जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

गुराँस लाफले ५ लाख ९० हजार कित्ता हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन?

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते मंगलबारबाट हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमध्ये ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्काशन तथा विक्री खुला गरेको कुल हकप्रद शेयरमध्ये, संस्थापक समूहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गते मंगलबारदेखि असोज १९ गते सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।

प्राइम लाइफको बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनश शेयर पठाउन थालेको छ ।

कम्पनीको असार २९ गते सोमबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १२ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

सन नेपाल लाइफ चौथो बर्षमा प्रवेश

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो बर्षमा प्रवेश गरेको छ । छोटो समयमा कम्पनीले प्राप्त गरेको ब्यवसायिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेको छ ।

साथै कम्पनीले आगामी दिनमा सबैबाट यस्तै माय साथको अपेक्षा गर्दै जीवन बीमा क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

समृद्धि फाइनान्सलाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असोज १६ देखि १ बराबर २ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १८ करोड १९ लाख ८० हजार ३ सयको आधारमा २ सय प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै निष्कासन गर्न लागेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गर्नेछ।कम्पनीको उक्त हकप्रदका लागि इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ। हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ मा बुक क्लोजको मिति तय गरेको थियो।

यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ। यसका साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदकले आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपि आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ। ग्रेड ५ रेटिङले फाइनान्सको वित्तीय आधारभूत अवस्था कमजोर रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रुपैयाँ छ।

हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय  रुपैयाँ पुग्नेछ। कम्पनीमा ५९.३७ प्रतिशत हिस्सा संस्थापकको सेयर छ भने ४०.६३ प्रतिशत हिस्सा सर्वसाधारणको छ।

राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलको आफ्नो संस्थापक सेयर बेच्दै, लिलामी बोलपत्र आह्वान

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। लिलामी सेयरमा आवेदन दिनेहरुले असोज ६ देखि २० गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बैंकले प्रतिकित्ता २०५.८२ दरको ४ लाख २८ हजार ५८० कित्ता बिक्री गर्न लागेको हो। आवेदकहरुले २०५.८२ पैसा वा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्न पाउनेछन्। उक्त रकमभन्दा कम मूल्यमा सिलबन्दी बोलपत्र पेश गरे बाँडफाँटमा नपर्ने बैंकले जनाएको छ।

आवेदकहरुले बैंकले लिलामी गर्न लागेको सबै कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। खरिदकर्ताले खरिद गर्न चाहेको सबै सेयरको रकम अग्रिम रूपमा धरौटी वापत राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गनु पर्नेछ।

बैंकले प्राप्त बोलपत्रहरु असोज २२ गते बिहान साढे १० बजे बिक्री प्रबन्धककहाँ खोल्ने जानकारी दिएको छ। बैंकको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

लकडाउनमा थला परेका साना उद्योग-व्यवसाय कसरी चलाउने?

मध्यपुर ठिमी नगरपालिका, निकोसेराका किराना व्यवसायी सुदीप अधिकारी लकडाउनको कारण व्यवसाय चलाउन नसकेको र कृषि बैंकबाट लिएको ऋणको बोझ थेग्न नसकेपछि निरास भएर गएको महिना श्रीमति र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरे।

कोरोना महामारीको कारण चैत ११ गतेबाट भएको लकडाउन र त्यसपछि भएको निषेधाज्ञाको कारण व्यवसाय चलाउन नपाएका, व्यवसाय बन्दको कारण कर्मचारी र परिवारको पालन पोषण गर्न नसकेका र ऋणको बोझले थिचिँदै गएका लाखौं व्यवसायीहरु सडकमै आइसकेका छन्। यो जटिल अवस्थाको सामना गर्न नसकेकाहरु भटाभट सुदीप अधिकारीले जस्तै आत्महत्याको बाटो रोज्न थालेका छन्।

रेल, पानी जहाज र सुरुङ मार्गको ठुला ठुला परियोजना घोषणा गर्दै आएको सरकार जनतालाई सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउन र दुई छाकको जोहो गरिदिन तत्पर देखिँदैन। सयौं मान्छे हस्पिटल पुग्न नसकेर मरिरहेका छन्। लाखौं मान्छे रोजगार र व्यवसायविहीन भएका छन्। केहीले आत्महत्याको अप्रिय बाटो रोजिरहेका छन्। संकटको यस्तो विकराल अवस्थामा गैरजिम्मेवार देखिएको सरकार कर उठाउन र झुठो आश्वासन दिएर रमाउनमा नै व्यस्त देखिन्छ।

महामारीको बेला रोग र भोकले देशको अवस्था लथालिंग छ। सर्वत्र निराशाजनक अवस्था छ। मरिने डर त हरबखत हुन्छ तर पनि अन्तिम अवस्थासम्म ज्यान जोगाउन संघर्ष गर्नु मानिसको कर्तव्य र धर्म पनि हो। त्यसैले यस्तो प्रतिकूल अवस्थामा पनि केही अपवादलाई छाडेर लाखौं बन्द अवस्थामा रहेका उद्योग व्यवसाय, विशेषतः घरेलु तथा साना उद्योग र साना व्यापारलाई कसरी संचालन गर्ने भनि प्रमुख समस्या र चुनौती आइपरेको छ। यदि यी लाखौं साना साना उद्योग व्यापारलाई खोल्न सकिएन भने ‘मरता क्या नही करता’ भने झैं यी निरीह व्यवसायी सामु आत्महत्या वा विद्रोह गर्नु बाहेकको विकल्प रहँदैन। भोको पेटले कुनै वाद, नैतिकता र राष्ट्रियता हेर्दैन। बाँच्नका लागि उसले जे पनि गर्न सक्छ भन्ने हेक्का सरकारले राख्नु जरुरी छ।

यहाँ अहिले कोरोनाको कारण बन्द रहेको उद्योग व्यवसाय सम्भव भएसम्म कसरी संचालन गर्न सकिन्छ त्यस बारेमा चर्चा गर्न गएको छु। म स्वंय पनि साना साना धेरै व्यवसायमा संलग्न भएकाले व्यवहारिक र फलदायी हुने विश्वास लिएको छु।

लकडाउनमा थला परेको उद्योग व्यवसाय निषेधाज्ञामा पूर्णतः बन्द अवस्थामा थिए। अहिले आएर निषेधाज्ञा खुकुलो त पारिएको छ, तर उद्योग ब्यवसाय पूर्ण रूपमा खुलिसकेका छैनन्। स्वास्थ्य र खाने पिउने व्यवसाय बाहेक अधिकांश चलेका छैनन्। राहतको नाममा सरकाले सुको पैसो दिएको छैन। बैंक कर्जा लिनेको हकमा केही सुविधा घोषणा भए पनि पूर्णतः कार्यान्वयनमा आउन बाँकी नै छ। त्यसैले सरकारको मुख नहेरी आफैंले प्रयास गरेर भए पनि बन्द उद्योग व्यवसाय कसरी शुरु गर्न सकिन्छ?

आत्मबल र आत्म विश्वासको श्रृजनाः- सर्वप्रथम निराश मनस्थितिबाट उठ्नु जरुरी छ। गाउँमा बाढी पस्दा घरहरु बगाउँछ, कति मानिसको ज्यान जान्छ। तर किनारा लागेकाहरु संघर्ष गरेर फेरि अघि बढेका हुन्छन्। लकडाउन निषेधाज्ञाले धेरैलाई लडाएको छ। तर उठेर फेरि सम्हालिन सकिन्छ। तसर्थ आत्मबल बलियो बनाएर म सक्छु भनेर आफुमा विश्वास गरी सर्वप्रथम व्यवसाय चलाउने मनस्थिति बनाउनु जरुरी हुन्छ।

१. आफ्नो व्यवसायको वास्तविक समीक्षाः- आफुले चलाइ रहेको व्यवसायको अवस्था अध्ययन गर्नुस्। त्यस्तै व्यवसाय कतिको चलेको छ, चल्ने अवस्था छ कि छैन? उद्योग व्यवसाय चलाएर खर्च धान्न सकिने अवस्था छ कि छैन? अहिले नाफा हेर्ने समय हैन। कसरी बाँच्ने, त्यो मात्र सोच्ने हो। अहिले जो बाँच्छ त्यो टिक्छ र अगाडि बढ्छ। समय सँधै एकनाशको रहँदैन। कोरोना कालपछि व्यवसायमा बाँच्ने जति सबैको प्रगतिको दिन आउँछ, त्यो शत् प्रतिशत सही हो। व्यवसाय चलाएर बाच्न सक्ने अबस्थाको अध्ययन र समीक्षा गर्नुस्।

२. उपभोक्ताहरुको आवश्यकताको पहिचानः- तपाईले प्रदान गर्नु भएको वस्तु वा सेवा उपभोग गर्ने उपभोक्ताको आवश्यकताको पहिचान गर्नुस्। उनीहरु के चाहिरहेका छन्, उनीहरुको आवश्यकता परिवर्तन भएको छ/छैन, तपाइँले दिने वस्तु र सेवा उपयोग गर्ने पहिले जस्तै अवस्था छ कि छैन? त्यस्को अध्ययन र पहिचान गर्नुस। साबिककै राम्रो अवस्था छ भने पुनः संचालन गर्दा समस्या नआउला तर आवश्यकता परिवर्तन भइसकेको छ भने व्यवसाय यथास्थितिमा संचालन गर्नु भन्दा उपभोक्ता चाहना अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ।

३. कार्यरत कर्मचारी मनस्थितिको अध्ययनः- उद्योग व्यवसाय संचालन गर्दाको कर्मचारीको अवस्था के छ, उनीहरुको सोच कस्तो छ,लकडाउनभित्र व्यवसाय बन्द भएको अवस्थामा उनीहरुको भूमिका सकारात्मक नकारात्मक कस्तो रह्यो, बसीबसी तलब मात्र खान खोजे कि सहयोगी पनि बने, उनीहरुलाई फेरि साथ लिँदा संकटकालमा सहयोगी हुन सक्छन कि सक्दैनन्? यी सबै विषयमा पुनर्चिन्तन गर्नुस्। व्यवसाय पुनः चलाउँदा आफ्नो काम सम्झेर कम तलब (खाने बाँच्ने गरी) मा भए पनि काम गर्न तैयार छन कि छैनन्? सबै राम्ररी अध्ययन गर्नुस्।

