जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सस्थागत शेयर दोस्रो बजारमा खरिद विक्रि गराऔं: सिविफिन

संस्थापक शेयर साधारण शेयर सरह कारोबार गराउन बैंक तथा वित्तीय परिसंघ(सिविफिन)ले माग गरेको छ । शुक्रबार सिवीबीफिनले बैंक तथा वित्तीय संस्था क्षेत्रमा अप्ठ्यारा र चुनौति विषयमा अध्ययन गरेको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो माग गरेको हो ।

अध्ययनका क्रममा फेला परेका बैंक तथा वित्तीय संस्थाहरुका अप्ठ्यारा र चुनौतिहरु पहिल्याएर नेपाल राष्ट्र बैंकलाई सुझावका रुपमा पेश गरिएको बताएको छ । साधारण शेयर खरिद विक्री व्यवस्था बाफियामा उल्लेख भएपनि सस्थापक शेयर खरिद विक्री गर्ने प्रक्रिया आगडि बढाउनका लागि अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । उक्त प्रतिवेदनमा सिविफिनले फिट एण्ड प्रपर टेष्टका लागि आवश्यक प्रक्रिया तोकी संस्थापक शेयरलाई पनि साधारण शेयर जस्तै दोस्रो बजारमा सूचिकृत गरि खरिद विक्री गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

संस्थापक शेयरलाई दोस्रो बजारमा खरिद विक्री गर्ने व्यवस्था मिलाउदा केहि व्यक्ति वा समूहमा शेयर केन्द्रीत भएर हुने जोखिम न्यूनिकरणका साथै संस्थापक शेयरमा विविधिकरण हुने र बजार पुँजीकरण मूल्य पनि यर्थाथपरक हुने सिविफिनको दावी छ ।

त्यस्तै, उक्त अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरुमा सस्थाथत कर धेरै लगाइएको भनी गुनासो समेत गरिएको छ । उक्त प्रतिवेदनबाट आएका तथ्याहरुका बारेमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले ट्रेडिङको कारोबार गर्ने क्षेत्रमा लगाइएको कर सरह वित्तीय क्षेत्रलाई लगाइएकोले यो कर धेरै भएको उनले जिकिर गरेका थिए । उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी दिएको छ । यस क्षेत्रमा अहिले लगानीका आधारमा प्रतिफल धेरै कम भइसकेकाले राज्यले वित्तीय क्षेत्रमा लगाउदै आएको ३० प्रतिशत संस्थागत कर धेरै हो ।’

पूँजी वृद्धिपछि वाणिज्य बैंकहरुको कर्जा वृद्धि दर बैंकिङ उद्योगको वृद्धि दरभन्दा धेरैमाथि रहेको धेरै विकास बैंक र फाइनान्स कम्पनीलाई वाणिज्य बैंकले प्राप्ति गर्नु एउटा कारण भएतापनि पूँजी वृद्धिसँगै भएको कर्जा विस्तार मुख्य कारण रहेको छोटो समयमा भएको ठूलो कर्जा विस्तारले ल्याउने साइड्इफेक्ट व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘पूँजी वृद्धिको कारण वृद्धि भएको कर्जा विस्तार, कर्जा विस्तारले ल्याएको साइड् इफेक्टको रुपमा तरलता अभाव देखिएको हो, पूँजी वृद्धिको कारण वृद्धि भएको कर्जा विस्तार, कर्जा विस्तारले समस्या ल्याएको हो,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । २०७२ सालको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले २ वर्षभित्रमा चुक्ता पूँजी ४ गुणाले बढाउने नीति लिएको थियो ।

एनबि बैंकका सीईओ ढुंगानाको कार्यकाल सकियो

नेपाल बङ्गलादेश बैंक (एनबि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानको कायर्काल सकिएको छ । १० बर्षअघि बैंकको सीईओमा नियुक्त भएका ढुंगानाको कार्यकाल आज सकिएको हो । एक दशक एनबि बैंकमा विताएका ढुंगाना २०६८ सालमा सीईओ नियुक्त भएका थिए ।

