहजीकरण गरे पनि घर कर्जा अपेक्षितरुपमा नगएको बताए।
‘घरजग्गाको कारोबार नै निकै सुस्त छ। अनि कसरी ऋणको माग बढ्छ?,’ उनले भने, ‘सस्तो ब्याजदरसहितको स्किम ल्याए पनि ऋणको माग सुस्त नै छ।’

तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तर्जुमा

सरकारले आर्थिक अनुशासन कायम राख्ने र सार्वजनिक सेवा प्रवाह प्रवर्धन गर्ने लक्ष्यसहित तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तर्जुमा गरेको छ।

अर्थ मन्त्रालयले २०८२ देखि २०८७ सम्मका लागि पाँच वर्षे रणनीति बनाएको हो। रणनीतिमा स्रोत विनियोजनमा प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। रणनीति कार्यान्वयनले संघीय संरचनाको दिगोपनालाई टेवा दिने अर्थ मन्त्रालयले बताएको छ।

संघीय शासन प्रणाली कार्यान्वयनपछि ल्याइएको पहिलो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिमा विश्वसनीय, प्रमाणमा आधारित बजेट तथा दिगो आर्थिक अनुशासन, कार्यसम्पादनमा आधारित बजेट प्रणालीको माध्यमबाट नतिजातर्फ उन्मुख, राजस्व संकलन तथा प्रतिवेदनका लागि आधुनिक, सरल र प्रभावकारी प्रणाली संचालन, प्रभावकारी खरिद प्रक्रिया तथा स्थिर परियोजना प्रशासन संयन्त्र लगायत उद्देश्य लिइएको छ।

रणनीतिले वित्त नीति, राजस्व परिचालन, बजेट निर्माण, खर्च, आन्तरिक नियन्त्रण, सम्पत्ति, लेखापालन र लेखापरीक्षणलगायत क्षेत्रहरूको सुधारलाई मार्गनिर्देशित गर्ने मन्त्रालयले जनाएको छ।

पारदर्शिता, सुशासन र तीनवटै तहका सरकारबीच समन्वयित प्रयासलाई प्रवर्धन गर्ने सशक्त सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई संस्थागत गर्ने लक्ष्य राखेको रणनीतिमा उल्लेख छ।

सेबोनका कर्मचारीले दसैं बिदापछि पनि काम गर्न मानेनन्, आन्दोलन चर्काउने चेतावनी

सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीले दसैं बिदा पछि पनि विरोधलाई निरन्तरता दिएका छन्।
सेवासुविधा कटौती गर्ने अर्थ मन्त्रालयको पत्रपछि विरोधमा उत्रिएका कर्मचारीले मंगलबार पनि धर्ना बसेर काम ठप्प पारेका छन्। सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र मन्त्रालयले १५ दिनसम्म पनि आफूहरुको कुरा नसुनेको भन्दै कर्मचारीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सोमबार सेबोनका अध्यक्ष सन्तोषनारायण र कार्यकारी निर्देशकलाई बोलाएका थिए। आचार्यले अख्तियार दुरुपयोग आयोगको निर्देशन अनुसार नै मन्त्रालयले निर्देशन दिएको भन्दै कर्मचारीलाई आन्दोलन रोकेर काममा लगाउन भनेको मन्त्रालयको छलफलमा सहभागी सेबोनका एक अधिकृतले बताए।

तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले भदौ ३१ गते सेबोनको कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने निर्णय गरेका थिए।

त्यो पत्र मन्त्रालयले असोज २ गते सेबोनमा पठाएको थियो। पत्रमा कानुनविपरीत हुने गरी कार्यविधि बनाएर दिइएको सेवा सुविधा कर्मचारीबाट असुल गर्न निर्देशन दिइएको छ। मन्त्रालयको पत्रपछि सेबोनका कर्मचारी विरोधमा उत्रिएका हुन्।