४. वितरण प्रणाली (सप्लाइ चेन) को निर्क्यौलः- आफूले पहिला व्यवसाय चलाउँदाको वस्तु र सेवा वितरणको लागि अपनाइएको सप्लाइ चेनको अवस्था के छ, सरकारले लकडाउन गर्दा वा नगर्दाको अवस्थामा पनि त्यो चेनले काम गर्छ गर्दैन? त्यो सबै निश्चित गर्नु पर्छ। वस्तु र सेवा उत्पादन गरिएला तर वास्तविक उपयोक्ता वा थोक खुद्रा विक्रेता कहाँ पुग्न पाएन भने फेरि ठूलो नोक्सानीको सम्भावना रहन्छ। त्यसैले वितरण प्रणालीको निश्चितता जरुरी हुन्छ।

५. नगद प्रवाहको अवस्थाः- व्यवसाय बन्द भन्दा अघिको अवस्थाको नगद प्रवाहको अवस्था के थियो र अहिले कस्तो छ? अर्थात डेब्टर (उठाउन बाँकी) क्रेडिटर्स (तिर्न बाँकी), बैंक मौज्दात, आफ्नो क्रेडिट कार्डको बाँकी रकम र स्टक मौज्दात कस्तो थियो र अहिले अवस्था के छ? ती सबैको अध्ययन जरुरी हुन्छ। उद्योग व्यवसाय पूनः संचालन गर्ने अवस्थामा न्यूनतम चालु पुँजी चाहिन्छ। डेब्टरबाट आउने सम्भावना कम हुन्छ तर क्रेडिटर्स जति सबै भुक्तानी लिन लाम लाग्न सक्छन। बजारमा उठाउन बाँकीबाट न्यूनतम आउने गणना र तिर्न बाँकीलाई अधिकतम दिनु पर्ने हिसाब गर्नुपर्ने हुन्छ। कच्चा र तैयारी मालको स्टक छ भने त्यसले सपोर्ट गर्न सक्छ।

६. व्यवसायलाई प्रविधिसँग जोड्ने सम्भावनाः– कोरोनाको असर तत्कालै खतम हुने अवस्था छैन। बेला बेलामा लकडाउन र निषेधाज्ञा हुन सक्छ। त्यो बेला वस्तु वा सेवाको वितरण प्रविधिमार्फत गर्न सकिने सम्भावना कतिको छ? त्यो विचार गर्नु पर्छ। अहिले वास्तविक अनलाइन सँगै सानो प्रकृतिको व्यवसाय सोसल मिडिया फेसबुक, भाइबर र ह्वाटसअपको प्रयोग गरेर पनि वितरण प्रणाली चलाउन सकिन्छ। पुनः लकडाउन हुन सक्छ भनि सोचेर व्यवसायको काम नरोकिने विकल्प सोचेर संचालन हुने व्यवसायलाई बन्द हुनबाट जोगाउन सकिन्छ।

७. थप चालु पुँजीको आवश्यकता र पूर्तिको माध्यमः – बन्द उद्योग व्यवसाय पुनः संचालन गर्न ठुलै साहस चाहिन्छ। सबै अवस्था अनुकूल बनाउँदा पनि आवश्यक चालु पुँजी व्यवस्था गर्न सकिएन भने कुनै अर्थ रहँदैन। त्यसैले उद्योग व्यवसाय चलाउन न्यूनतम कति चालु पुँजी चाहिन्छ? निर्क्यौल गरी थप पुँजीको व्यवस्थाको लागि निम्न उपाय अपनाउन सकिन्छ।

क)  पुनर्कर्जा लिन सकिनेः- नेपाल राष्ट्र बैंकले १ खर्बको पुनर्कर्जा कोष बनाई साना तथा घरेलु उद्योग पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन क्षेत्र निर्धारण गरेको छ। यो व्यवसायलाई निज व्यवसायीले बैंक वित्तीय संस्थामा विगतमा कर्जा भुक्तानी गरेको आधारमा बढीमा ५ प्रतिशतसम्म सस्तो ब्याजदरमा पुनर्कर्जा दिने भएकोले बैंकबाट लिन सकिन्छ।

ख)  धितो सुरक्षणमा थप कर्जा लिन सकिनेः- एउटा बैंक शाखाबाट ५ जनाले पुनर्कर्जा पाउने भनेकोले पुनर्कर्जा सबैले पाउने सम्भावना कमै छ। अतः आफूले कर्जा लिएको बैंकमा सम्पर्क गरी धितो सुरक्षणले खामेसम्म आवश्यक कर्जा लिएर थप पूुँजी जुटाउन सकिन्छ। ब्याज पुनर्कर्जाभन्दा केही बढी अर्थात ४/५ प्रतिशत माथि पर्न सक्छ। यसरी थप कर्जा लिँदा पहिले लिएको कर्जाको साँबा ब्याज तिर्न थप एक वर्ष अवधि लिनु पर्ने हुन्छ। तत्काल साँवा किस्ता र ब्याज तिर्ने बोझबाट बच्ने उपाय निकाल्नु पर्छ।

ग)  आफन्तसँग छोटो अवधिको कर्जा लिन सकिनेः- विगतमा संचालन गरिरहेको उद्योग व्यवसायको सम्भावना राम्रो रहेको अवस्थामा साथीभाईसँग सापटी पाउन सकिन्छ। पहिले देखि राम्ररी चिनेका र उद्योग व्यवसाय संचालन गर्नेको उद्यमशीलतामा विश्वास भएको अवस्थामा आफन्तहरुसँग कर्जा लिएर चालु पुँजीको व्यवस्था गर्न सकिन्छ।

घ) नयाँ पार्टनर बनाइ पुँजी जुटाउन सकिनेः- राम्रोसँग संचालन भइ बन्द भएको व्यवसायमा पार्टनर वा साझेदार बन्ने चाहना कतिपयले पहिलेदेखि बनाएका हुन सक्छन्। एक्लै गरौं एक्लै कमाउँ भन्ने सोच छोडेर आफूसँग विश्वास भएको व्यक्तिलाई पार्टनर बनाई थप चालु पुँजीको व्यवस्था गर्न सकिन्छ। नयाँ पार्टनर हाल्दा विश्वासिलो र सहयोगी मान्छे राख्नु पर्छ।

ङ) संकटको लागि जोडेको सम्पत्ति बिक्री गर्न सकिनेः– हाम्रो समाजमा संकट पर्दा प्रयोग गर्ने गरी आ-आफ्नो तरिकाले पुँजी जोडिएको हुन्छ।घरका महिला सदस्य सुनका गहना, कमाउनेले बीमा पोलिसी, सेयर, मुद्दती र जग्गा जमिन केही न केही जोडीएको हुन्छ। कोरोनाको कारण उद्योग व्यवसाय बन्द भएको जस्तो ठूलो संकट केही हुन सक्दैन। बाँचियो र फेरि कमाउन थालेमा यस्ता सम्पत्ति फेरि जोड्न सकिन्छ। बन्द व्यवसाय संचालन गर्न वा वैकल्पिक अर्को व्यवसाय गर्न पुँजी भएन भने गरगहना, सेयर,मुद्दती, बीमा पोलिसी र जग्गा, जे छ सो बिक्री गरी पुँजीको जोहो गरी काम गर्न सकिन्छ।

८. वैकल्पिक आयको लागि थप व्यवसाय संचालनः- कोरोनाको असर लामो समय जान सक्छ। चलाउन खोजेको व्यवसाय भविष्यमा पुनः लकडाउनको मारमा पर्न सक्छ।त्यसैले भविष्यको आर्थिक भारलाई न्यूनीकरण गर्न सानो  पुँजीमा गर्न सकिने वैकल्पिक आम्दानी हुने व्यवसाय गर्न सकिन्छ। परिवारको अन्य सदस्यलाई संलग्न गराई किराना पसल, तरकारी व्यवसाय, माछामासु तथा अण्डा व्यवसाय, औषधिजन्य व्यवसाय, आफू बसेको एरियामा सानो सानो स्केलमा गरेर पनि वैकल्पिक आय गर्ने तर्फ सोच्न सकिन्छ।

९.  सहयोगी एनजीओ/आइएनजीओको सहायताः-कोरोना माहामारीको मारमा परेका साना उद्योगी व्यवसायमीलाई सहयोग गर्न थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय दाता संस्थाहरु छन। तिनको खोजी गरी पाउने सहयोग र साथ लिएर पनि केही गर्न सकिन्छ। यसतर्फ पनि ध्यान दिनु पर्छ।

यसरी माथि उल्लेखित भएका विभिन्न अवस्थाको सुक्ष्म अध्यन विश्लेषण गरी बन्द भएको उद्योग व्यवसायलाई सुचारु गर्न सकिन्छ। सधैं निराश भएर भाग्यलाई मात्र दोष दिइ केही प्रयास नगर्नेले आफू र परिवारलाई नराम्रो प्रभाव पार्न सक्छ। जस्तोसुकै ठूलो समस्यामा  पनि साहस गरी धैर्यतापूर्वक प्रयास गरेमा नहुने यो संसारमा केही छैन। त्यसैले बन्द उद्योगी व्यवसायीले म गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढ्नु पर्छ। प्रयास गर्दै जाँदा उपायहरु आउँदै जान्छन र उद्योग व्यवसाय सुचारु भइ सफलतातिर अगाडि बढ्न सकिन्छ। चलिरहेको गाडीमा नै मानिस बस्न रुचाउँछन। बन्द गाडीमा कोही चढ्दैनन् र अन्ततः कबाड बन्न जान्छ। यो यथार्थतालाई बुझेर आफूलाई चलायमान बनाउनुस्। अवसरहरु आउँदै जान्छन्। धैर्यता, आत्मविश्वास, मेहनत र निरन्तरता भएमा सफल अवश्य भइन्छ।
(भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्)

