जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

सेयर लगानीकर्ताको मनोबल उकास्ने उपाय खोज्दै अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले सेयर लगानीकर्ताको मनोबल उकास्नका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन्। मन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शुक्रबार चार सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलको सदस्यसचिव तोकिएका छन्।

कार्यदललाई पुँजी बजारमा देखिएका विसङ्गति र समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल उकास्न चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारबारे कार्ययोजना पेस गर्न पाँच दिन दिइएको छ। जेनजीको आन्दोलका कारण भदौ २३ पछि बिहीबार खुलेको सेयर बजारमा १६० अंकको पहिरो गएको थियो। तीन वटा नेगेटिभ सर्किट लागेपछि बजार एक घण्टामै बन्द गर्नुपरेको थियो।

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु भएको छ। आज भारतमा रहेका एप्पल स्टोरबाट नयाँ सिरिजको आइफोन किन्न सकिनेछ।

आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्सको बिक्री सुरु भएको हो। नयाँ सिरिजको फोन लिन मानिसहरु बिहानैदेखि एप्पल स्टोरमा लाइनमा छन्।

दिल्ली, मुम्बई, बैंगलोर र पुणेमा रहेका एप्पल स्टोरमा बिहानैदेखि भिड छ। अनलाइनबाट पनि आइफोन अर्डर गर्न सकिने जनाइएको छ।

भारतमा आइफोन १७ को मूल्य ८२ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुन्छ।

कुन मोडेलको मूल्य कति ?

मुद्दतीबाट धमाधम पैसा झिक्दै संस्थागत निक्षेपकर्ता

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि बीमा कम्पनी लगायत ठूला संस्थागत निक्षेपकर्ताले लगानी रणनीति फेर्न थालेका छन्। निरन्तर घट्दो ब्याजदरले आम्दानी खुम्चिने भएपछि ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी घटाएर अन्यत्र बढाएका छन्। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत निक्षेप २१ अर्ब ५० करोड ३९ लाख रुपैयाँले खुम्चिएको छ। गत वर्ष साउनमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपमा लगानी ३ अर्ब ७ करोडले खुम्चिएको थियो।

गत असार मसान्तमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा कूल १३ खर्ब ३६ अर्ब रुपैयाँ लगानी गरेकोमा अहिले १३ खर्ब १४ अर्बमा झरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्त्ता कृष्ण अधिकारीले ब्याजदर धेरै तल आउकाले मुद्दतीको रकम अन्य क्षेत्रमा लगानी गर्न थालेको बताए।

‘बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका छन्। संस्थागत मुद्दतीमा ब्याजदर बचतको बराबर मात्र छ,’ उनले भने, ‘त्यसैले ब्याजदरभन्दा बढी प्रतिफल पाउने क्षेत्रतर्फ लगानी बढाउन थालेका छौं।’ उनका अनुसार कोषले मुौतीबाट पैसा झिकेर डिबेञ्चर, सरकारी ऋणपत्र र म्युअल फण्डमा लगानी बढाइरहेको छ।

मुद्दती निक्षेपमा कर्मचारी सञ्चय कोषले पनि लगानी घटाएको छ। पछिल्लो एक महिनामा मुद्दतीमा कोषको लगानी ४ अर्ब ७२ करोड रुपैयाँले खुम्चिएको छ। कोषका प्रवक्त्ता दामोदर सुवेदीले मुद्दतीको रकम झिकेर ट्रेजरी बिल्स र सरकारी ऋणपत्रमा लगानी बढाउन थालेको बताए।

‘बैंकहरुको ब्याजदर धेरै नै तल आयो। उनीहरुले संस्थागत मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्। यति कम ब्याजदरमा लगानी गरेर के गर्नु?,’ सुवेदीले भने, ‘मुद्दतीमा राखेर फाइदा हुने नदेखिएपछि हामी अन्य क्षेत्रतिर लागेका हौं। हामीले ट्रेजरी बिल्स र विकास ऋणपत्रमा लगानी बढाइरहेका छौं। त्यतातिर मुद्दती निक्षेपको तुलनामा रिटर्न केही बढी छ।