ढुंगानाको पहिलो कार्यकाल २०७४ मा समाप्त भएको थियो । तर बैंकको सञ्चालक समितिको बैठकले सीईओ ढुंगानाको दोस्रो कार्यकाल भदौ २०७४ मा थपेको थियो । ढुंगानाले दुई कार्यकाल बैंकको सीईओ पदको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका ढुंगानाको नेतृत्वले समस्यामा परेको एनबि बैंकलाई नियमित लाभांस दिने अवस्थासम्म पुर्याएका छन् ।

ढुंगानाको कार्यकालदेखि नै बैंकले निरन्तर शेयरधनीहरुलाई लाभांश दिँदै आएको छ । ढुंगानको कार्यकालमा शेयरधनीहरुलाई बैंकले १२२.२४ प्रतिशत लाभांश दिएको छ । जसमा ९२ प्रतिशत बोनस शेयर र ३०.२४ प्रतिशत नदग लाभांश दिएको छ ।

नेपाल बङ्गलादेश बैंक नबिल बैंकमा मर्जरमा गएपछि मर्जरपश्चात बन्ने बैंकको सीईओ बन्ने चर्चा चलेको छ । ढुंगानको कार्यकालमा दुबै बैंकबीच मर्जर नभएपनि मर्जरका लागि वातावरण बनाउन सफल भएका छन् ।

एनबि बैंकको सीईओ हुँदा उनी नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । उनले बैंकर्स संघमा राम्रो काम गरेको भन्दै तारिफ पनि पाएका थिए

ग्लोबल आइएमई बैंकद्वारा सात प्रदेशमा रक्तदान

ग्लोबल आइएमई बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पौष १६ गते सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश १ कोतिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ कोलाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशका विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ । यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

बैंकको १५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो पटक डेपुटी सीइओ नियुक्त गर्‍यो

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। बैंकले गोरख राणालाई डेपुटी प्रमुख कार्यकारी अधिकृत बनाएको हो। यद्यपी राणा प्रमुख कार्यकारीपछिको दोस्रो बरियतामा थिए। तर, डेपुटी प्रमुख कार्यकारी अधिकृत नै भनेर कसैलाई पनि जिम्मेवारी दिइएको थिएन।

राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञान छ। २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनी स्ट्यान्डर्ड चार्टर्डकै प्रडक्ट हुन्। उनले धेरै उद्योग र नियामक फोरमहरूमा चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन्। उनले सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङ हेर्ने गरी स्ट्यान्डर्ड चार्टर्डमा आबद्ध भएका थिए।

सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन्। उनी अहिले ग्लोबल बैंकिङको प्रमुख छन्।

नयाँ वर्षमा चन्द्रागिरि घुम्न जाँदै हुनुहुन्छ ? आइएमई पेबाट केबलकार टिकट काट्दा ३०% क्यासब्याक

आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ। यो योजना अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले योजना ल्याएको हो। त्यसैले योजना बिहीबारदेखि सुरु भएर शनिबारसम्म लागु हुनेछ।

आइएमई एपबाट खरीद गरिएको टिकटमा मात्रै मान्य हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आइएमई पे आइएमई ग्रुपद्वारा संचालित कम्पनी हो। आइएमई पेको ३५ हजार एजेण्ट आउटलेट रहेको जनाइएको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो।

यो एपमार्फत व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सको सीइओमा दीपक अग्रवाल

जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृतमा दीपक अग्रवाल नियुक्त भएका छन्। अग्रवाल जगदम्बा मोटर्स् छिर्दा कम्पनीले बिक्री गरिरहेको ब्रान्ड महिन्द्रा टु ह्‍वीलर्स मात्रै थियो।
Sipradee
Global IME Bank
RiddiSiddi
२०१६ मा टीभीएसको दुईवटा वितरक थिए। पूर्वमा महावीर अटोमोबाइल्स् र मध्य एवम् पश्चिमी क्षेत्रमा चौधरी ग्रुप थियो। दुईवटा समूहले वार्षिक ५ हजार मात्रै टीभीएसका बाइक र स्कुटर बिक्री गर्थे।