सानिमा जनरल इन्स्योरेन्सले पायो आईपीओ विक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सानिमा जनरल इन्स्योरेन्स लिमिटेडलाई आईपीओ विक्री गर्न अनुमति दिएको छ । बोर्डले असोज ५ गते सानिमा जनरल इन्स्योरेन्सलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो ।

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारण शेयरधनीहरुलाई जारी पूँजीको ३० प्रतिशत आईपीओ विक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको थियो । रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी कायम रहेको छ । सर्वसाधारणलाई आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ ।

यस कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनआईसी एशिया क्यापिटलले पुरा गर्नेछ ।

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने, लाइन बस्नु नपर्ने

एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरु गरेको छ ।

ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ । उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ ।

उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने व्यवस्था गरिसकेको छ । सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।

साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, आस्वा सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस सर्भिस मार्फत सेवा दिईरहेको छ । उक्त सेवाहरू आईसर्भिस मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।

प्रभु लाइफको साधारण सभा असोज २९ गते

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा असोज २९ गते गर्ने भएको छ । कम्पनीको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा काठमाडौँ म्यारियट होटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोकिने लगायतका एजेण्डा रहेको छ ।

कम्पनीले हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारको विशेष सुरक्षा अपनाउन आग्रह समेत गरेको छ ।

डिसहोमको कमेडी प्लस च्यानलमा भोलीदेखि ‘अड्डा’ प्रसारण हुने

डिसहोमको कमेडी प्लस च्यानल नम्बर १०७ बाट कलाकार किशोर भण्डारीको लेखन÷निर्देशन रहेको हास्यश्रृंखला ‘अड्डा’ भोली (मंगलबार)बाट प्रसारणमा आउने भएको छ । डिसहोमको कमेडी प्लस च्यानलबाट हास्यश्रृंखला ‘अड्डा’ प्रशारण हुने भएको हो ।

हास्यश्रृंखला ‘अड्डा’ यसअगाडि गत ९ भदौबाट प्रसारणमा आउने तय भएपनि सरकारले ३ भदौबाट जारी गरेको  निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रसारण स्थगित भएको थियो । अब भने असोजको पहिलो साता मंगलबारबाट यो श्रृंखला प्रसारणमा आउने भएको छ । ‘केही दिनदेखि स्वस्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकन गरेका छौं’ किशोरले भने– सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको किशोरले जानकारी दिए ।

किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखला डिस होमको कमेडी प्लस च्यानलबाट मंगलबार राती ९ बजे प्रसारणमा आउनेछ । सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ’ भण्डारीले श्रृंखलाको कथाको बिषयमा बताए ।

लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । श्रृंखला प्रसारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।

किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र।श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा, लिला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, बिक्रमजङ शाह, अजय अधिकारी, सुशिल फुयाल, कुशल खनाल, सुमा लामिछाने , कृष्ण भण्डारीलगायतको श्रृंखलामा अभिनय देख्न सकिन्छ ।

प्रवेश पोखरेलको छायाँकन, दुर्लभ श्रेष्ठको सम्पादन रहेको श्रृंखलाको निर्देशन सहयोगी रेश्मा तिमल्सिना हुन् ।

कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा !

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख छ ।

यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

यसमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिन्छ । यस बाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् ।

खुलासा अनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसारपसार भएको छ । यो रकम आथिर्क वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो ।

आईसीआईजेबाट खोज पत्रकारिता केन्द्र (खोपके) ले प्राप्त कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।

पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ, तर त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिंदैन ।

पहिलो प्रकृति अनुसार नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको कुल रकम १७ करोड ७६ लाख ६० हजार ७६५ अमेरिकी डलर (रु.२१ अर्ब १४ करोड १६ लाख ३१ हजार ५८) हुन आउँछ ।

यो रु.२१ अर्बमध्ये १० करोड ३० लाख ३९ हजार ८६७ अमेरिक डलर (रु.१२ अर्ब २६ करोड १७ लाख २४ हजार २६२) नेपालबाट बाहिरिएको छ । यसैगरी ७ करोड ४६ लाख २० हजार ८९७ अमेरिकी डलर (रु.८ अर्ब ८७ करोड ९८ लाख ८६ हजार ७९६) नेपाल भित्रिएको देखिन्छ ।

त्यसैगरी दोस्रो प्रकृतिको नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको अवैध कारोबार र ओसारपसारको एकमुुष्ट रकम भने ४ करोड ८२ लाख ५४ हजार ५७६ अमेरिकी डलर (रु.५ अर्ब ७४ करोड २२ लाख ९४ हजार ५८६.८४) देखिन्छ । ‘फिनसेन फाइल्स’ ले यो रकम नेपालसहित विभिन्न मुलुकमा कारोबार र ओसारपसार भएको उल्लेख गरे पनि नेपालमार्फत ठ्याक्कै कति कारोबार भयो भन्ने खुलाएको छैन ।

त्यस बाहेक तेस्रो प्रकृतिको कारोबारमा विदेशमा बसेर नेपाली मूलका व्यक्तिहरूले ६ करोड ६८ लाख ८१ हजार ४५.८६ अमेरिकी डलर (रु.७ अर्ब ९५ करोड ८८ लाख ४४ हजार ४७५) कारोबार र ओसारपसार गरेको पनि खुल्न आउँछ ।

‘फिनसेन’ ले यी तीनै थरी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ । ती विवरणहरू केलाउँदा नेपालका बैंकहरू ‘आफ्ना प्रत्येक ग्राहकले गर्ने कारोबारको निगरानी राख्नुपर्ने’ अनिवार्य दायित्वबाट चुकेको देखिन्छ । यसले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाललाई ‘थप बदनाम’ र ‘उच्च जोखिमयुक्त मुलुकको सूचीमा पार्ने चुनौती’ थपेको छ ।

विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटक–पटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह

‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ ।

ग्राहक– १, रौनियार

यो बैंकमार्फत सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२ मिनाबजार पर्सा, मेनरोडका दुई कम्पनीहरू छन् । एक, रौनियार ब्रदर्स एण्ड कम्पनी । दोस्रो, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ ।

दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा मात्रै दर्ता छ । शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन् । जो धेरैजसो दुबईमा बसोबास गर्छन् । उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेशनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ कम्पनीहरू (जहाजमार्फत सामान ओसारपसार गर्ने कम्पनी) मार्फत शंकास्पद कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ । दुबईको ‘काइट इन्टरनेशनल’ कम्पनीले अलकत्र, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ ।

दुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्र र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो ।

रौनियारका उल्लिखित दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटक–पटक प्रतितपत्र खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ ।

फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकबाट सामान ल्याएको तर कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।

त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० र १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबारहरू हुन् । २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरीद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो ।

उक्त ‘अर्डर’ अनुसारका सामानहरू २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पुर्‍याइएको थियो । जुन सामग्री ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ । त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन् ।

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो । यो कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो ।

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ । उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पार्‍यो । तर, कागजपत्र चाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो । यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो ।

सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले पनि इरानलाई उच्च जोखिमको दोस्रो नम्बरमा राखेको छ । पहिलो उत्तर कोरिया हो । उनीहरु सम्पत्ति शुद्धीकरणको मामिलामा उदार भएकाले एफएटिएफले राखेको उक्त सूचीलाई चलनचल्तिको भाषामा ‘कालोसूची’ पनि भनिन्छ ।

नेपाल पनि एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ । यसबारे जानकार एक सरकारी अधिकारीले भने, “जुन मुलुकबाट औषधी, खाद्यान्न लगायत केही अत्यावश्यक सामाग्रीहरु भन्दा बाहेकको आर्थिक कारोबार यो मुलुकबाट नेपालले पनि गर्न पाउदैन ।”

‘काइट’ को वेबसाइटमा उल्लेख भए अनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति रहेको छ । काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ छ । तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् ।

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत प्रतिक्रिया लिन खोजेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

उल्लिखित दुई कम्पनीका सञ्चालक मध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए । “अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो” उनले भने, “पहिले अलकत्रको काम गथ्र्यौं, अहिले गर्दैनौं ।” फिनसेनले भनेको कारोबारमा संलग्न मुख्य व्यक्ति उनका छोरा प्रकाशकुमार रौनियार हुन् । उनी युएईमा रहेका कारण उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन ।

ग्राहक– २, दाना डेरी ग्रुप लिमिटेड

‘फिनसेन’ का अनुसार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हुँदै स्वीट्जरल्याण्डमा रकम पठाएर शंकास्पद कारोबार गर्ने अर्को ग्राहक हो– दाना डेरी ग्रुप लिमिटेड । ७ अप्रिल २०१५ मा २७ हजार ६७२ अमेरिकी डलर (रु.३२ लाख ९२ हजार ८६८) स्ट्याण्डर्ड चार्टर्ड बैंक काठमाडौंले दाना डेरी ग्रुप लिमिटेड, स्वीट्जरल्याण्डलाई पठाएको देखिन्छ । उक्त रकममध्ये २७ हजार ११२ अमेरिकी डलर (रु.३२ लाख २६ हजार ३२८) मात्रै २८ जुलाई २०१५ मा दानाले स्वीट्जरल्याण्डमा प्राप्त ग¥यो । दाना डेरीले दुग्धजन्य पदार्थको उत्पादन, खरीद, बिक्री र वितरण लगायतको काम गर्छ ।

दाना डेरीको वेबसाइटमा उल्लेख भएअनुसार, १६ देशमा यसका उत्पादन कारखाना छन् । यसले नेपालसहित ५६ मुलुकमा आफ्ना उत्पादन निर्यात गर्छ । नेपालबाट कसले र किन यो पैसा स्वीट्जरल्याण्ड पठायो भन्ने विवरण चाहिं खुल्न सकेन ।