मुद्दती निक्षेपमा नागरिक लगानी कोषको लगानी पनि एक महिनामा ३ अर्ब ६० करोड रुपैयाँ खुम्चिएको छ। असार मसान्तमा मुद्दती निक्षेपमा कोषको कूल लगानी १ खर्ब ३३ अर्ब रहेकामा अहिले १ खर्ब २९ अर्बमा झरेको छ।

मुद्दतीमा अन्य संस्थागत निक्षेपकर्ताको लगानी २१ अर्ब २८ करोडले घटेको छ। तर, बीमा कम्पनीले भने बढाएका छन्। बीमा कम्पनीले पछिल्लो एक महिनामा मुद्दतीमा ८ अर्ब ११ करोड रुपैयाँ लगानी बढाएका छन्। नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्रीले ब्याजदर तल आए पनि धेरै विकल्प नरहेकाले मुद्दतीमा लगानी बढाएको बताउँछन्।

‘संस्थागत मुद्दतीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेका कारण केही कम्पनीले अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्। सबैले एउटै क्षेत्रमा लगानी गर्ने कुरा पनि भएन। हामीसँग लगानीको धेरै विकल्प छैन,’ उनले भने, ‘त्यसैले ब्याजदर घटेर प्रतिफल खुम्चिने अवस्था भए पनि हामीले मुद्दतीमा नै लगानी बढाएका छौं।’

जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ: कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन।

तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने पनि उनले बताए । ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ निर्देशन दिंदै मन्त्री घिसिङले भने । ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं,जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

सिंचाइअन्तर्गत राष्ट्रिय गौरबको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।

संसद भवनको पुसभित्रै निर्माण सक्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए ।

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ ।’

संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ ।

राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण,इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी रहेका छन् ।

अनियमिता फेला परे तुरुन्तै कारबाही
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिए । मन्त्री घिसिङले अनियमिता फेला परेमा त्यसमा सङ्लग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।

‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’ उनले सेवा प्रवाहमा सुधार गर्न पनि निर्देशन दिए ।

मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ।

प्रस्तावित लाभांश बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि पाउनेछन्।

महालक्ष्मी विकास बैंकको लेकसाइड शाखामा क्षति

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ सेवाहरू नजिकको शाखा कार्यालयहरूमार्फत लिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार लेकसाइड पोखरा शाखा बाहेक अन्य सबै १०२ शाखा कार्यालयहरू पूर्ण रुपमा सेवा संचालनमा आइसकेको छ। बैंकले सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा संचालन भइरहेको पनि जानकारी दिएको छ।

बैंकले आन्दोलनमा मृत्यु हुनेहरूको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्तिका लागि कामना गरेको छ। साथै, उपचारार्थ रहेका घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।

सरकारी, सार्वजानिक र निजी सम्पतीहरूमा भएको क्षतिप्रति पनि बैंक दुःख प्रकट गरेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

हिमालयन एभरेस्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ।

बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेस्ट इन्स्योरेन्सले अनुरोध समेत गरेको छ । दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहेर पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

यी हुन् बीमितले सम्पर्क गर्न सक्ने व्यक्तिको नाम र सम्पर्क नम्बर :

अर्थमन्त्रीलाई बीमा प्राधिकरणका कर्मचारीको पत्र

नेपाल बीमा प्राधिकरणका कर्मचारीले नेतृत्वमा अस्थिरताका कारण आफूहरुको मनोबल खस्किएको भन्दै यथाशक्य चाँडो निकास दिन अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएका छन्।

प्राधिकरणका दुई वटा कर्मचारी युनियनले बिहीबार अर्थमन्त्री खनाललाई पत्र लेखेर एक वर्षको बीचमा ४/५ पटक अध्यक्ष फेरिंदा समग्र बीमा क्षेत्रकै मनोबल खस्किएको भन्दै हालको परिस्थितिमा सहजीकरण गर्न आग्रह गरेका छन्।

प्राधिकरणमा ९ महिनाको बीचमा चारजनाले अध्यक्षको रुपमा काम गरिसकेका छन्। सरकारले बर्खास्त गरेका शरद ओझा बलजफ्ती प्राधिकरणमा हाजिर भएपछि कर्मचारीले अर्थमन्त्रीलाई गुहारेका हुन्।