जगदम्बा मोटर्सले टीभीएसको जिम्मा पाएपछि नाकाबन्दीका बाबजुद पहिलो वर्षनै ५ हजारको भोल्युम कटाएको अग्रवालले जानकारी दिए। गत वर्ष टीभीएसले ५० हजारभन्दा बढी बिक्री गरेको उनले बताए।

‘हामी निकै आक्रामक लक्ष्य लिएर अघि बढिरहेका छौं। हामी कस्टमर सेन्ट्रिक भएर काम गरिरहेका छौं। आफ्टर सेल्समा हाम्रो ध्यान निकै छ,’ अग्रवालले भने।

जगदम्बा मोटर्स शंकर समूहले लिएको सुरुमै गरिएको सर्वेमा कम्पनीले सबैभन्दा ठूलो गुनासो ‘पार्ट्स पाउँदैन र पाए पनि महँगो छ’ भन्ने पायो। सर्वेबाट आएको निष्कर्षलाई गम्भीर रुपमा लिँदै कम्पनीले सवारी साधनको पार्ट्स देशैभरी सहज रुपमा उपलब्ध गराउन केन्द्रित भएको उनले बताए।

‘सर्भिस आउटलेटहरु २५ वटा नेटवर्क रहेकोमा आजको दिनमा १४५ पुर्‍याएका छौं। पार्ट्सलाई सहज र सुलभ बनाउँदै लगेका छौं। नेपालभरी रहेका प्राविधिक (मेकानिक) हरुको पहिचान गर्दै तालिमलाई आक्रामक बनायौं,’ अग्रवालले भने।

स्कुटर सेगमेन्टमा सीमित जगदम्बा मोटर्सले पोर्टफोलियो थप्दै लगेको र मार्केटिङलाई सबै माध्यममा लगेको उनले जानकारी दिए। पछिल्लो समय जगदम्बा मोटर्सले स्कुटर र मोटरसाइकलसँगै थ्री ह्विलर (ट्याम्पो) लाई पनि विस्तार गर्दै लगेको छ। कम्पनीको पछिल्लो प्रडक्ट मलेसियन गाडी ब्राण्ड प्रोटोनलाई पनि थप आक्रामक बनाउँदै लग्ने अग्रवालले बताए।

आफूले बिक्री गर्ने ब्राण्डलाई देशकै पहिलो अटोमोबाइल ब्राण्ड बनाउनेदेखि थप प्रडक्ट भित्र्याउने लक्ष्यमा अघि बढ्ने उनले बताए। अग्रवाल यसअघि जगदम्बा मोटर्सको उपाध्यक्ष थिए। उनले बुधबारबाट कार्यभार सम्हालिसकेका छन्। कम्पनीले दीपक रौनियारलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

कृषि क्षेत्रलाई उद्योगमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक रहेको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले भने,“कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाइराखेको अवस्था छैन” उनले भने, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”

शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताउँदै कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिए ।

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए ।

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताउए । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो ।

कुमारी बैंकलाई आयो यस्तो धम्की

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिनुभयो । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहको बार्षिक तलब सुविधा २ करोड ४५ लाख रुपैयाँ पुग्यो

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको तलब बढेको छ। बैंकले आगामी बार्षिक साधारणसभा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, शाहको तलब सुविधा एक बर्षमा ८२ लाख ६८ हजार रुपैयाँले बढेको हो।

बैंकले पुस ३० गते साधारण सभा डाकेको छ। बैंकको बार्षिक प्रतिवेदन अनुसार, शाहले बार्षिक एक करोड ६२ लाख रुपैयाँ तलब सुविधालगायतका अन्य सुविधा पाउँदै आएकोमा यसपाली २ करोड ४५ लाख रुपैयाँ पाएका छन्।