जाँचबुझ आयोगले भन्यो- फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन

जेनजी आन्दोलनमा भएको मानवीय क्षति र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सरकारी संयन्त्रले आफ्नो प्रतिवेदन कुर्नु नपर्ने बताएको छ। गृह मन्त्रालयले असोज ९ गते आयोगलाई देखाएर विध्वंशमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि नबढाउन भनेको थियो।

तर आयोगले मंगलबार प्रेस विज्ञप्ति निकालेर सरकारका संयन्त्रले फौजदारी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन आफ्नो प्रतिवेदन कुर्नु नपर्ने बताएको हो।

‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।



बैधानिक ठगीको माध्यम बन्दै आइपीओ

पछिल्लो समय आइपीओ मार्फत बजार हडप्ने र सर्बसाधारणको रकम असुल्ने कार्यमा ठुला घरानीया कम्पनीहरु उद्धत हुन थालेका छन् । नेपालमा प्राथमिक शेयर (आइपीओ) जारी गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा अत्यन्तै बढेको छ । धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको भएपनि घाटामा रहेका कम्पनीहरूले झुटा विवरण पेश गरेर सर्वसाधारणको रकम उठाउने मुख्य माध्यमका रूपमा आइपीओलाई प्रयोग गर्दै आएका छन् । नियामक निकाय, राजनीतिक दबाब, र रेटिङ एजेन्सीहरूको मिलेमतोका कारण लाखौँ लगानीकर्ताको पूँजी डुब्ने खतरा बढ्दो छ । घाटामा गएका जलविद्युत् आयोजनादेखि टाट पल्टिने अवस्थामा पुगेका कम्पनीहरु अहिले झुटो मुनाफा देखाएर आइपिओ जारी गर्ने तरखरमा छन् । बाजेको सेकुवादेखि कमलादीको स्काई वाकसम्मले आइपीओको लागि प्रयास गरीरहेका छन् ।

नियमन फितलो
विगतलाई हेर्ने हो भने कैयौं घाटा खाएका कम्पनीले यसैगरी आइपीओ जारी गरेका थिए । नेपाल रिपब्लिक मिडिया कम्पनीले विसं २०८० जेठ २६ गतेबाट असार १ गतेसम्म आमसर्वसाधारणमा आइपीओ जारी गरेको थियो । चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । अहिले कम्पनीको जगेडा कोष १० करोड ९३ लाखले ऋणात्मक अवस्थामा छ ।
रिलायन्स स्पिनिङले वित्तीय विवरण नै झुटो पेस गरी अंकित मूल्यमा ७ सय २० रुपैयाँ ८० पैसा प्रिमियम थप गरी प्रतिकित्ता ८ सय २० रुपैयाँमा प्राथमिक सेयर (आइपिओ) जारी गर्न गतवर्ष असारमै धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको थियो ।

तर बोर्डले झुटो विवरण पेश गरेको रिलायन्सलाई प्रतिकित्ता ७ सय २० रुपैयाँ प्रिमियम थपेर आइपिओे जारी गर्न अनुमति दिन लागेको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा परेपछि छानबिनको लागि कागजात माग गर्यो । र, रिलायन्सको आइपिओ जारी हुनबाट रोकिएको छ । डेडिकेटेड र ट्रंकलाइनको करिब ८० करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने नलेखी झुटो वित्तीय विवरण देखाएर अंकित मूल्यमा ७ सय २० रुपैयाँ ८० पैसा प्रिमियम थप गरी प्रतिकित्ता ८ सय २० रुपैयाँमा आइपिओ जारी गर्न लागेपछि सिआइबीले छानबिन सुरु गरेको थियो । यस्ता धेरै कम्पनीले अहिले सेवोनमा आइपीओ जारी गर्न निवेदन दिएका छन् ।