फर्जी अनुभवको कागजात बनाएर बिचौलिया समूहको चाहनामा गत फागुन दोस्रो साता नियुक्ति पाएका ओझालाई सरकारले न्यायिक समितिको सिफारिसका आधारमा भदौ २ गते बर्खास्त गरेको थियो। तर, उनी सर्वोच्चले आफ्नो पक्षमा आदेश दिएको भन्दै तालुकवाला अर्थ मन्त्रालयलाई कुनै जानकारी नै नदिइ प्राधिकरणमा हाजिर भएका थिए। अर्थ मन्त्रालयले ओझालाई अध्यक्षको रुपमा काम गर्न नदिन बिहीबार प्राधिकरणमा पत्र पठाइसकेको छ।

रिलायबल नेपाल लाइफका सञ्चालक भिष्म कार्कीको राजिनमा स्वीकृत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेकोे बैठकले सञ्चालक कार्कीको राजिनामा आजकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

कम्पनीमा सर्वसाधारण समुहको तर्फबाट सञ्चालक रहेका कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई केही दिन अघि राजिनामा दिएका थिए ।

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन्।

असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकका सीईओ रोशन कुमार न्यौपानेले स्वास्थ्यसम्बन्धी कारण देखाउँदै राजीनामा दिएका छन् ।

सेयर बजार भयभीत

जेनजीको विद्रोहबाट सरकार परिवर्तन तथा ठूलो मात्रामा जनधनको क्षति भएपछि पहिलो दिन खुलेको सेयर बजारमा लगानीकर्ता भयभीत देखिएका छन् । २३ र २४ भदौको ध्वंसात्मक घटनाका कारण कम्तीमा ७४ जनाको ज्यान गयो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो, सरकार तथा निजी क्षेत्रका धेरै संरचनाहरुमा आजगनी तथा तोडफोड भएपछि सेयर बजार एक साताभन्दा बढी बन्द भएको थियो । त्यसपछि बिहीबार खुलेको नेप्सेमा लगातार तीनपटक गरी ६ प्रतिशतको गिरावट आएपछि दिनभरिलाई बन्द भएको हो ।

कयौं ठूला व्यावसायिक भवन र निजी घर समेत जलेपछि देशमा लगानीककर्ताको सुरक्षाका सवालमा समेत थुप्रै शंकाहरू उब्जिएका छन् । मुलुकको राजनीतिक अनिश्चितताले व्यवसायी र लगानीकर्तामा निराशा बढेको तथ्यलाई बिहीबारको सेयर बजारले छर्लंङ्ग पारिदिएको छ । कारोबार खुलेदेखि नै जति मूल्यमा पनि सेयर बेच्ने होडबाजी चल्यो । जसले गर्दा २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो र पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजार एक मिनेटमै कुल ५ प्रतिशत घट्यो र ४० मिनेटका लागि पुन: कारोबार स्थगित भयो ।

१२ : ०३ बजे खुलेको बजार २ मिनेटमै ६ प्रतिशत घट्न पुग्यो । अन्तत: सो दिनको कारोबार स्थगित भयो । पूरा ५ मिनेट पनि कारोबार हुन नसकेको बजार १६० अंक घटेर २५११ मा कायम भयो । बजार ठूलो अंकमा घट्दा कारोबार रकम भने जम्मा ७२ करोड ८७ लाख रुपैयाँमात्रै हुनपुग्यो । बजारमा लगानीकर्ता तथा कारोबारीको मनोबल घट्नुको प्रमुख कारण २३ र २४ भदौको विद्रोहपछि निम्तिएको संकट र व्यवसायीको मनोबल घट्नु रहेको जानकारहरू बताउँछन् ।

‘हाम्रा व्यावसायिक भवन मात्रै भत्किएनन्, बसिरहेका घर समेत जलाइए यसले हाम्रो सुरक्षाका सवालमा समेत प्रश्नचिह्न खडा गरिरहेको छ,’ एक प्रतिष्ठित कम्पनीका संस्थापकले भने, ‘त्यही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले अब आगजनी गर्नेलाई कारबाही गर्ला भन्ने विश्वास पनि छैन, अर्कोतर्फ भविष्यमा यस्ता डरलाग्दा घटना नदोहोरिएलान् भन्न पनि सकिएन ।’