शाहले पाएको सबै सुविधाबाट ३६ प्रतिशत सरकारले आयकर पनि पाउँछ। शाहले पाएको तलब सुविधालाई अल्पकालिन र दीर्घकालिन भनेर छुट्याइएको छ। बैंकको सभाले ४.४ नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गर्ने छ। बैंकले घोषणा गरेको लाभांश चार बर्षयताकै उच्च हो। बैंकको अहिले १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ। यही पुँजीको ३८ प्रतिशत हुने गरी गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।

बैंकले पोहोर चार अर्ब १४ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो। बैंकले घोषणा गरेको लाभांश अन्य बाणिज्य बैंकहरुले घोषणा गरेको भन्दा धेरै हो। मर्जर तथा प्राप्ति एजेण्डामा राखिएकाे छ।

सप्तरंग-३ अन्तर्गत बतास ब्रदर्स सोरुम पोखरामा युवालक्षित टीभीएस रेडर सार्वजनिक

शंकर समूहको जगदम्बा मोटर्सले पोखराको शोरुमबाट युवालक्षित १ सय २५ सीसी टीभीएस रेडर सार्वजनिक गरेको छ। अत्याधुनिक फिचर्सयुक्त रेडर सप्तरंग ३ को अवसरमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
स्पोर्टी रेडर मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलइडी हेडल्याम्पजस्ता फिचर जडित छन्। फस्ट इनक्लास फिचरका साथै फस्ट इन सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि मोटरसाइकलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। बाइकमा रहेको विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी इञ्जिनको प्रयोग गरिएको छ। कम्पनीका अनुसार ६५ सय आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ।

कम्पनीका अनुसार यो वाइकले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ। कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय टायर प्रयोग गरिएको जनाएको छ।

वाइकमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्ने कम्पनीले जनाएको छ। टीभीएस मोटर्सको परफर्मेन्स वाइक डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ। टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

निफ्राका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड २१ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।

बैंकले पोहोर यो रकम भुक्तानी गरेको हो। अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा छन्। यद्यपि उनी गत वर्षको पुसमा नियुक्त भएका हुन्। त्यसैले यो सबै तलब सुविधा उनले पाएका होइनन्। अनिल ज्ञवाली त्यसअघि प्रमुख कार्यकारी अधिकृत थिए।

बैंकले तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई ८२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ। पाण्डेले केही दिनअघि मात्र निफ्रा छाडिसकेका छन्। बैंकले नायब महाप्रबन्धकहरुलाई कुल एक करोड १४ लाख १६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार, प्रबन्धकहरुलाई ६५ लाख ८३ हजार र सहायक प्रबन्धकलाई ७७ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत मंसिर २९ गते वार्षिक साधारणसभा गरिसकेको छ। बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश भुक्तानी गरिसकेको छ।

बीमा समितिले गर्यो प्रदेश २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

बीमा समितिले प्रदेश नं. २ को सरकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बुधबार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हो ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्तीका कारणले आइपर्ने संकटका समयमा बीमाले सहयोग गर्ने भएकाले बीमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न बर्गसम्म पुर्याउनुपर्ने बताए । मुख्यमन्त्री राउतले बीमा गरेपछि नागरिकमा संकटमा समयमा आत्मविश्वास र आत्मबल बढ्ने भएकाले बीमा कसरी, कहाँ गर्ने र कसरी दाबी भुक्तानी पाउने बारेमा सबैलाई बुझाउनु जरुरी रहेको बताए ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको महत्वका बारेमा आम जनतालाई बुझाउने दायित्व बीमा समिति सहित प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको समेत रहेको बीमासम्बन्धी जनचेतना बढाएर नै चालू आर्थिक वर्षमा एक तिहाई जनतामा बीमाको पहुँच पुर्याउने लक्ष्य हासिल गर्न सकिने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा समितिका कार्य, बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकारको भूमिका, बीमा समितिले गर्न सक्ने सहयोग लगायतका विषय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।