राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले आज शपथ ग्रहण गरेका छन् । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा मन्त्रालयमै शपथ दिलाइएको हो।
श्रेष्ठलाई कम्पनीका अध्यक्ष तथा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले चार वर्षको कार्यकालका लागि शपथ गराएका हुन्। शपथपूर्व श्रेष्ठ जनकपुर इञ्जिनीयरिङ कलेज, ललितपुरका प्रिन्सिपल थिए। प्रविधिमा राम्रो पकड बनाएका श्रेष्ठको नियुक्तिसँगै कम्पनीमा नयाँ ऊर्जा संचार हुने विश्वास गरिएको छ।
शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भइसके पनि प्रसारण लाइन अभावले उत्पादन खेर गइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अब यस्तो समस्या दोहोरिन नदिने गरी काम गर्न आग्रह गरेका छन्।
कम्पनीका अध्यक्ष आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण पूर्वाधार निर्माणलाई अघि बढाइसकेको बताउँदै, निजी क्षेत्रको सहभागितासहित योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नवनियुक्त सिइओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीको संस्थागत क्षमता विस्तार, गुणस्तरीय सेवा र परिणाममुखी कार्यशैली अपनाउने बताएका छन्।
अब पाँचसय सम्मको रकम भुक्तानीमा शुल्क नलाग्ने
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले चेक प्रणाली अन्तर्गतको ‘कनेक्ट आईपीएस’ मार्फत हुने रु ५०० सम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क पूर्णरूपमा हटाएको छ। यससँगै डिजिटल माध्यमबाट साना रकमको कारोबार गर्न प्रयोगकर्ताहरूलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
एनसीएचएलले रु ५०० सम्मको रकमको फण्ड ट्रान्सफरमा कनेक्ट आईपीएसको वेब तथा मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग सेवा, साथै वालेटमा गरिने भुक्तानीहरूलाई निःशुल्क बनाएको हो। चैत्र १९ गतेदेखि लागू भएको यो सुविधा क्रमिक रूपमा अन्य बैंक तथा वालेट प्रणालीमा पनि लागू हुँदैछ।
कनेक्ट आईपीएस मार्फत गरिने अन्य कारोबारमा भने पूर्ववत् रूपमा रु २ देखि रु ८ सम्मको सेवा शुल्क कायम रहेको छ। यसमा पनि लागू हुने कर तथा शुल्क छुट्टै थपिने व्यवस्था यथावत् छ।
एनसीएचएलका अनुसार, सन् २०२२/२३ मा कनेक्ट आईपीएस मार्फत ५,६९७ अर्ब रुपैयाँ बराबरको ७ करोड ५६ लाख कारोबारहरू फर्छ्योट भएका थिए। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै ४,५५३ अर्ब रुपैयाँ बराबरको ६ करोड ८३ लाख कारोबार फर्छ्योट भइसकेको छ।
हालसम्म ५२ वटा बैंक तथा वित्तीय संस्थाको मोबाइल एपमा कनेक्ट आईपीएस फण्ड ट्रान्सफर सेवा उपलब्ध छ भने १३ भन्दा बढी डिजिटल वालेटमा पनि बैंक खाताबाट सिधा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
‘कनेक्ट आईपीएस प्रणालीले सरकारी राजस्वदेखि बीमा, सहकारी, शिक्षासम्बन्धी भुक्तानीहरूसमेत सहज र पारदर्शी बनाउँदै आएको छ। प्रणालीमार्फत प्रति कारोबार रु २० लाखसम्म तथा निश्चित च्यानलमार्फत एउटै बैंकमा रु १ करोडसम्मको कारोबार गर्न सकिने सीमा तोकिएको छ।
सिद्धार्थ बैंकका ग्राहकले क्यापिटल हस्पिटलमा २०% सम्म छुट पाउने
सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बजारमा घट्यो गहनाको माग
भाउ महँगिंदै गएपछि सुन बैंकमा स्टक बस्न थालेको छ। केही दिनयता सुनको मूल्य निरन्तरजसो बढेर तोलाकै एक लाख ८० हजार नजिक पुगेकाले तथा चैत विवाहको समय पनि नभएकाले मागमा कमी आएको छ।
फागुनमा बिहेको लगनका कारण सुन खपत बढेकामा अहिले स्टक बढेको छ। चैत लागेपछि बजारमा सुनको मागमा कमी आएकाले बैंकमा स्टक बढेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। एसोसिएसनका अनुसार हाल बैंकमा १७३ केजी सुन स्टक छ। त्यसमध्ये १०३ केजी उपत्यका बाहिर र ७० केजी उपत्यकाका लागि आयात गरिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश रत्न शाक्यले भाउ वृद्धि र अफसिजनले बजारमा सुनको माग घटेको बताए। ‘यतिखेर अफसिजन हो। भाउ पनि महँगो छ। त्यही कारण सुन बैंकमा स्टक बसेको हो,’ उनले भने, ‘वैशाखमा विवाहको लगन भएकाले माग बढ्छ। तर, भाउले पनि कारोबार तय हुन्छ।’
उनका अनुसार अहिले गहना बेच्नेहरु बढेका छन्।
२५ करोड बरामदपछि पौडेल मोबाइल अफ गरेर फरार
दुई साताअघि काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिक नारायण पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। राजस्व अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिनुका साथै पौडेलको बैंक खाता, जग्गा जमिन लगायत सम्पत्ति रोक्का गरेको छ।
पौडेल भने प्रहरीले ट्रकसहित २५ करोड रुपैयाँ बरामद गरेदेखि नै फरार छन्। उनको मोबाइल पनि त्यही दिनदेखि अफ भएको देखिएको छ। विभागले गरेको अनुसन्धानमा ट्रक चालक कुसाङ लामाले पक्राउ गर्नुअघि पौडेलसँग फोन सम्पर्क गरेको पाइएको छ।