बैंकको कारोबार तथा कम्पनीहरूको संलग्नताबारे स्ट्याण्डर्ड चार्टर्ड बैंकका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले आफूहरूले ‘फिनसेन’ को शंकास्पद कारोबार रिपोर्ट (सार) सम्बन्धी गोपनीयताको दायित्वलाई गम्भीर रूपमा लिएको बताइन् । उनले कुनै केस विशेषमा टिप्पणी गर्न नचाहेको पनि बताइन् ।

इमेलमार्फत उनले ‘सार’ प्रतिवेदन आफैंमा ग्राहक, बैंक वा अन्य कुनै संस्थाको गलत कामको प्रमाण नभएको दाबी गरिन् । “बैंकको जिम्मेवारी भनेको विश्वव्यापी वित्तीय प्रणालीको रक्षा गर्न प्रभावकारी अनुगमनको कार्यक्रम बनाउनु हो” उनले भनेकी छन्, “वित्तीय अपराध विरुद्ध लड्ने कामलाई हामी हाम्रो जिम्मेवारीका रूपमा लिन्छौं र शंकास्पद धन बारेको रिपोर्टिङ गर्ने कार्यक्रमका लागि पर्याप्त लगानी गर्छौं ।”

उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकले अनुगमन र अनुसन्धानको काममार्फत अपराधीलाई सजाय दिन योगदान पुर्‍याएको दाबी गरे पनि कम्पनी र कारोबारको विषयमा कुनै कुरा खुलाउन चाहिनन् । उल्लिखित कारोबारको विषयमा हामीले स्वीट्जरल्याण्डको दाना डेरी ग्रुपलाई इमेल मार्फत प्रतिक्रिया मागेका थियौं । उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

सुन कम्पनीलाई प्राइम र बैंक अफ काठमाण्डूको सहयोग

‘फिनसेन’ का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८ बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता टे«डिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन् ।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ । सो रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । तर दुई बैंकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन ।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ । बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो ।

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ । नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ ।

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरीद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो ।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन् । उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने । त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन् ।

उल्लिखित कारोबार बारे प्राइम बैंकका सूचना अधिकारी अमृत चरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए । “सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो । कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको एलसी प्रतितपत्र मात्रै खोल्छ । उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ । शंकास्पद भए अन्ततिर होला” श्रेष्ठले भने, “हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन ।”

सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले त धेरै कुरै गर्न चाहेनन् । उनले भने, “यसबारे मलाई केही जानकारी छैन । केही भयो भने म तपाईंलाई पछि कल गर्छु ।” यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ ।

इन्भेष्टमेन्ट बैंक र जेटीईको सम्बन्ध

‘फिनसेन’का अनुसार, चीनको सबैभन्दा ठूलो दुरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनी ‘जिहोङसिङ् टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन’ (जेटीई) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) रकम नेपालसहितका अन्य मुलुकमा पठाएको थियो ।

जेटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन बैंक मार्फत उक्त कारोबार गरेको थियो । उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो । ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महीनामा नेपाल इन्भेष्टमेन्ट बैंकमा जेटीईले रकम जम्मा गरेको भेटिएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु.६ लाख ७९ हजार ३८१), ५ हजार २४४.७७ अमेरिकी डलर (रु.६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु.४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु.१ हजार १९०) जेटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ ।

फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै उल्लेख गरे अनुसार, पाँच वर्षकोे अनुसन्धानमा जेटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न ‘अनेक षडयन्त्र गरेको भेटियो’ भनेको छ । कम्पनीले ‘अमेरिकाबाट दूरसञ्चारका सामग्री खरीद गर्ने र ती सामग्रीलाई जेटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पुर्‍याएर बिक्री वितरण गर्ने गरेको’ उल्लेख छ । जेटीईले अमेरिकी प्रतिबन्ध विरुद्ध नियामक निकायको आँखा छल्ने गरी विभिन्न मुलुकमा शंकास्पद धन कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

जेटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ । २०७२ वैशाखको भूकम्पलगत्तै नेपालको दूरसञ्चार कम्पनी एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो । भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु.१ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो ।

जेटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट बैंकका ‘डेपुटी जनरल म्यानेजर’ बिजेन्द्र सुवालले प्रतिक्रियाका लागि शंकास्पद भनिएको कागजात नै पठाउनुपर्ने बताए । उनले बंंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आफूहरूले बैंक र ग्राहकबीचको सम्बन्ध खुलाउन नसक्ने बताए । इमेलमा हाम्रो प्रश्नको जवाफ दिंदै उनले भनेका छन्, “उचित प्रमाणको अभावमा गोपनीयता सम्बन्धी कानूनी दायित्वका कारण हामी हाम्रा ग्राहक सम्बन्धी जानकारी खुलाउन सक्दैनौं ।” हामीले यस सम्बन्धमा जेटीईलाई इमेल गरेर प्रश्न राखेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भएको देखिन्छ ।

‘फिनसेन’ का अनुसार, जर्मन फ्यांकफर्टको ‘कमर्ज बैंक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन ।

एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेलले ग्राहकको गोप्य विवरण भएकाले यस बारेमा राष्ट्र बैंकलाई मात्रै जानकारी दिन मिल्ने बताए । “तपाईंले बुझन खोज्नुभएको गोप्य कुरा हो । राष्ट्र बैंकमा रिपोर्ट गर्ने हो । मलाई भन्ने अधिकार हुँदैन” पौडेलले भने, “जुन कम्पनीले गरेको हो त्यसैलाई सोध्दा राम्रो हुन्छ । तैपनि म हाम्रो बैंकको सिस्टममा चाहिं भनिदिन्छु ।”

मेगामार्फत सेसल्स ४० लाख

काठमाडौंको एलडी इन्टरनेशनल प्रालिले २२ मे २०१५ मा ३३ हजार ७९८.७५ अमेरिकी डलर (रु.४० लाख २२ हजार ५१) मेगा बैंकमार्फत अमेरिकाको हबिब अमेरिकन बैंकमा पठाएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । यो रकम इन्डोनेसियाको पिटी बैंक इन्टरनेशनल हुँदै ट्याक्स हेवन मुलुक सेसल्सस्थित इक्विटी वल्र्ड लिमिटेडले प्राप्त गरेको देखियो ।

नेपालबाट बाहिरिएको यो रकम सामान आयात बापतको हो । ‘फिनसेन’ ले शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) उल्लेख गरेको यस सम्बन्धी विवरणमा सामानको आयात तथा प्रयोजनबारे भने स्पष्ट खुलाएको छैन । कारोबारमा संलग्न नेपाली कम्पनी एलडी इन्टरनेशनल प्रालि सौरभकुमार अग्रवालको नाममा दर्ता छ । सौरभ काठमाडौं महानगरपालिका वडा नं १ का बासिन्दा हुन् ।

सौरभले आफ्नो कम्पनीको कुनै पनि कारोबार शंकास्पद नभएको बताए । “हामीले नियम अनुसार प्रतितपत्र (एलसी) खोलेर बैंकमार्फत कारोबार गरिरहेका छौं” उनले भने, “जे अनुसन्धान गर्दा पनि हुन्छ । हामीले यताउता तलमाथि केही गरेका छैनौं । २० वर्ष भइसक्यो व्यापार गरिरहेको १०० प्रतिशत ठीक छौं ।” सौरभले भारत तथा विभिन्न देशहरूबाट उद्योगका लागि आवश्यक ‘केमिकल’ आयात गरी बिक्री गर्ने गरेको बताए ।

बिओके र हिमालयन बैंक पनि

२० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजीमार्फत न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १२७.७९ अमेरिकी डलर (रु.१५ हजार २०७) रकम जम्मा भएको थियो । उक्त रकम नेपालको बैंक अफ काठमाण्डूमार्फत सुनिता शेर्पाले पाइन् । १४ डिसेम्बर २०१५ मा पनि तिनै बैंकहरूमार्फत सुनिताका नाममा ४२९.१० अमेरिकी डलर (रु.५१ हजार ६३) जम्मा भएको थियो । सोही दिन यही प्रक्रियाबाट ७१०.३१ अमेरिकी डलर (रु.८४ हजार ५२७) सुनिताको नाममा आयो । यसलाई पनि ‘फिनसेन’ ले शंकास्पद कारोबारको सूचीमा राखेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सुनिताको नाममा ‘फेल्ट एण्ड यार्न प्रालि’ कम्पनी दर्ता छ । उनको यो कम्पनीका नाममा विभिन्न मितिमा हिमालयन बैंकमार्फत शंकास्पद रकम भित्रिएको देखिन्छ । ‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट हिमालयन बैंक, काठमाडौंमार्फत ‘फेल्ट एण्ड यार्न प्रालि’ ले फरक फरक मितिमा ९ हजार ९८५ अमेरिकी डलर (रु.११ लाख ८८ हजार २१५) आठ पटक प्राप्त गरेको छ ।

३० अक्टोबर २०१५, ९ नोभेम्बर २०१५, १६ नोभेम्बर २०१५, २० नोभेम्बर २०१५, १५ जनवरी २०१६, २० जनवरी २०१६, २२ जनवरी २०१६ र १ फेबु्रअरी २०१६ मा थप कुल ७९ हजार ८८० अमेरिकी डलर (रु.९५ लाख ५ हजार ७२०) नेपाल भित्रिएको हो । फिनसेनले ‘यो रकम शंकास्पद हुँदाहुँदै पनि बैंकले निगरानी र अस्वीकार गर्ने काम नगरेको’ भनेको छ । बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यस सम्बन्धमा धेरै कुरै गर्न चाहेनन् ।

यो कारोबारमा संलग्न अर्को बैंक हिमालयन बैंकका सूचना अधिकारी सुशील जोशीले यसबारे भवानी घिमिरेसँग जानकारी भएकोले उनीसँग कुरा गर्न भने । घिमिरेले ‘केही पनि जानकारी नभएको र भए पनि ग्राहकको बारेमा भन्न नमिल्ने’ बताइन् ।