यी कम्पनीहरुको मूल्यांकन कसले गर्छ ? कसरी तयार गरिन्छ ? मुनाफा सही हो कि झुटो हो, त्यो छानबिन कसले गर्ने ? भन्ने प्रश्न सबैमाझ छ । तर आइपिओ जारी गर्नुअघि सरकारले हरेक कम्पनीहरुको निष्पक्ष रुपमा मूल्यांकन गर्नुपर्ने आवश्यकता बोध सरकारी निकायले गर्न नसक्दा गरिब जनताको अरबौं रकम आइपिओको नाममा डुबाउने काम हुँदैआएको छ । आवेदन दिएकामध्ये कतिपय घाटामा गएका र जान लागेका कम्पनीको उद्देश्य नै सेबोनबाट झुटो विवरण पेश गरी आइपिओेको अनुमति लिने र लाखौं सर्वसाधारणबाट अरबौं उठाउने र आफ्नो लगानी उठाउने, जनता डुबाउने मात्र रहेको देखिन्छ ।

चर्चामा रहेका केही कम्पनीहरु
आइपीओ भर्ने र आइपीओ खोल्ने होडबाजी अत्याधिक बढेको छ । अहिले आइपीओको माग गर्दे सेवोनमा निवेदन दिनेहरुमा कैयौं कम्पनीहरु छन् । कतिपयको अबस्था कम्जोर छ भने कतिपयको ठिकै । निवेदन दिएका मध्ये करिव छ दर्जन कम्पनीहरू आईपीओ निष्कासन गर्ने अन्तिम तयारीमा छन् । यीमध्ये आशा गरिएका केही कम्पनीहरु पनि छन् । आइपीओको पाइपलाइनमा रहेका मुख्य कम्पनीहरुमा सिउरी न्यादी हाइड्रोपावरले ३ करोड ३ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ । यसैगरी युनाइटेड मेवाखोलाले १ करोड २३ लाख कित्ता, शुभश्री अग्रि सिमेन्टको २ करोड २ लाख कित्ता, जगदम्बा स्टिलको २ करोड कित्ता, महाशक्ति सिमेन्टको १ करोड ७८ लाख, सौर्य सिमेन्टको १ करोड ५९ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टको १ करोड २१ लाख र मारुति सिमेन्टको १ करोड १६ लाख कित्ता आईपीओ माग छ । डिस मिडिया नेटवर्कले १ करोड ३५ लाख ८४ हजार कित्ता, शिवम् होल्डिङले १ करोड १६ लाख कित्ताको लागि अनुमति मागेको छ । सोलु हाइड्रोपावरले २ करोड कित्ताका लागि अनुमति मागेको छ ।

स्रोत नखुलेको नगद कहीँ कतै भेटिए कानुन बमोजिम कारबाही गरिने !

अर्थ मन्त्रालयले तोकिएको रकम बाहेकको रकम वा स्रोत नखुलेको रकम भेटिए कानुन बमोजिम कार्बाही गर्नेगरी सवै निकायलाई निर्देशन गरेको छ ।अर्थ मन्त्रालयले विश्वका कुनै पनि देशबाट नेपाल आउने कुनै पनि देशी वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यबस्था गरेको छ ।

मन्त्रालयका अनुसार सो रकम भन्सार घोषणा बिना ल्याउन सकिन्छ । तथापी ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक पर्ने छ । अर्थ मन्त्रालयले हरेक नागरिकले अधिकतम अमेरिकी डलर १,५०० भन्दा बढी कुनै पनि मुद्रा नगदमा नराख्न सूचना जारी गरेको छ । यत्र तत्र एकहजार र पाँचसय रुपैयाँको नोट बन्द गर्ने हल्ला फैलीएकै बेला सरकारले यस्तो सूचना जारी गरेको हो । नेपाल आउने जो कोही नागरिकले अमेरिकी डलर ५ हजारसम्म मात्रै ल्याउन सक्ने छन् । सो भन्दा बढी रकम ल्याउनुपरेमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने छ ।

स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने छ।

प्रधानमन्त्रीको सिग्नलपछि ओली र लेखकविरुद्ध प्रहरीले लियो किटानी जाहेरी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलपछि प्रहरीले मंगलबार अपराह्न जाहेरी लिएको हो। भदौ २३ गते जेनजीको प्रदर्शनमा ज्यान गुमाएका युवाका परिवारका सदस्यले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका हुन। जाहेरीमा ओली र लेखकलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