‘तथ्य प्रमाण र पृष्ठभूमि हेर्दा २५ करोडमा मालिक नारायण पौडेल नै भएको देखिन्छ। उनी समातिएपछि थप खुल्ने छ,’ विभागका महानिर्देशक चण्डिराज घिमिरेले भने।
विभागले इन्टेलिजेन्स र विज्ञ अनुसन्धान टोलीबाट विदेशी मुद्राको मालिक पौडेल भएको पत्ता लगाएको हो। पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको सीडीआर, सीसीटिभी फुटेज र डिजिटल डिभाइस विश्लेषण गर्नुका साथै उनको घर, कारोबारस्थल र गोदाम खानतलासी गरी विभिन्न प्रमाण विभागले बरामद गरेको हो।
विभागले मंगलबार पौडेलको टोखा-१० स्थित घरमा छापा मार्दा त्यहाँ एक जना कुरुवा मात्र भेटिएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते राति काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको ट्रक टोखा झोरबाट नियन्त्रणमा लिएको थियो।
ट्रकमा चालक बस्ने स्थान माथिको क्याबिनमा फल्स बटम बनाइ खैरो रंगको टेपले बेरेको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर भेटिएको थियो। प्रहरीले ट्रक चालक कुसाङलाई त्यतिबेलै पक्राउ गरेको थियो।
पौडेल सिन्धुपाल्चोकको भोटेकोशीका हुन्। सुरुमा खासाको व्यापारमा संलग्न पौडेल माओवादी शान्ति प्रक्रियामा आएपछि रक्तचन्दन तस्करीमा सामेल भए। रक्तचन्दन तस्करीबाट राम्रै रकम आर्जन गरेका पौडेल खासाको व्यापार सेलाएपछि सुन तस्करीमा लागे।
पौडेल यसअघि विभिन्न प्रकरणमा पक्राउ परिसकेका व्यापारी हुन्। केही वर्षअघि डलर काण्डमा पक्राउ परेका पौडेललाई साढे ४ वर्षअघि महाराजगञ्जस्थित आफ्नै घरमा जुवाखाल चलाएबापत प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिखेर पौडेललाई रिहा गर्न तत्कालीन सभामुख अग्नि सापकोटाले दबाब दिएको प्रहरी स्रोतले बतायो।
नारायण भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल र हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष बच्चु पौडेलका आफ्नै दाइ हुन्। राजकुमार २०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित भएकामा बच्चु कांग्रेस समर्थित हुन्।
उनीहरुका चार दाजुभाइमध्ये ध्रुव एमालेका जिल्लास्तरीय नेता हुन्। उनी २०५४ मा तत्कालीन फुप्लिङकट्टी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। ध्रुव १२ वर्षअघि रक्तचन्दन तस्करीमा पक्राउ परेका थिए भने राजकुमारविरुद्ध भोटेकोशी गाउँपालिका अध्यक्ष रहेकै बेला सुन तस्करीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।
झनै सस्तियो कर्जाको ब्याजदर
बैंकहरुको आधारदर निरन्तर घट्दै गएको छ ।आधारदर घट्दै जाँदा बैंकहरुको ब्याजदर पनि घट्दै गएको छ। जसले गर्दा कर्जा झनै सस्तो भएको छ । पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधारदर ०.१४ प्रतिशत विन्दुले घटेको छ। चैत महिनाका लागि बैंकहरुको औसत आधारदर ६.४८ प्रतिशत निर्धारण भएको छ। फागुनमा औसत आधारदर ६.६२ प्रतिशत थियो। अहिले ४ बैंकको आधारदर ६ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५.२८ प्रतिशत, एभरेस्ट बैंकको ५.४६ प्रतिशत र नेपाल बैंकको ५.९६ प्रतिशत छ। १४ बैंकको आधारदर ७ प्रतिशतभन्दा कम छ। सबैभन्दा धेरै बेसरेट हुनेमा एनआईसी एसिया बैंक रहेको छ। यसको यस्तो रेट ७.४१ प्रतिशत छ।
यस्तै प्राइम कमर्सियल बैंकको औसत आधारदर ७ प्रतिशत रहँदा लक्ष्मी सनराइजको ६.९३ प्रतिशत, कुमारीको ६. ९९ प्रतिशत, प्रभु बैंकको ६.९३ प्रतिशत छ। तथ्यांंकअनुसार नेपाल एसबीआई बैंकको आधारदर ६.८५ प्रतिशत हुँदा हिमालयनको ६.७७ प्रतिशत, सिद्धार्थको ६.६९ प्रतिशत र माछापुच्छ्रेको ६.६८ प्रतिशत छ।
यस्तै सानिमा बैंकको आधारदर चैत महिनामा ६.६ प्रतिशत हुँदा एनएमबी बैंको आधारदर ६.५९ प्रतिशत, ग्लोबल आइएमईको ६.५६ प्रतिशत, कृषि विकासको ६.५२ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६ प्रतिशत र नबिल बैंकको ६.०५ प्रतिशत छ। चैत महिनामा नेपाल बैंकसहित ४ बैंकको आधारदर ६ प्रतिशतभन्दा कम छ। जसअनुसार नेपाल बैंकको आधारदर ५.९६ प्रतिशत रहँदा एभरेस्ट बैंकको ५.४६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५.२८ प्रतिशत र स्ट्यान्डर्ड चार्टड बैंकको ५.०३ प्रतिशत छ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधारदर पनि तल झर्दै आएको हो। आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ। तसर्थ, आधारदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ।
पछिल्लो ८ महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह विस्तारै बढ्न थालेको देखिन्छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को साउनदेखि फागुन मसान्तसम्ममा बैंकहरुको कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेर ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। जसअनुसार पछिल्लो ८ महिनामा निक्षेप संकलन २ अर्ब ८२ करोड र कर्जा लगानी २ खर्ब ७९ अर्ब रुपैयाँले बढेको छ।
प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश
सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझो योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।
अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ चैत १७ गते दायर गरेको रिट निवेदनमा उहाँको नियुक्ति बदर गर्न माग गरिएको छ ।
मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।
लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश, निक्षेप संकलन साढे ३ खर्ब पुग्यो
लक्ष्मी सनराइज बैंक २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष सफलताका साथ पार गरेको बैंक आजदेखि २४औँ वर्षमा प्रवेश गरेको हो ।
विसं २०५८ चैत्र ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले विसं २०५८ चैत्र १९ गतदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेको बैंकले लाखौं ग्राहकबाट निक्षेप संकलनको कार्य गर्दै आएको छ ।
बैंकको अध्यक्षमा रमण नेपाल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह कार्यरत छन् । डिजिटल बैंकिङलाई प्राथमकिताका साथ अघि बढाएको बैंकमा ५१.०५ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४८.९५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ ।
पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख बढी सक्रिय ग्राहक छन् । बैंकमा २ हजार ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
विभिन्न ८ वटा संस्थामा लगानी रहेको यस बैंकका ३ वटा सहायक कम्पनी छन् । ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको ४ खर्ब १० अर्ब रुपैयाँको एसेट पुगेको छ । २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।
महिला सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न
नबिल बैंकले सोमबार काठमाण्डौमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ’, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । ‘अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ’, उनले भने, ‘नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।’ उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
ज्ञवालीले भने, ‘बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।’ सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनको भनाइ थियो ।
‘महिलालाई पुरुषसँगै हिँड्न सजिलो छैन, उहाँहरु घरदेखि कार्यालयको काममा व्यस्त हुनुपर्ने र विभिन्न जिम्मेवारीका कारण बीचबाटोमै अल्झनुपर्ने समस्या पनि छ’, उनले भने, ‘त्यसैले पनि हरेक जसो क्षेत्रमा महिलाहरुको अपेक्षाकृत प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले समावेशी कार्यस्थल निर्माणका लागि महिलाको सहभागिता बढाउन जरुरी छ ।’ आफूहरुले महिलाको कुरा गर्ने भन्दा पनि लैंगिक समानतामा जोड दिएको आएको उनको भनाइ थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । ‘नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।’
महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गरिन् । ‘महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर संकोच आफ्नो रहरहरु पछ्याउन प्रोत्साहित गर्नुपर्छ’, उनले भनिन् । महिलाहरुको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठूलो प्रभाव पार्ने उनको भनाइ थियो । उनले पुरुषहरुको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको बताइन् ।
कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । छलफलका क्रममा पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा। रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो ।
नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाण्डौ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त ¥याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।
बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै, मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै, नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो । नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर मंगलबार सूचीकृत भएको हो।
एसबिआई बैंकको ३९ लाख ९० हजार ५७.८६ कित्ता सेयर थपिएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, फवार्ड माइक्रोफाइनान्सको १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सिटिजन लाइफको साधारणसभाबाट २८.४ प्रतिशत लाभांश पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा सम्पन्न भएको जनााएको छ ।
सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ताव पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।
यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको सार्वजनिक भएको थियो । तर उनको नियुक्ती मुख्यसचिवबाट प्रमाणित नभएको जनाइएको छ ।
नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।