नेपाल रकम भित्र्याउने कम्पनीकी लगानीकर्ता सुनिता शेर्पाले शंकास्पद किन भनियो जानकारी नभएको बताइन् । “अमेरिकामा पनि हामीले कम्पनी खोलेर कारोबार गरिरहेका छौं । करदेखि सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेका हौं” उनले भनिन् । उनले बताए अनुसार कम्पनीले न्यूजिल्यान्डको भेडाको ऊन यहाँ ल्याएर पाँच हजार प्रकारका सामग्रीहरू बनाउने गर्छ । जुन विदेशमा बिक्री हुन्छ । उनले भनिन्, “हाम्रो १०० जनाको टिमले यो काम गर्छ । गत वर्ष हामीले रु.१५ करोडको कारोबार गरेका थियौं ।”

उल्लिखित कारोबारमा संलग्न जर्मनको कमर्ज बैंक एजीका प्रवक्ताले बैंकिङ गोपनीयता र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनका कारण आफ्ना ग्राहक र कारोबारको बारेमा टिप्पणी गर्न नचाहेको प्रतिक्रिया आईसीआईजेलाई दिएका थिए ।

बैंक अफ काठमाण्डूको अर्को सहयोग

‘फिनसेन’ बाट प्राप्त विवरण केलाउँदा बैंक अफ काठमाण्डू (बिओके) ले नेपालको ‘ओमन्स पेपर क्राफ्ट कम्पनी’ को नाममा शंकास्पद रकम भित्र्याउन सहयोग गरेको देखिन्छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको देखिंदैन । तर पनि ६ र २० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट नेपालको बैंक अफ काठमाण्डू मार्फत सो कम्पनीले क्रमश ८७१.९९ अमेरिकी डलर (रु.१ लाख ३ हजार ७६७) र ७२४.६० अमेरिकी डलर (रु.८६ हजार २२७) प्राप्त गरेको थियो ।

३ डिसेम्बर २०१५ मा पनि सोही बैंकहरूको ‘रुट’ हुँदै ‘ओमन्स पेपर क्राफ्ट’ ले १ हजार १४६.५९ अमेरिकी डलर (रु.१ लाख ३६ हजार ४४४) प्राप्त गरेको देखिन्छ । उक्त कम्पनीले तिनै बैंकहरूमार्फत २२ डिसेम्बर २०१५ मा १ हजार १५२.८८ अमेरिकी डलर (रु.१ लाख ३७ हजार १९३) र ८ जनवरी २०१६ मा पनि ६२१.५२ अमेरिकी डलर (रु.७३ हजार ९६०) पाएको थियो ।

नेपालमा कुन कुन कम्पनी दर्ता भएको विवरण कम्पनी रजिष्ट्रार कार्यालयले वेबसाइटमा राख्छ । तर ओमन्स पेपर क्राफ्टबारे खोजी गर्दा वेबसाइटमा यो विवरण फेला परेन ।

जिन्दललाई बाङ्लादेश बैंकको सहयोग

न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ (डीबीटीसीए) ले ६ मे २०१६ देखी १ डिसेम्बर २०१६ सम्मको ११६ पटकमा ४ करोड २६ लाख २३ हजार ८२७.३२ अमेरिकी डलर (रु.५ अर्ब ७ करोड २२ लाख ३५ हजार ४५१) भारतको जिन्दल स्टिल एण्ड पावर लिमिटेड कम्पनीले कारोबार गरेको जानकारी पायो । यसबाट जिन्दल स्टिल एण्ड पावर कम्पनी यो कारोबारमा संलग्न भएको देखाउँछ ।

‘फिनसेन’ ले यो कारोबारमा ‘जिन्दल स्टिल एण्ड पावर लिमिटेड’, नेपाली कम्पनी ‘नेपाल इन्भेष्टमेन्ट’ सहित १२ विदेशी कम्पनीको संलग्नता रहेको जनाएको छ । यो कारोबारमा नेपाल बाङ्लादेश बैंक र अन्य १९ विदेशी बैंकको संलग्नता भएको खुलासा गरेको छ ।

भारतको नयाँदिल्लीमा मुख्य कार्यालय भएको ‘जिन्दल स्टील एण्ड पावर लिमिटेड’ को चीनको बेइजिङमा पनि शाखा छ । यसका संस्थापक भारतको हरियाणा कुरुक्षेत्रबाट लोक सभाका पूर्व सांसद नवीन जिन्दल हुन् । ‘फिनसेन’ का अनुसार, ‘उनी क्रिमिनल ब्रिच अफ ट्रष्ट (आपराधिक विश्वासघात) लगायतका आरोप लागेका व्यक्ति हुन् ।’

२० जनवरी २०१३ को ‘बिजनेस स्ट्याण्डर्ड पत्रिका’ का, अनुसार नवीन जिन्दलको बझाङको माथिल्लो सेती जलविद्युत् आयोजनामा १५०० करोड भारु (रु.२४ अर्ब) लगानी गर्ने योजना थियो । तर, उनले इजाजत लिएर लामो समय यो आयोजना ‘होल्ड’ गरेपछि सन २०१० मा सरकारले दर्ता खारेज गरिदिएको थियो ।

यस सम्बन्धमा बाङ्लादेश बैंकका सूचना अधिकारी तथा ‘अप्रेशन हेड’ सुरेश देवकोटाले उक्त कम्पनीको नाम पहिलो पटक सुनेको बताए । “त्यो कम्पनीको नाम मैले पहिलोपटक सुनेको हो । हाम्रो बैंकमा कारोबार भएको छ/छैन पत्ता लगाएर मात्रै बोल्नुपर्छ” उनले भने, “पुरानो कारोबार भएकोले तत्काल भेटिंदैन । खोज्न लगाएको छु । केही सूचना आयो भने तपाईंलाई भनौंला ।”

इराकबाट भित्रियो धन

१६ फेब्रुअरी २०१६ मा इराकको कुर्दिस्तान ठेगाना भएका हुसामहतिफ नुरले काठमाडौं महानगरपालिका वडा नम्बर–६ बौद्धका कोइसी शेर्पालाई १ हजार २२० अमेरिकी डलर (रु.१ लाख ४५ हजार १८०) पठाएका थिए । शेर्पाले नेपालमा रकम भने १ हजार १७५.९९७ अमेरिकी डलर (रु.१ लाख ३९ हजार ९४३) मात्रै प्राप्त गरेको देखिन्छ ।

उक्त रकम इराकस्थित बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनीले कामनपा ६ बौद्धकै एक्मी मनी टान्सफर सर्भिसमार्पmत भुक्तानी गरिदिएको थियो । एक्मी मनी ट्रान्सफर कम्पनी राजेश लामाको नाममा दर्ता छ ।

५ मार्च २०१६ मा कइस नजतजलालले इराकस्थित बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनी मार्फत अस्मान घिसिङलाई ८२० अमेरिकी डलर (रु.९७ हजार ५८०) पठाएका थिए । उक्त रकम कामनपा महाँकाल सरस्वतीनगरस्थित कपनको सन्नी इन्टरप्राइजेज मार्फत ७८८.८९ अमेरिकी डलर (रु.९३ हजार ८७८) भुक्तानी भएको थियो । जबकि नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कपन ठेगाना उल्लेख गरेर सन्नी इन्टरप्राइजेज भन्ने कम्पनी दर्ता भएको छैन ।

१ फेब्रुअरी २०१६ मा बिक्रम गुरुङले इराकको बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरबाट २७० अमेरिकी डलर (रु.३२ हजार १३०) नेपाल पठाएका थिए । यो रकम पोखरा उपमहानगरपालिका वडा नं १ कास्की, हरिचौरको एपेक्स डेभलपमेन्ट बैंकको शाखामार्फत शान्ता गुरुङले २५४.८६ अमेरिकी डलर (रु.३० हजार ३२८) प्राप्त गरेको ‘फिनसेन’ले जनाएको छ । एपेक्स डेभलपमेन्ट बैंक अहिले नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग मर्ज भइसकेको छ ।

१० जनवरी २०१६ मा बिक्रमले इराकको सोही मनी ट्रान्सफरमार्फत मुस्तफा हुसामद्दिन एफखुदुरलाई १ हजार ५०० अमेरिकी डलर (रु.१ लाख ७८ हजार ५००) पठाएका थिए । खुदुरले इजिप्टको एलेक्जेन्ड्रियास्थित आईबीएजी मनी ट्रान्सफरको मोन्टाजा शाखाबाट उक्त रकम पाएका थिए । फेरि बिक्रमले सरब जफरलाई पनि ४१० अमेरिकी डलर (रु.४८ हजार ७९०) पठाएका थिए । जफरले स्वीडेनको स्टक होमस्थित होग्दलीन स्वक्स कम्पनीमार्फत उक्त रकम प्राप्त गरेको देखिन्छ । उल्लिखित कारोबारहरूमा कपनको सन्नी इन्टरप्राइजेज नामको व्यावसायिक निजी कम्पनी समेतको संलग्नताले रेमिटेन्सको रूपमा पठाएको पैसा मात्र नहुन सक्ने देखिन्छ ।

उल्लिखित कारोबारमा संलग्न नेपाली एक्मी मनी ट्रान्सफर कम्पनीका सञ्चालक राजेश लामाले सबै विवरण सोधेर मात्रै रकम भुक्तानी दिने गरेको तर शंकास्पदबारे जानकारी नभएको बताए । “सबै ग्राहकले आफ्नो परिचयपत्र लिएर आउँछन् । त्यसका आधारमा हामीले भुक्तानी दिने हो” उनले भने, “उसको कहाँ के के हुन्छ ? हामीलाई थाहा हुने कुरा भएन ।”

