जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पुर्याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा बिक्री वितरण गर्ने

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो । घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ ।

क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्धशहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसंग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवस्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ । डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ ।

डिशहोमको इन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने छन्।

निर्जीवन बीमा कम्पनीको कृषि र हवाई बीमा व्यवसाय ओरालो


निर्जीवन बीमा कम्पनीहरुको कृषि बीमा व्यवसाय ओरालो लागेको छ। यो वर्ष फागुन मसान्तसम्म डेढ दर्जन इन्स्योरेन्सले समग्रमा ८.९१ प्रतिशतले व्यवसाय बढाउँदा कृषि तथा पशुपन्छी बीमा पोलिसीबाट १ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। कम्पनीहरुले आर्जन गरेको यो रकम पोहोर सोही अवधिको तुलनामा २५.९ प्रतिशतले कम हो।

कृषि बीमा व्यवसायबाट कम्पनीहरुले गत वर्ष फागुनसम्म १ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ।

यस्तै, हवाई बीमा व्यवसायमा पनि २.९४ प्रतिशतको गिरावट आएको छ। सामुन्द्रिक बीमा सर्वाधिक २५.१९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरुले सामुन्द्रिक बीमाबाट ८ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।

गभर्नर नियुक्तिमा नयाँ मापदण्ड, हट्यो उमेर हद

नेपाल राष्ट्र बैंकको गभर्नरको मापदण्ड परिवर्तन भएको छ । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ । यसबाट ६५ वर्ष नाघेका जोसुकैलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ।

मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। अहिले त्यो बुँदा नै हटाइएको छ।

२०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको उल्लेख छ। राष्ट्र बैंकको २३ गतेपछि रिक्त हुने गभर्नर पदका लागि ६५ वर्ष उमेर कटेका डा.रवीन्द्र पाण्डे र राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा छन्।क्षेत्री २०१५ साल कात्तिक ८ गते जन्मिएका हुन्।

उनी २०७४ कात्तिक ७ गते मुख्यसचिव पदबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए। यस्तै पाण्डे सन् १९५५ मा जन्मेका हुन्। उनी ७ वर्ष राष्ट्र बैंकको कार्यकारी निर्देशकको रूपमा काम गरि १५ वर्षअघि अवकाश पाएका थिए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समयावधि यही चैत २४ गते सकिँदै छ। गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन भइसकेको छ।

एकैदिन ४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा एकैदिन ४ अर्बले निक्षेप बढेको छ । राष्ट्र बैंकको चैत ११ र १२ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा वृद्धि भएको देखाएको हो ।

तथ्यांकअनुसार चैत ११ गते ६७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि ४ अर्बको वृद्धि देखिएको छ । चैत ११ गते ६० खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । ११ गते ५४ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर रहेको छ ।

चैत ११ गते ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत रहेको छ।

बैंकहरुले बढाए सुनचाँदी धितो कर्जा, कुन बैंकको कति ?

बैंक तथा वित्तीय संस्थाहरुले सुन–चाँदी धितो कर्जा बढाएका छन् । एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ३१.६४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ माघ मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअवधिमा ६ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

१४ बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छन् । २०८० माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष १६ बैंकले सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका थिए । बैंकहरुले सुनको बजार मूल्यका आधारमा नियम अनुसार धितो मूल्यांकन गरेर ग्राहकहरुलाई कर्जा दिने गर्दछन् ।

गत वर्ष देखि नै सुनको भाउमा उच्च वृद्धि भएको हो । जसका कारण बैंकहरुले सुन–चाँदीको धितोमा दिने कर्जा रकम पनि बढेको अनुमान गर्न सकिन्छ । भ्यालुएसन बढ्दा कर्जाको मात्रा पनि बढ्न सक्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसअवधिमा सबैभन्दा धेरै सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गर्नेमा नेपाल बैंक रहेको छ । यस बैंकले सुन–चाँदी धितो राखेर २८ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर २३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, विदेशी साझेदारी रहेको हिमालयन, स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने यो शीर्षकमा कुनै कर्जा प्रवाह नगरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले पनि यो शीर्षकमा कुनै कर्जा प्रवाह गरेका छैनन । एक वर्षको अवधिमा ४ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने १० वटा बैंकको बढेको छ ।