प्रधानमन्त्री सुशीला कार्कीले व्यावसायिक प्रतिष्ठान तथा सरकारी अड्डामा आगजनी गर्नेलाई कारबाही गर्ने बताइरहे पनि विश्वसनीय आधार बनाउन सकेकी छैनन् । गठित अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने घोषणा गरेको छ, तर सुनिश्चितता छैन । कतिपय व्यवसायी यतिबेला लगानी नै नगर्ने मनस्थितिमा छन् । ‘अब भत्किएका संरचना नै कसरी बनाउने, एउटा गति लिइरहेको बिजनेसलाई अब शून्यबाट कसरी अघि बढाउने सोच्न सकिएको छैन,’ उनले भने, ‘म मात्रै होइन, मजस्तै अन्य व्यवसायी पनि यसकै तनावमा छन् ।’

उनीजस्तै थुप्रै व्यवसायी तथा लगानीकर्ता यतिबेला ध्वस्त भएका आफ्ना संरचना पुन: खडा गर्ने वा व्यवसाय छोड्नेमा भन्नेमा अनिर्णित छन् । भएको सेयर बेचेर दशैं खर्च जुटाउने अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् । बिहीबार सेयर बेच्न पाएकाले मात्रै दशैंअघि सो रकम आफ्नो खातामा पाउने छन् । नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार व्यवसायी र लगानीकर्तामा यतिबेला मनोबल कमजोर देखिएकै कारण बजारमा उच्च गिरावट आएको बताउँछन् ।

‘२४ गतेको घटनाले मुलुकलाई नै १० वर्ष पछाडि पारेको छ, व्यावसायिक प्रतिष्ठानलाई ठूलो आघात पुगेको छ,’ उनले भने, ‘तर पनि हामी उठ्नुपर्ने छ, मनोबल बढाउनुपर्ने छ ।’ अर्कोतर्फ दशैं खर्च जुटाउनका लागि पनि कतिपयलाई सेयर बेच्नुपर्ने अवस्था निम्तिएको उनले बताए । ‘दशैंअघि पैसा पाउनका लागि पनि ३ दिनअघि सेयर बेच्नुपर्छ, त्यसले पनि आज बजारलाई केही असर पार्‍यो,’ उनले भने, ‘तर मुख्यत: २४ गतेको घटनाले आघात पुर्‍याउनु हो ।’ बिहीबार बजारमा खरिद पक्ष धेरै नै कमजोर देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । बजारमा यति ठूलो गिरावट आउनुको प्रमुख कारण नै २४ गतेको विध्वंसात्मक घटना रहेको उनले बताए ।‘ठूला व्यावसायिक भवन, निवास भएका आगजनीले मनोभावना नकारात्मक बनेको छ’ उनले भने । व्यवसायी र लगानीकर्ताको मनोभावना सकारात्मक सकारात्मक बनाउन राज्यले तत्कालै केही कदम चाल्नैपर्ने उनको भनाइ छ ।

तर सरकारले अब कस्ता नीति लिन्छ भन्नेमा अनिश्चितता छ । २३ र २४ गते भएको ध्वंसात्मक घटनाको छानबिन र कारबाही प्रक्रिया समेत प्रभावकारी रूपमा अघि बढेको छैन । यसले पनि लगानीकर्तालाई हतोत्साही बनाइरहेको छ । ‘व्यावसायिक प्रतिष्ठानलाई वित्तीय सहजता वा अन्य मनोबल बढ्नेगरी नीतिहरू अवलम्बन गरिहाल्नुपर्छ,’ रानाभाटले भने, ‘राष्ट्र बैंकले पनि तत्काल सहुलियतका विभिन्न कार्यक्रम ल्याउनुपर्छ ।’ मुलुकमा हुने राजनीतिक संक्रमणकालीन अवस्थाले सुरुका दिन बजार घटेर त्रसित नै पार्ने गरेको इतिहास विगतमा पनि देखिन्छ । तर अबका दिनमा बजार केही सम्हालिन सक्ने उनको भनाइ छ ।