जेनजीले भदौ २३ गते गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो। त्यसदिन २१ जनाले ज्यान गुमाएका थिए। स्कुल ड्रेसमा रहेका युवाको समेत गोली लागेर मृत्यु भएको थियो। आन्दोलन नियन्त्रणका लागि अरु उपायले काम नलागे घुँडामुनि गोली हान्न सकिने भए पनि टाउको र छातीमा गोली प्रहार गरिएपछि सरकारी दमनको चर्को विरोध भएको थियो। त्यसदिन ३०० भन्दा बढीलाई गोली लागेकामा ३० जना घाइते अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

मृतकका परिवारका सदस्यले बुझाएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। ‘हामीले प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूको सिग्नल पाएपछि मृतकका परिवारका सदस्यले ल्याएको किटानी जाहेरी दर्ता गरेर जाँचबुझ आयोगमा पठाएका छौं,’ परिसरका एक अधिकृतले बिजमाण्डूसँग भने।

जेनजी समुहका अगुवा भनिएका सुदन गुरुङ लगायतको समूहले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर ओली र लेखकलाई पक्राउ गर्नका लागि जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो। प्रहरीले जाहेरी लिन नमानेपछि गुरुङको टोली सोमबार साँझ नै गृहमन्त्री अर्याललाई भेट्न सिंहदरबार पुगेको थियो।

गृहमन्त्री अर्याल जाहेरी लिने पक्षमा देखिएका थिए। प्रहरी भने कसैले जाहेरी दिएको भरमा नै दर्ता गरेर अनुसन्धान गर्न नमिल्ने तर्क गरेर पन्छिन खोजेको थियो। त्यसपछि गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बालुवाटारमा सुरक्षा निकायका अन्य संगठनका प्रमुख पनि थिए। बालुवाटारको बैठकमा सुरक्षा अधिकारीहरुले भदौ २३ र २४ गतेको घटनाबारे न्यायिक जाँचबुझ आयोगले छानबिन गरिरहेको अवस्थामा प्रहरीले किटानी जाहेरी लिंदा स्थिति जटिल बन्न सक्ने बताएका थिए।

भदौ २३ मा भएको दमन र २४ गते भएको विध्वंसको छानबिन गर्न सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको थियो। त्यो आयोगले यसअघि नै ओली, लेखकसहितका पाँच जनालाई काठमाडौं उपत्यका नछाड्न भनिसकेको छ।

जेनजीको आन्दोलनमा अधिक बल प्रयोगका कारण चर्को आलोचना भएपछि लेखकले २३ गते राति राजीनामा दिएका थिए भने ओलीले २४ गते दिउसो राजीनामा दिएर बालुवाटार छोडेका थिए।

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिइने

सरकारले असाेज १७ गतेदेखि परेकाे अविरल वर्षा र त्यसबाट आएको बाढीपहिराेबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ ।

मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भइ आएपश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेकाे हाे।


यसैगरी बैठकले विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह)ले मिलाउने निर्णय भएको छ।

यस्तै अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय भएको छ।


तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने व्यवस्था समेत गरेकाे छ ।

यस्तै उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने, विपद्पश्चात फैलिन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

काठमाडौं नेशनल मेडिकल कलेज र आइजिआई प्रुडेन्सियलबीच सम्झौता

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले आइतबार र बुधबार नियमित पैसा झिक्दै आएकामा दसैं बिदापछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि बजारबाट पैसा खिच्न लागेको हो । बजारबाट पैसा निकाल्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ ।

छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिनुह्ँदै दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए।

कार्यकारी निर्देशक सुवेदीले भने, “बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुप¥यो, बीमितले पैसा पाएको अनुभूति गर्नुप¥यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुप¥यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमैं एड्भान्स रकम दिनुप¥यो ।”

बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाईका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए।

छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिने र यसमा कुनै समस्या नरहेको बताए ।

साथै, उनीहरूले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दैै कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको जानकारी दिनुहुँदै पुनर्बीमा वापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुब तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा प्ुनर्बंीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।