नेपाल र एकमुष्ट ट्रान्सफर

‘फिनसेन’मा उल्लेख भए अनुसार, सम्पत्ति शुद्धीकरण र आर्थिक कारोबारका दृष्टिले उच्च जोखिमयुक्त मुलुकहरूमा एकमुष्ट रकम ट्रान्सफर भएको देखिन्छ । एउटा उदाहरण हो ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले गरेको कारोबार– जसले १५ पटकमा (२४ हजार ७१२.३५ अमेरिकी डलर (रु.२९ लाख ४० हजार ७६९) ‘ट्रान्सफर’ गरेको थियो । ‘फिनसेन’का अनुसार, उक्त रकम नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका नाम नखुलेका पाँच व्यक्तिका नाममा जम्मा भएको छ ।

डुओडिकड आईटी कम्पनी, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र लक्जेम्बर्र्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए कम्पनीले ७ अप्रिल २०१५ देखि २२ जून २०१५ सम्ममा २० पटक २९ हजार ८०५.२३ अमेरिकी डलर (रु.३५ लाख ४६ हजार ८२२) पठाएको देखिन्छ । उक्त रकम १८ पटकमा नेपाल, क्यानडा, हङ्गेरी र लक्जेम्बर्गका विभिन्न व्यक्तिका नाममा पठाइएको थियो ।

२ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्म ड्युडेकड, लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको यूनिक्रेडिट बैंक एजीले ४७ पटकमा २ करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर (रु.३ अर्ब ५६ करोड २७ लाख ४७ हजार ७६४) ट्रान्सफर गरेको थियो । यसमध्ये डुओडिकड आईटीले ३६ पटकमा जोर्डन, बलिज, नेपाल, क्यानडा, हङ्गेरी र बेलायतस्थित अर्थपोर्टका विभिन्न व्यक्तिलाई रकम पठाएको थियो ।

डुओडिकड आईटीले पेअनियरका विभिन्न खाता प्रयोग गरेर १५२ पटकमा १ करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर (रु.१ अर्ब ३३ करोड ७ लाख ६८ हजार ६२६) ट्रान्सफर गरेको थियो । जुन रकम कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रसिया, क्यानडा, अमेरिका, नेपाल, जर्मनी, युक्रेन, पोल्याण्ड, सेसल्स, काजकिस्तान, युगाण्डा, हङ्गेरी, बाङ्लादेश, ग्वाटेमाला, नेदरल्याण्ड्स र फिलिपिन्सका विभिन्न व्यक्ति र संस्थालाई पठाइएको थियो ।

सबै कारोबार गैरकानूनी भएकाले ‘फिनसेन’ ले शंकास्पदको सूचीमा राखेको हो । फिनसेनले उक्त कारोबार ‘नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, युएई, बहराइन, रुवान्डा र अफगानिस्थान जस्ता सम्पत्ति शुद्धीकरणको काम हुने उच्च जोखिमयुक्त मुलुकमार्फत भएको’ उल्लेख गरेको छ ।

त्यसैगरी अमेरिकाको केन्टकीस्थित सुरक्षा सेवा प्रदान गर्ने एमएस सेक्युरिटी कम्पनीले विभिन्न कारोबार गरेको देखिन्छ । कम्पनीको खाताका हस्ताक्षरकर्ता याकुब ए सिद्या र इस्मेल पिनो हुन् । अमेरिकामा भएको उक्त कम्पनीमार्फत नेपाल र शंकास्पद आर्थिक गतिविधि हुने उच्च जोखिमयुक्त मुलुकमा १७ लाख ३७ हजार ४५८.२९ अमेरिकी डलर (२० करोड ६७ लाख ५७ हजार ५३६) पठाएको देखिन्छ । यो कारोबारमा अमेरिकाको फस्ट फाइनान्सियलमार्फत अन्य बैंकहरू प्रयोग भएको ‘फिनसेन’ ले औंल्याएको छ ।

उक्त कारोबारका बारेमा सम्बन्धित बैंकहरूको ‘एन्टी मनी लाउन्डरिङ’ निगरानी प्रणालीले सम्पत्ति शुद्धीकरणको गतिविधि भएको भन्दै सचेत गराएको थियो । उक्त कारोबारबारे बैंकहरूले गरेको समीक्षा अनुसार १८ अक्टोबर २०१३ देखि ११ फेब्रुअरी २०१४ बीचमा १२० पटक गरेर न्यूनतम ३०० देखि अधिकतम १ लाखसम्म गरी कुल ११ लाख ७२ हजार ४०५.९१ अमेरिकी डलर (रु.१३ करोड ९५ लाख १६ हजार ३०३) कारोबार भएको थियो ।

धेरैजसो कारोबार पश्चिम अफ्रिकामा रहेका विभिन्न व्यक्तिका नाममा मासिक रूपमा पठाइएको सानो रकमको छ, जुन उही वा उस्तै आकारको छ । विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) मार्फत पठाइएको सानो आकारको रकम नेपाल, दक्षिण अफ्रिका, युएई, फ्रान्स, चीन, स्पेन, रिपब्लिक अफ आयरल्याण्ड, बेलायत, भारत, नेदरल्याण्ड र मोरिटेनियामा रहेका विभिन्न व्यक्तिका नाममा पठाइएको छ ।

उल्लिखित कारोबारका सम्बन्धमा लक्जेम्बर्गको डुओडिकड कम्पनीलाई हामीले इमेल मार्फत सोधेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

कारोबार नखुली भुक्तानी

८ अक्टोबर २०१५ देखि १६ मे २०१६ सम्म इडनबर्ग, स्कटल्याण्डको इपोक आफ्लुअन्ट भेन्चर कम्पनीले विभिन्न देशका कम्पनी तथा संस्थालाई ५६ पटक रकम पठाएको थियो । कम्पनीले लाट्भियारिगस्थित रिजनल इन्भेष्टमेन्ट बैंक र रसियाको मस्कोस्थित नोभिकोम बैंकमा रहेको आफ्ना खाताबाट ३६ लाख ६८ हजार २०८.११ अमेरिकी डलर (रु.४३ करोड ६५ लाख १६ हजार ७६५) पठाएको छ ।

कम्पनीले यो रकम नेपाल, चीन, हङकङ, अमेरिका, रसिया, डेनमार्क, कोलम्बिया, थाइल्याण्ड, पानामा, टर्की, इजरायल, बेल्जियम, जर्मनी, भियतनाम र नेदरल्याण्डका विभिन्न संस्था तथा व्यक्तिको बैंक खातामा पठाएको थियो ।

‘फिनसेन’ का अनुसार, अमेरिकाको न्यूयोर्कस्थित बैंक अफ चाइनाले उक्त कारोबारलाई शंकास्पद भनेको छ । बंैकका अनुसार, उक्त कारोबार आर्थिक, व्यापार वा कानूनी उद्देश्यका लागि भएको देखिंदैन ।

पुरातात्विक सामग्रीको तस्करी

‘फिनसेन’ का दुई छुट्टाछुट्टै प्रतिवेदनले नेपालको पुरातात्विक सामग्रीहरूको चोरी पैठारीमा अवैध आर्जन जोडिने गरेको पत्ता लगाएको छ । प्रतिवेदनले अमेरिकाको न्यूयोर्कमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘अमेरिकामा कलाकृति र पुरातात्विक सामग्रीको कारोबार गर्ने ‘न्यान्सी विनर ग्यालरी’ले शंकास्पद आर्थिक गतिविधि गरेको भनेर उसलाई शंकाको घेरामा राखेको’ उल्लेख छ ।

‘फिनसेन’ले न्यान्सी विनर नाम गरेकी महिलाको न्यान्सी विनर ग्यालरी र अन्य धेरै कम्पनीले अन्तर्राष्ट्रिय तस्करहरूले लुटेका कलाकृति लाखौं डलरमा लिने र ती सामग्रीलाई अवैध रूपमा बिक्री गर्ने काममा संलग्न भएको देखाएको’ छ ।

‘फिनसेन’का अनुसार न्यान्सी विनर ग्यालरीले भारतबाट कलाकृतिहरू तस्करी गरेर अमेरिका पठाउने काममा सहयोगीको भूमिका निर्वाह गर्ने सुवास कपुर हुन् । कपुर अमेरिकामा रहेको ‘आर्ट अफ दि पास्ट’ नामक आर्ट ग्यालरीका सञ्चालक हुन् ।

फिनसेनका अनुसार, न्यूयोर्कमा रहेका बेला कपुरलाई १०७ मिलियन अमेरिकी डलर मूल्य पर्ने चोरीका हजारौं कलाकृतिका सामग्रीहरू राखेको आरोप लागेको थियो । यही आरोपमा कपुर ३० अक्टोबर २०११ मा जर्मनको फ्र्याङफर्ट अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्टरपोलद्वारा पक्राउ परेका थिए ।

२३ मार्च २०१० देखि २ मार्च २०१७ सम्मको अवधिमा न्यान्सी विनर ग्यालरी लगायतका केही कम्पनीहरू संलग्न भएर ४१३ पटक गरी कुल २ करोड ७८ लाख ८६ हजार २०३.१० अमेरिकी डलर (रु.३ अर्ब ३१ करोड ८४ लाख ५८ हजार १६९) को कारोबार गरेका थिए । योमध्ये न्यान्सी विनर ग्यालरीले हङकङ र बेलायतमा भएको प्यानथियन लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको थियो ।

कलाकेन्द्रका रूपमा परिचित अमेरिकाको न्यूयोर्कस्थित ‘न्यान्सी विनर ग्यालरी यस्तो रकम पठाउने र लिने काममा संलग्न भएको देखिन्छ । यो कम्पनीले गरेको कारोबारमध्ये १६ मार्च २०१० को चलानी अनुसार, नेपालको १६औं शताब्दीका कास्य (काँचको धातुबाट बनेको सामग्री) बिक्री गरेको थियो ।

