जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

रेमिट्यान्सलाई विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने, अस्वभाविक कारोबारको जानकारी तत्काल केन्द्रीय बैंकलाई गराउनुपर्ने

नेपाल राष्ट्र बैंकले कोभिड १९ को विद्यमान अवस्था कायम रहेसम्मको लागि विप्रेषण भइ आएका सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नु पर्ने ब्यवस्था गरेको छ।

केन्द्रिय बैंकले आइतबार सूचना जारी गर्दै विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली, उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, सोही खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुने गरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र उक्त रकम नेपालमा प्राप्त गरिसके पश्चात सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरुप भुक्तानी गर्नसक्ने जनाएकाे छ।

बिदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान ब्यवस्था अनुरुप उपलब्ध गराउनु पर्ने र यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक वित्तीय संस्था एवं कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको छ।

त्यसैगरी AML/CFT सम्बन्धमा कायम रहेको विद्यमान व्यवस्था पुर्ण रुपले कार्यन्वयन गर्नुपर्ने व्यवस्था गरेको छ भने कारोबार गर्दा अस्वभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने छ।

केन्द्रिय बैंकले कारोबार गर्ने रकमको सिमा प्रति दिन प्रति पटक प्रति ब्यक्ति अधिकतम अमेरिकी डलर १५०० हुनुपर्ने ब्यवस्था गरेको छ

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्यो कारोबार

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ

पूर्वराजाका तस्विर र फोहोर नोट नचल्ने

राष्ट्र बैंकले पूर्व राजाहरुको तस्बिर अंकित नोट  प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ। आइतबार जारी गरेको नेपाल राष्ट्र बैंकले परिपत्रमा पूर्व राजाका तस्बिर अंकित नोट पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले पुराना झुत्रिएको, मक्किएको, जलेको, गलेको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्कासनका गर्न नमिल्दैन निर्देशनमा जनाएको छ ।

विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ति गर्ने कर्मचारीको नामलगायतका विवरण खुलाउनु पर्ने छ। नोटमा कुनै पनि प्रकारको स्टिच लगाउन पाइने छैन।

बैक तथा वित्तीय संस्थाहरुले अब नोटको वर्गिकरण गर्न पर्ने भएको छ । एटिएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरि चलनचल्तीमा पठाउन योग्य  र चलनचल्तीमा पठाउन अयोग्य गरि नोटलाई तीन वटामा वर्गिकरण गर्न पर्ने छ ।

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई दियो पीपीई

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।

बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास छ ।

त्यसैगरी, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल बंगलादेश बैंकले सरकारलाई दियो एक करोड ४५ लाख रुपैयाँ

नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका थिए ।

एनआईसी एशिया बैंकमा कर्जा ग्राहकहरुलाई टेलिफोनमा धम्कीः बम्पर छुटको योजना की लोकप्रियताको नाटक गर्भनर साब ?

नेपालको सधै चर्चा र विवादमा फस्दै आएका माडवाडी समुदायको बैंक एनआईसी एशिया बैंकले कोरोना भाईरसको महामारीका बीच कर्जाका अधिकाशं साना ग्राहकहरुलाई किस्ता तिर्न आउन धम्की दिएको खुलेको छ ।

नेपाल राष्ट्र बैंकले किस्ता बुझाउन छुट दिएको छ । २ प्रतिशत ब्याज घटाउन निर्देशन दिएको छ । तर, एनआईसी एशिया बैंक नेतृत्वले आफ्ना शाखा प्रमुख मार्फत कर्जाको किस्ता नबुझाए कालो सूचिमा राख्ने भनी लगातार फोन गरि दुख दिएको गुनासो आर्थिक बजार न्यूज डटकममा आएको छ ।

कपन शाखा न्यूरोड शाखाबाट कर्जाका ग्राहकलाई टेलिफोनबाट कर्जाको साँवा ब्याज तिर्न नआए कालो सूचीमा राख्ने र थप कर्जा चाहिए अब उप्रान्त नदिने भनी पटक पटक फोन गरि धम्काउने गरेको एक ग्राहकले आर्थिक बजार न्यूज डटकमको अफिसमै आएर गुनासो पोखे ।
नेपाल २ महिना देखि लकडाउनमै छ । ४ जनाको कोरोना भाईरसका कारण दुखद निधन भएको छ । करिब ७ सय नेपाली यो रोगसंग लडिएरहेका छन् । तर, आफूलाई ठूलो र लोकप्रिय बैंक बताउँदै आएको एनआईसी एशिया बैंकले घर भित्र लकडाउन पालना गरि रोगबाट बच्न बसेका ग्राहकहरुलाई बैंक आएर कर्जा भुक्तानी गर्न लगातार टेलिफोन मार्फत धम्की दिइरहेको खुलेको छ ।