‘बजारको घटाइ यही दरमा पक्कै जाँदैन, तर मनोभावना बढ्नेगरी राज्यले केही कदम लियो भने सकारात्मक प्रभाव पर्न सक्छ’ उनले भने । आजकै कारोबारमा क्रमिक रुपमा खरिदकर्ता पनि आएकाले धेरै त्रसित हुन नहुने उनी सुझाउँछन् । पछिल्लो पटकको सर्किट लाग्नुअघि कारोबार सम्हालिन खोजेपनि सकेन । दोस्रो सर्किट ब्रेकपछि सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ह्वात्तै घटेपछि नेप्सेको गिरावट ६ प्रतिशत पुग्यो र स्थगित हुनेगरी सर्किट ब्रेक लाग्यो । आज विशाल बजारको मूल्य घटेपछि व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी भएकाले व्यापार समूह भनेकै विशाल बजार बनेको छ । विशाल बजारको मूल्य जति घटबढ हुन्छ समग्र समूहको घटबढ त्यति नै हुने गरेको छ ।

दोस्रो सर्किट ब्रेकपछि केही समय बजार सम्हालिँदा कारोबार रकम समेत बढ्यो । दोस्रो सर्किट ब्रेकअघि २८ करोड ७५ लाखको मात्रै कारोबार भएकोमा तेस्रो सर्किट लाग्दासम्म भने कारोबार साढे २ गुणा बढ्यो र कुल ७२ करोड ८७ लाख रुपैयाँको भयो । खरिद पक्ष पनि सक्रिय भएकाले आइतबार कारोबार अवधिसँगै रकम पनि बढ्ने अनुमान छ । ‘आज नै कारोबारका क्रममा दोस्रो सर्किट ब्रेकपछि खरिदकर्ता आएकै हुन्, सम्हालिन खोजेको पनि हो,’ रानाभाटले भने, ‘त्यसकारण अब खुल्ने बजारमा सहज रुपमा पूरै समय कारोबार होला ।’ बढी प्रभावित केही कम्पनीमा अझै पनि खरिदकर्ता नदेखिएको उनले स्पष्ट पारे । मुख्यत: दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमामा यस्तो असर परेको छ ।

‘बढी प्रभावित भएका केही कम्पनीमा खरिद पक्ष केही दिन कमजोर रहन सक्छ, त्यसले मूल्य घट्ने जोखिम उच्च हुन्छ,’ रानाभाटले भने, ‘तर अधिकांश कम्पनीमा खरिदकर्ता सक्रिय भइसकेको देखिन्छ ।’ उनले भनेजस्तै कतिपय कम्पनीको मूल्य दोस्रो सर्किटका बेलाभन्दा अन्तिम सर्किट लागेपछि बढेको अवस्था पनि छ । बिहीबार बजारका सबै सेक्टर नै उच्च दरले घटे । जब बजार नै घट्छ, कुनै पनि सेक्टर वा कम्पनी अछुतो नरहने गरेका छन् । ‘जब बजारमा भय सिर्जना हुन्छ, त्यसपछि जतिसुकै राम्रा कम्पनी वा राम्रो सूचनाले पनि असर पार्दैन,’ रानाभाटले भने, ‘ठीक उल्टो जब बजारमा उत्साह भरिन्छ, त्यसपछि कुनै कम्पनी वा सेक्टरका नराम्रा सूचना आएमा त्यसको प्रभाव पनि रहँदैन ।’ बिहीबारको बजारले यही संकेतलाई प्रष्ट पारेको जानकार बताउँछन् । व्यापार समूह सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । लगानी, अन्य र होटल तथा पर्यटन समूह ७–७ प्रतिशतभन्दा धेरै घटे ।

२१ अर्बको बिमा दाबी, हिल्टनको बिमा गरेको ओरियन्टलले सर्वाधिक तिर्नुपर्ने

जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको हो ।

तीमध्ये सबैभन्दा बढी दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँबराबरको ४० वटा बीमा दाबी परेको हो । ठूलो क्षति भएको हिल्टन होटलको बिमा पनि यसै कम्पनीमा परेको थियो ।
दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियर र तेस्रो धेरै शिखर इन्स्योरेन्समा परेको थियो ।
सबैभन्दा बढी बिमा दाबी शिखरमा ३ सय ६६ वटा परेको छ ।

जेनजी आन्दोलन र त्यसपछि कयौं भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौंको संख्यामा सवारसाधन पनि तोडफोड र आगजनी भएको थियो ।