‘फिनसेन’का अनुसार अमेरिकाको न्यान्सी विनर हमिल नामका व्यक्तिले प्यान्थियन वल्र्ड वाइड लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको विवरणबाट देखिन्छ । भुक्तानी कारोबार अनुसार ‘चलानी मिति १६ मार्च २०१० मा १६औं शताब्दीको कास्य नेपाल’, ‘१७औं शताब्दीको अर्हत (बुद्ध) को मूर्तिको आधा सेयर’ ‘जंगलमा राम, सीता र लक्ष्मण भएको देखिने पेन्टिङ्ग बिक्री’ भन्ने उल्लेख छ । त्यसका लागि तिब्बत, नेपाल, भारत पूर्वी एशियाबाट भुक्तानी भएको देखिन्छ । यी कारोबारहरूले कलाको कारोबारलाई समेत सम्पत्ति शुद्धीकरणको माध्यमको रूपमा प्रयोग गरिएको स्पष्ट हुन्छ ।

अर्को कम्पनी ‘प्यानथियन वल्र्ड वाइड’ ‘नेपाली थाङ्का’ र ‘३८ सेन्टीमिटर उँचाइ रहेको दोस्रो शताब्दीको गन्धारा बस्ने बोधिसत्वको मूर्ति खरीद गरे बापत’ रकम लिने काममा संलग्न भएको खुलेको छ ।

‘फिनसेन’ले ‘जून २०१२ देखि मार्च २०१३ सम्ममा ब्रुकलिनको आर्ट डिलर नाइफ होम्सीले नेपाल र भारतका मन्दिरबाट चोरिएका पुरातात्विक महत्वका धार्मिक कलाकृतिहरू करीब ५ लाख अमेरिकी डलर (रु.५ करोड ९५ लाख) मूल्यमा बिक्री गरेको’ खुलासा गरेको छ ।

‘यी लेनदेनहरू सम्भवतः कलाकृतिहरूको अवैधानिक स्थानान्तरणलाई सजिलो बनाउनका लागि प्रयोग गरिएको थियो’– ‘फिनसेन’ प्रतिवेदनमा भनिएको छ । ‘फिनसेन’ले समीक्षा गर्ने क्रममा यस्तै कारोबारमा नेइफहोम्सी (एलसीसी) ले प्यानथियन नामक कम्पनीबाट ३.६ मिलियन अमेरिकी डलर पाएको उल्लेख गरेको छ । ‘फिनसेन’ प्रतिवेदन भन्छ– ‘नेइफहोम्सीले ब्रुकलिन आर्ट डिलरको रूपमा काम गर्ने गरेको छ ।’

आईसीआईजे आबद्ध भारतका पत्रकार श्यामलाल यादवले मूर्ति चोरीमा संलग्न कपुरका कानूनी सल्लाहकारसँग सम्पर्क गर्दा सुवास कपुर उपचारका क्रममा भएकाले कुनै प्रतिक्रिया दिन नसक्ने बताए । न्यान्सी विनरबाट हामीले कुनै प्रतिक्रिया प्राप्त गर्न सकेनौं ।

नेपाली नाम, थर र ठेगाना उल्लेख

‘फिनसेन फाइल्स’ मा विदेशमा कारोबार गर्ने धेरै नेपाली अथवा नेपालीसँग मिल्दो नाम भएका व्यक्तिहरू पनि मुछिएका छन् । नेपाली नाम, थर, ठेगाना उल्लेख भएका त्यस्ता कारोबारहरूको संख्या झन्डै दर्जन हाराहारी छ ।

एउटा उदाहरण हो १ जुलाई २०१३ देखि १३ सेप्टेम्बर २०१३ सम्मको कारोबार । न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरेको समीक्षामा विदेशमा बस्ने नेपालीको नाम भेटिएको हो । जसलाई ‘फिनसेन’ ले शंकास्पद सूचीमा राखेको छ । ‘फिनसेन’ को विवरण अनुसार, अमेरिकाको ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) ले गरेको कारोबार सम्पत्ति शुद्धीकरण र शंकास्पद धनसँग सम्बन्धित छ । जीमएटीले यो अवधिमा ९३१ पटकमा ३ करोड ३९ लाख ४२ हजार २७२.८६ अमेरिकी डलर (रु.४ अर्ब ३ करोड ९१ लाख ३० हजार ४७०) रकम पठाएको बैंकले पहिचान गरेको थियो ।

फिनसेनका अनुसार, यो कम्पनीले उक्त रकम पठाउन इजरायलको ‘इजरायल डिस्काउन्ट बैंक लिमिटेड’ लाई प्रयोग गरेको थियो । यो कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, न्यूयोर्कले मध्यस्थकर्ताको भूमिका खेल्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले उक्त कारोबार शंकास्पद रहेको २२ नोभेम्बर २०१३ मा मात्रै थाहा पायो ।

ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) मार्फत भएको शंकास्पद कारोबारहरूमा नेपाली थर भएका व्यक्तिहरू संलग्न देखिन्छन् । उनीहरूको सम्बन्ध हङकङसँग देखिन्छ । हङकङमा ठेगाना रहेको एड्भान्स बिजनेस इन्टरनेशनल लिमिटेडले १ जुलाई २०१३ देखि १२ सेप्टेम्बर २०१३ सम्मका ३१ पटकमा (४८ लाख ६७ हजार ५२८ अमेरिकी डलर (रु.५७ करोड ९२ लाख ३५ हजार ८३२) रकम पायो ।

उक्त रकम हङकङको ह्याङ सेङ बैंक लिमिटेडमार्फत एडभान्स बिजनेसले प्राप्त गरेको हो । जुन रकम न्यूयोर्ककोे जेपी मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले पठाएको ‘फिनसेन’ले उल्लेख गरेको छ ।

चौलागाईले यस्तै अर्को कारोबार गरेको देखिन्छ । हङकङमा कार्यालय रहेको डायनामिक्स हङकङ लिमिटेडले ३ सेप्टेम्बर २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म १९ पटकमा ३७ लाख अमेरिकी डलर (रु.४४ करोड ३ लाख) पायो । उक्त रकम हङकङको विङ लङ बैंकमार्फत प्राप्त भएको थियो । अमेरिकाको न्यूयोर्कको मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले नै सो रकम पनि पठाएका थिए ।

अर्को कारोबारमा पनि नेपाली थर भएका तीन व्यक्तिहरू संलग्न छन् । हङकङमा रहेको गोर्खा मल्टी सेवा इन्टरनेशनल लिमिटेडले १९ अगष्ट २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म ११ पटकमा ८ लाख ९९ हजार ७९२ अमेरिकी डलर (रु.१० करोड ७० लाख ७५ हजार २४८) रकम पायो । हङकङको इण्डस्ट्रियल कमर्सियल बैंक अफ चाइना एशिया लिमिटेडमार्फत उक्त रकम प्राप्त भएको थियो ।

अमेरिकाको न्यूयोर्कमा रहेको मोर्गन चेज बैंकमार्फत कुलचन्द्र रिमाल, रामबहादुर केसी र तेन्जिन शेर्पाले उक्त रकम पठाएको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै स्वीट्जरल्याण्डकोे किकलेक्ट कम्पनीले १४ अगष्ट २०१३ देखि ४ नोभेम्बर २०१३ सम्म ११ पटकमा १ लाख ८६ हजार ९५८ अमेरिकी डलर (रु.२ करोड २२ लाख ४८ हजार २) रकम पाएको थियो । उक्त रकम स्वीट्जरल्याण्डको जुरिचस्थित युबीएस एजी नामक बैंकमार्फत प्राप्त गरेको थियो ।

अमेरिकाको वासिंगटन डीसीमा रहेको युबिएस एजी बैंकको शाखामार्फत सेन्दाङ जंग खड्गा, विनोद बिक र राजी विश्वकर्माले उक्त रकम पठाएका थिए । त्यस्तै हङकङमा ठेगाना भएका नगेन्द्रकुमार लिम्बूले १९ अगष्ट २०१३ मा एक पटकमा ६० हजार अमेरिकी डलर (रु.७१ लाख ४० हजार) रकम पाएका थिए । उनले उक्त रकम हङकङको बैंक अफ चाइना हङकङ लिमिटेडको खातामा प्राप्त गरेका थिए । न्यूयोर्कको बैंक अफ चाइनाबाट उक्त रकम कुलचन्द्र शर्माले पठाएका थिए ।

व्यक्ति मात्रै हैन, नेपाली नामसँग मिल्ने गरी स्थापना भएको एक विदेशी कम्पनीबाट पनि शंकास्पद आर्थिक क्रियाकलाप भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

नाइजेरियाको इटिल्सन् मर्चेन्ट लिमिटेडले १८ डिसेम्बर २००६ देखि १० मे २०१२ सम्ममा २ करोड ८ लाख २१ हजार १८२ अमेरिकी डलर (रु.२ अर्ब ४७ करोड ७७ लाख २० हजार ६५८) शंकास्पद मानिएको रकम कारोबार गर्दा नाइजेरियामा स्थापित ‘नेपाल ओइल एण्ड ग्याँस सर्भिसेस लिमिटेड’ नामक कम्पनी पनि संलग्न भएको देखिन्छ । यो कम्पनीले पेट्रोलियम पदार्थको व्यापार तथा निर्यात गर्ने काम गर्छ । यो नाइजेरियामा सन् २००४ मा दर्ता भएको कम्पनी हो ।

नाइजेरियामा नेपाल र नेपाली जोडिने नाम भएको नेपाल ओइल एण्ड ग्याँस सर्भिसेसको शाखा कम्पनी हो– नेपाल फ्लाई लिमिटेड । यो सन् २०१७ मा त्यहाँको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देखिन्छ । यसको वेबसाइट अनुसार, विदेशीले नै यो कम्पनी स्थापना गरेका हुन् । त्यहाँस्थित स्रोतले ‘नाइजेरियामा बस्ने केही नेपालीको समेत यो कम्पनीमा संलग्नता रहेको हुनसक्ने’ दाबी गरे पनि यसको पुष्टि हुन सकेन ।