के एनआईसी एशिया बैंक नेतृत्वले लकडाउन तोड भनेकै हो त गर्भनर साब ? यस विषयको खोजी अब गरिनु पर्दछ । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज घटाउन निर्देशन नै जारी गरेपनि २६ वाणिज्य बैंकले अझै सो निर्देशन कार्यन्वयन गरेको अवस्था छैन । तर, एनआईसी एशिया बैंकले २ प्रतिशत र अर्को आफू खुशी १० प्रतिशत छुट दिने नाटक मञ्चन गरि सोझा सिधा ग्राहक झुकाउने काम गरेको खुलेको छ ।
बैंक उच्च स्रोत भन्दछः– एनआईसी एशिया बैंकले सञ्चलकहरुका नजिकमा साथी भाइहरु र आफ्न्ताले लिएका ठूला कर्जामा छुट दिने तर साना कर्जाका ग्राहकलाई निमोठ्ने काम गरेको छ । यो कस्तो बैंकिङ्ग हो गर्भनर साब ?

कोरोना भाईरस रोगको महामारी देशमा बढ्दै गएको विषम र विपतका बेला सयौ करारका कर्मचारीको रोजीरोटी बन्द गरि निस्काशन गरेको एनआईसी एशिया बैंकले फेरि साना कर्जाका ग्राहकको रोजीरोटी बन्द गर्ने काम शुरु गरेको देखिन्छ । कहाँ छ राष्ट्र बैंक ? एनआईसी एशिया बैंकलाई कुनै कानुन लाग्दैन ? जे गर्न पनि छुट ? गर्भनर साब ?

नेपाल बैंकर्स संघले २ प्रतिशत ब्याज छुट दिन नमानेका बेला बैंकर्स संघलाई चुनौती दिँदै अर्को १० प्रतिशत छुट दिने बैंक नेतृत्व र संचालक समितिका बारे बैंकर्स संघ किन बोल्दैन ? डिपोजिट ब्याजदर बढाएको नाममा तत्कालीन सीइओ लक्ष्मण रिसालले बैंकबाट जागिर छोडेका थिए । तर, आज जे पनि गर्ने सीइओ रोशन कुमार न्यौपानेलाई चाहि केही नहुने गर्भनर साब ?

रिब र निमुखा लाखौं नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटबाट देशको प्रधानमन्त्री भन्दा बढि वार्षिक ३ करोड भन्दा बढि तलब भत्ता खाने बैंकका सीइओ न्यौपाने र उनीको कोर टिम जो बैंकका कर्जा ग्राहकलाई शुरुमा फकाउने कर्जा दिए पछि फसाउने त्यस पछि धम्काउने काम गरिरहेका छन् । यो अत्यचार हो कि होइन गर्भनर साब ?

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा दिएर लगातार जनता झुक्याउदै आएको एनआईसी एशिया बैंकले बैंक कर्मचारीहरुको श्रम शोषण समेत गरेको खुलेको छ । विहान ८ बजे देखि राती १० बजेसम्म कर्मचारीलाई काम लगाउने तर भत्ता नदिने गरेको एक कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग बताईन ।

मानिन्छ अधिकाशं महिला कर्मचारीहरुले त राती काम गर्नु परेकै कारण एनआईसी एशिया बैंक छोडेर अन्य वाणिज्य बैंकमा जागिर खान पुगेका छन् । त कतिको त घर परिवार नै विग्रेको समेत एक कर्मचारीले बताएन् गर्भनर साब ?

अधिकाशं उच्च कर्मचारीहरुलाई अवकासको प्रोडक्ट ल्याएर हटाएर अनुभव नै नभएका ८÷१० वर्ष पनि बैंकिङ्ग नगरेकाहरुको भीड बन्दै गएको एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको बैकिङ्ग अनुभव १ दर्शकको पनि छैन । अनि २६ बैंकलाई चुनौती दिने यो कस्तो बैकिङ्ग हो ?