केन्द्रीय बैंकको माघ मसान्तसम्मको तथ्यांकअनुसार सुन–चाँदी धितो राखेर समग्रमा बैंक तथा वित्तीय संस्थाहरुले (विकास बैंक तथा फाइनान्स कम्पनीहरुसमेत) ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अघिल्लो वर्षको यसैअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुन–चाँदी धितो राखेर ५३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फागुनमा घरजग्गा कारोबार : चार अर्ब राजस्व संकलन

घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई ‘बेबी वार्मर’

ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ ।बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्व ध्यानमा राखी बेबी वार्मर सहयोग स्वरूप प्रदान गरेको जनाएको छ ।

नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन जीवनरक्षक चिकित्सा उपकरण बेबी वार्मर (न्यानो नानी) प्रयोग गरिन्छ ।

बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अतिदुर्गम चार स्थानमा ती मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकता मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका ती स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो ।

विभिन्न कार्यक्रम मार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा ती बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकको पहलमा बैतडी दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका–२ सर्मौली अवस्थित सर्मौली हेल्थ पोस्ट र अपि हिमाल गाउँपालिका–५ सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।

यस अतिरिक्त बैंकले बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकाय पनि थप उत्साहित भएका छन् ।

त्यस अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको थियो ।

ज्ञानेन्द्रसँग बालेनले कुन–कुन शीर्षकमा मागे जरिवाना ?

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

 

महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट दिन थाल्यो सुन कर्जा

महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा शुभारम्भ गरेको छ । भैरहवामा आयोजित समारोहका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख एवं शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरुवात गरिएको हो ।

ग्राहकहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज पहुँच सहित सुन कर्जा सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले भैरहवा शाखाबाट सरल र भरपर्दो प्रक्रियामार्फत सुन धितो राखी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार, आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न यो सेवा प्रभावकारी बन्नेछ । साथै, सुरक्षित वित्तीय व्यवस्थापन तथा नवीनतम बैंकिङ सेवाहरू उपलब्ध गराउने बैंकको लक्ष्यअनुरूप यो कदम उठाइएको हो ।

महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै आफ्नो ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ । बैंकले आगामी दिनहरूमा पनि ग्राहक हितलाई केन्द्रमा राखी थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

परम्परागत खेलकुदको संरक्षणमा एभरेष्ट बैंक, २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य द्वारा क्यालेन्डर अनावरण गरिनुका साथै कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरू समेट्दै एभरेष्ट बैंकले प्रत्येक वर्ष आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ ।

बैंकले परम्परागत खेलकुदको महत्व उजागर गर्दै नेपाली पहिचान प्रवर्द्धन गर्न यो क्यालेन्डर उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई होटल तथा रिसोर्टको सेवामा छुट

नेपाल एसबिआई बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटल क्रिस्टल पशुपति, काठमाडौंसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार, बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले दुसित थानी हिमालयन रिसोर्टमा खाद्य, पेय पदार्थ तथा अन्य सेवामा १५ प्रतिशत छुट पाउनेछन् । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र रिसोर्टकी सह-निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठबीच हस्ताक्षर आदानप्रदान भएको थियो ।

त्यसैगरी, नेपाल एसबिआई बैंक र होटल क्रिस्टल पशुपति, काठमाडौंबीच भएको अर्को सम्झौताअनुसार, बैंकका ग्राहकहरूले खाद्य, पेय पदार्थ र आवास सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा र होटल क्रिस्टल पशुपतिका निर्देशक रोशन सुवालबीच हस्ताक्षर आदानप्रदान गरिएको थियो ।

उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपिराज पन्त, तथा बैंक र होटलका अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले ग्राहकहरूलाई अझ सहज र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टहरूसँग सहकार्य गर्दै आएको छ ।