आर्थिक कारोबारको दृष्टिले सुशासनयुक्त मानिने अष्ट्रेलिया समेत शंकास्पद कारोबारमा नेपालसँग जोडिन पुगेको छ । फिनसेन प्रतिवेदन अनुसार, १ डिसेम्बर २०१४ देखि ६ डिसेम्बर २०१५ सम्म २० पटकमा विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गरेर २४ लाख १ हजार ४०३.०३ अमेरिकी डलर (रु.२८ करोड ५७ लाख ६६ हजार ९५७) को कारोबार भएको छ । न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ मार्फत कारोबार भएको हो ।

अष्टे«लियाको काठमाडौं पीटीवाई लिमिटेडले हङकङको सिनोवे इण्डस्ट्रियल लिमिटेडलाई अष्ट्रेलियाकै कमनवेल्थ बैंकमार्फत यो रकम पठाएको थियो । सिनोवेले रकम लिने क्रममा हङकङमा रहेको हङकङ एण्ड साङघाई बैंकिङ कर्पोरेसन र हङकङमा रहेको बैंक अफ चाइनालाई प्रयोग गरेको थियो । ग्राहकहरूलाई कम्पनीहरूको व्यापार र कानूनी विषयमा सूचना प्रदान गर्ने अमेरिकाको लेक्सिस्नेक्सिस्का अनुसार, काठमाडौं पीटीवाई लिमिटेड साउथ मेलबर्न भिक्टोरिया अष्ट्रेलियामा ठेगाना भएको कम्पनी हो । यो खेलकुदका कपडाहरूको अनलाइन र खुद्रा बिक्रेता कम्पनी हो ।

नेपाली बैंकबाट कानून उल्लंघन

नेपालमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन– २०६४’ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिनुपर्छ । यसको अर्थ बैंक तथा वित्तीय संस्था यस्ता मामिलका सूचक संस्था हुन् । जसले ‘आफ्नो बैंक मार्फत गर्ने व्यावसायिक कारोबार, खाता सञ्चालन, तोकिएको रकम भन्दा बढीको आकस्मिक कारोबार, विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) लगायतको काम गर्दा ती ग्राहकको निगरानी गर्नुपर्ने’ हुन्छ ।

कानून अनुसार, ग्राहकले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न पाउँदैनन् । यदि कसैले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न खोजे वास्तविक धनी समेत पहिचान गर्नुपर्ने कानूनी व्यवस्था छ । यसबाहेक राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका ‘उच्च पदस्थ व्यक्तिहरू र उनीहरूले गर्ने कारोबार’ को छुट्टै जानकारी राख्नुपर्छ । पहिचान गर्नका लागि सम्बन्धित व्यक्तिसँगै विवरण माग्ने, नभए तेस्रो पक्षसँग समेत जाँचबुझ गर्नुपर्ने व्यवस्था छ । यसरी प्राप्त सूचना पाँच वर्षसम्म सूचक संस्थाले राख्नुपर्नेछ ।

तर, ‘फिनसेनले उल्लेख गरेका अधिकांश कारोबार शंकास्पद, वेनामी, अवैध कम्पनी र उच्च जोखिमयुक्त मुलुक मार्फत हुँदा पनि नेपालका बैंकहरूले सहजै स्वीकार गरेको देखिन्छ । ‘फिनसेन’मा उल्लिखित विवरणले स्पष्ट गर्छ कि नेपालका बैंकहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनको उल्लंघन गरेका छन् ।

यस्तो कसुर गर्नेलाई ऐनले कारबाहीको व्यवस्था गरेको छ । जस अनुसार पहिलो चरणमा राष्ट्र बैंकले लिखित रूपमा सचेत गराउन सक्छ । ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रुपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने’ ऐनको दफा ७ (फ) मा भनिएको छ– ‘कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने, अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने ।’

‘फिनसेन फाइल्स’ मा उल्लिखित विवरण अनुसार, नेपालका बैंक तथा संस्थाहरूले उक्त कानूनको मात्रै हैन सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय मान्यता विपरीतको काम गरेका छन् । शंकास्पद कारोबार इरान, उत्तरकोरिया, क्युबालगायत अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकहरूसँग सम्बन्धित छ । अमेरिका मात्रै हैन उक्त मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले उच्च जोखिमको सूचीमा राखेको छ । नेपाल एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ ।

बैंक तथा वित्तीय संस्थामार्फत हुने सम्पत्ति शुद्धीकरणको मामिला निगरानी राख्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई ‘रिपोर्टिङ’ गर्न र ग्राहकको निगरानी गर्न चुकेका बैंकहरूलाई कारबाही गरेको बताए । यस मामिलामा तीन बुँदामा उनको टिप्पणी यस्तो थियो ।

एक– नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सम्पत्ति शुद्धीकरण विरुद्धका कानूनहरू बनाएको छ । राष्ट्र बैंकभित्र वित्तीय जानकारी इकाई (एफआईयू) र बाहिर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । उनले भने, “कानूनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै पनि सम्पत्ति शुद्धीकरणका घटना हुँदैनन् भन्ने होइन र कार्यान्वयनमा सशक्त छांै भन्ने अवस्थामा हामी छैनौं ।”

दुई– सुशासन र विकासको हिसाबले कमजोर मुलुकहरूमा यस्ता घटना झन् बढी हुन्छन् । “हामी नगदरहित कारोबारमा निकै पछाडि छौं । एउटा व्यक्तिको सम्पूर्ण अभिलेख राख्ने राष्ट्रिय परिचयपत्र जस्तो प्रणाली हामीसँग छैन । यी दुई कारणले हामीकहाँ अवैध कारोबार हुने जोखिम बढी छ ।”

तीन– ‘नो योर कस्टमर’ (केवाईसी) र सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी नराख्ने र रिपोर्टिङ नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई १० लाख रुपैयाँ भन्दा बढीका दरले ‘पेनाल्टी’ तिराइसकिएको छ । उनले भने, “कानूनी र संरचनात्मक व्यवस्था भइसकेको हुँदा राष्ट्र बैंक र सरकार सम्पत्ति शुद्धीकरण मामिलामा एकदमै कठोर छन् । यसमा कहीं कतै सम्झौता हुने छैन ।”

के हो ‘फिनसेन फाइल्स’ ?

अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ । त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे«जरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो ।

विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी बैंकहरूले त्यसबारे ‘फिनसेन’ लाई जानकारी गराउने गर्छन् । यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष ‘फिनसेन’ मा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन् ।

‘फिनसेन’ का २ हजार १२१ शंकास्पद प्रतिवेदनहरू अमेरिकी सञ्चारगृह ‘बजफिड न्यूज’ ले प्राप्त ग¥यो । उसले ‘फिनसेन’ बाट उक्त प्रतिवेदनहरूसहित २ हजार ६५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो । त्यसका आधारमा आईसीआईजे, ‘बजफिड न्यूज’ र अन्य संचार संस्थाहरूबीच भएको सहकार्यमा १६ महीना लामो अनुसन्धान पछि यो खुलासा गरेको हो । जसलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ ।

यो खुलासामा आईसीआईजे, बजफिड सहित ८८ देशका ११० सञ्चारमाध्यम आवद्ध ४०० भन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन् । खोजी गर्ने क्रममा पत्रकारहरूको समूहले सूचनाको हक सम्बन्धी निवेदन र अन्य स्रोतबाट वित्तीय संस्था र कारोबारसम्बन्धी थप १७ हजार ६४१ रेकर्डहरू प्राप्त गरेका थिए ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक कारोबार र ओसारपसारबारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका हुन् । फिनसेनले बैंकहरूबाट प्राप्त गरेको विवरण अनुसार, कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५.४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ ।

आईसीआईजेले संयुक्त राष्ट्रसंघको ‘ड्रग एण्ड क्राइम अफिस’ ले गरेको संगठित अपराध र लागूऔषधको तस्करी गरेर आर्जन गरिएको अवैध धनबारे अध्ययन प्रतिवेदनलाई उद्धृृत गरेको छ । जसमा सन् २००९ मा आपराधिक तरिकाले गरेको आम्दानी विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.६ प्रतिशत रहेको देखाएको थियो । जीडीपीको २.७ प्रतिशत अर्थात् १६ खर्ब अमेरिकी डलर रकम चाहिं शुद्धीकरण गरिएको अध्ययनको निष्कर्ष थियो । “सोही तथ्यांक विश्लेषण अनुसार विश्व अर्थतन्त्रको २.७ प्रतिशत रकम अवैध रूपमा आर्जन गरिएको धन हो” आईसीआईजेले भनेको छ, “यो रकम अन्तर्राष्ट्रिय वित्तीय प्रणाली मार्फत शुद्धीकरण गरियो । अहिले यो रकम २४ खर्ब अमेरिकी डलर बराबर हो ।”

िग्राहकको निगरानी राख्ने फिनसेनले आईसीआईजे र अन्य कुनै पनि मिडियालाई औपचारिक प्रतिक्रिया दिन चाहेन । उल्टै फिनसेनले १ सेप्टेम्बर २०२० मा विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन (सार) र सरकारका धेरै वर्ष पहिलेका संवेदनशील कागजपत्रमा आधारित रिपोर्टहरू प्रकाशित गर्न खोजेको बारेमा आफू सचेत भएको बताएको थियो ।

फिनसेनले सारको अनधिकृत खुलासा भए अपराध हुने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भनेको छ । “फिनसेनले यसको जानकारीलाई अमेरिकाको न्याय विभाग र ट्रेजरी विभागको महानिरीक्षकको कार्यालयलाई पठाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यो सामग्री खोज पत्रकारिता केन्द्रको  ‘फिनसेन फाइल्स’ को नेपाल नाता’ बाट लिइएको हो । 

नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत सिधै रेमिट्यान्स पठाउन सक्नेछन् । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीहरु पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु पर्ने छैन ।

नेपाल पैसा पठाउनका लागि मोवाइल बैंकिङ, यन्टरनेट बैंकिङ, इलेक्टि्रक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिनेछ । यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त केहि शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।