एक संचालककै भनाई राख्न हो भने बैंक संचाालक समितिबाटै सीइओको कार्यकारी अधिकार प्रयोग गरि चलाईएको छ । सीइओ रोशन कुमार न्यौपाने त हस्तक्षेप गरि निर्णयलाई अधिकारी बनाउने पात्र मात्रै हुँ ।

यो सबै थाहा हुँदा हुँदै तत्कालीन गर्भनर डा. चिरनजीवी नेपालले कुनै निर्देशन दिएन । बरु एनआईसी एशिया बैंकलाई थप काम गर्न सजिलो पार्दै चुप लागेर खुकुलो पारी दिए ती संचालकले दाबी गरे ।

अहिले राष्ट्र बैंकले नयाँ गर्भनर महाप्रसाद अधिकारी पाएको छ । उहाँले २७ वटै वाणिज्य बैंकलाई एउटै डालोमा राखी हेर्नु पर्दछ । कसैलाई काखा त कसैलाई पाखा गर्न पाइदैन । आफूलाई चाहिदा सयौ मान्छेलाई करारमा कर्मचारी नियम विपरित भर्ना गरि घर घरमा गएर खाता खोल्न लगाउने अनि कोरोनाको महामारीका बीच हटाउने यो मानवता हो कि दादागिरी हो गर्भनर साब ? यति मात्रै होइन डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी मार्फत दर्जनौ कारवाहीबाट एनआईसी एशिया बैंक बचेको खुलेको छ । यसको खोजी हामीले शुरु गरेका छौं । सचेत भया ।

सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए ।

उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो ।

नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् ।

विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए ।

सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ ।

अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए

नेपाल बैंकले ब्याजदरमा २ प्रतिशत छुट दिने

नेपाल बैंकले चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले छुट दिने भएको छ । बैंकले बैशाख १ गतेदेखी लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाको ब्याजदरमा सो मात्राको छुट दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले कम गरी २०७६/७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेठ र असार) को ब्याज गणना गर्न निर्देशन दिए बमोजिम नेपाल बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपुँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदीको हकमा चैत मसान्तको आधारदर ७.८२ मा लगाईएको प्रिमियममा २ प्रतिशत बिन्दूले छुट दिने भएकाे छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणिको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाखदेखि असारसम्मको अबधिको ब्याजमा २ प्रतिशत बिन्दूले छुट पाउनेछन् ।

२०७७ साल बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबरकै अर्थात ७.८२ प्रतिशत कै न्यूनतम ब्याजदर सुबिधा प्राप्त गर्न सक्नेछन् ।

बन्दाबन्दीको यस बिषम परिस्थितिमा पनि नेपाल बैंकले संभव भएसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ बजेदेखी अपरान्ह २ बजेसम्म संचालन गर्दै आईरहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोरोना सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

बैंकले घटाए बेस रेट, सस्तो भयो ऋणको ब्याजदर

मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् ।

पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको छ । ब्याजदर कायम गर्ने आधार दर घटेकाले अब ऋणको ब्याजदर पनि सस्तिएको छ ।

बेसर रेट सबै भन्दा कम हुनेमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक देखिएको छ भने बेस रेट धेरै बढी हुनेमा सिभिल बैंक देखिएको छ । यसको अर्थ कर्जाको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकमा अन्य बैंकको तुलनामा सस्तो पर्ने छ भने सिभिल बैंकमा सबैभन्दा महंगो पर्नेछ ।

अधिकांशको बेस रेट घट्दा रावा बैंकको केही बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६.६० प्रतिशत रहेको यस बैंकको बेस रेट ९ महिनामा बढेर ६.७२ प्रतिशत पुगेको छ । यद्यपि, सबैभन्दा कम बेस रेट भएको बैंक यही हो ।

कम बेस रेट हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टर्ड बैंक देखिएको छ । यस बैंकको बेस रेट केही सुधार समेत भएको छ । पुस मसान्तसम्म ७.३३ प्रतिशत रहेको स्टाण्डर्ड चार्टर्डको बेस रेट चैत मसान्तमा घटेर ७.२७ मा झरेको छ ।

यसैगरी तेस्रो नम्बरमा नेपाल बैंक ७.४९, चौथौ नम्बरमा नविल बैंक ७.८२ र पाँचौ नम्बरमा एभरेष्ट बैंकको ८.३४ प्रतिशत रहेको छ । यी तीन वटै बैंकले बेस रेटमा सुधार गरेका छन् । यी बैंकहरुको पुस यी मसान्तसम्म क्रमशः ७.८२, ८.१० र ८.४६ प्रतिशत थियो ।

के हो बेस रेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरेको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

२७ बैंकहरुको यस्तो छ बेस रेट

सि.नं. बैंकको नाम बेस रेट (चैत मसान्त) बेस रेट (पुस मसान्त)
१. राष्ट्रिय वाणिज्य बैंक ६.७२ प्रतिशत ६.६० प्रतिशत
२. स्टाण्डर्ड चार्टर्ड बैंक ७.२७ प्रतिशत ७.३३ प्रतिशत
३. नेपाल बैंक ७.४९ प्रतिशत ७.८२ प्रतिशत
४. नविल बैंक ७.८२ प्रतिशत ८.१० प्रतिशत
५. एभरेष्ट बैंक ८.३४ प्रतिशत ८.४६ प्रतिशत
६. नेपाल इन्भेष्टमेन्ट बैंक ८.५३ प्रतिशत ८.५३ प्रतिशत
७. हिमालयन बैंक ८.८७ प्रतिशत ८.९२ प्रतिशत
८. प्रभु बैंक ८.९८ प्रतिशत ९.४५ प्रतिशत
९. सानिमा बैंक ९.२५ प्रतिशत ९.२९ प्रतिशत
१०. बैंक अफ काठमाण्डु ९.३३ प्रतिशत ९.९९ प्रतिशत
११. ग्लोबल आईएमई बैंक ९.४१ प्रतिशत ९.६४ प्रतिशत
१२. एनआईसी एशिया बैंक ९.६१ प्रतिशत ९.६२ प्रतिशत
१३. लक्ष्मी बैंक ९.७९ प्रतिशत १०.०९ प्रतिशत
१४. प्राइम कमर्सियल बैंक ९.८५ प्रतिशत ९.४५ प्रतिशत
१५. नेपाल एसबीआई बैंक ९.८६ प्रतिशत ९.९४ प्रतिशत
१६. सिटिजन्स बैंक इन्टरनेशनल ९.८८ प्रतिशत १०.३५ प्रतिशत
१७. नेपाल बंगलादेश बैंक ९.८९ प्रतिशत ९.९२ प्रतिशत
१८. मेगा बैंक ९.९४ प्रतिशत ९.७६ प्रतिशत
१९. कृषि विकास बैंक ९.९७ प्रतिशत १०.१७ प्रतिशत
२०. माछापुच्छ्रे बैंक ९.९७ प्रतिशत १०.२६ प्रतिशत
२१. सिद्धार्थ बैंक ९.९८ प्रतिशत १०.०४ प्रतिशत
२२. एनएमबि बैंक ९.९९ प्रतिशत १०.१२ प्रतिशत
२३. सनराईज बैंक १०.०२ प्रतिशत ९.९९ प्रतिशत
२४. सेञ्चुरी कमर्सियल बैंक १०.२७ प्रतिशत १०.३५ प्रतिशत
२५. एनसीसी बैंक १०.३६ प्रतिशत १०.५८ प्रतिशत
२६. कुमारी बैंक १०.६५ प्रतिशत १०.४५ प्रतिशत
२७. सिभिल बैंक १०.९२ प्रतिशत १०.९८ प्रतिशत

नेको इन्स्योरेन्सले लकडाउनको बीच आह्वान गर्यो साधारण सभा

नेको इन्स्योरेन्स इन्स्योरेन्सले लकडाउनको बीच स्थगित २४ औं वार्षिक साधारण सभा पुन: जेठ २३ गते शुक्रबार आह्वान गरेको छ।

यसअघि बैशाख १ गते आह्वान गरिएको साधारण सभा कोरोना भाइरसका कारण देशमा विषम परिस्थितिको सृजना भएपछि कम्पनीले अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको थियो।

कम्पनी सञ्चालक समितिको बैशाख ३१ गते सम्पन्न संचालक समितिको ३८९ औं बैठकले शेयरधनीलाई अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने र १ मिटरको सामाजिक दूरी कायम गरि कुर्सीहरु राखि साधारण सभा गर्ने निर्णय गरेको हो। यस्तै सभामा कम्पनीको इमेल र वेवसाइट मार्फत डिजिटल माध्यमबाट पनि सहभागिता जनाउनसक्ने कम्पनीले जनाएको छ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत कर सहित नगद लाभांश (१० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरि सभाले सभाले आगामी ४ वर्षको लागि संस्थापक समूह (क) बाट ३ जना र समूह (ख) बाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।

सभाले लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण र आव २०७५।७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण छलफल गरि पारित गर्ने प्रस्तावहरु रहेका छन्

कोरोना विरुद्धको लडाइँमा ज्योति विकास बैंकद्वारा एचएफएनसँग सहकार्य

ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) सँग सहकार्य गर्ने सहमति गरेको छ ।

बुधबार बैंकले २ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो ।

बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।

एचएफएनको एन-९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउंदछ। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ।

स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ। एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ।

डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)का कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गर्नुभयो। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।