जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

स्प्रेड घटाएर पनि सानिमा बैंकले ३ प्रतिशतले नाफा बढायोे

चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा सानिमा बैंकको नाफा करिब ३ प्रतिशतले वढेको छ ।

यो अवधिमा निक्षेप तथा कर्जाको ब्याज अन्तर (स्प्रेड) घटाएर पनि बैंकले नाफा ४ करोड ३३ लाख रुपैयाँले बढाएको हो ।

बैंकले गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालु आर्थिक वर्षमा स्प्रेड घटाएको भएपनि नेपाल राष्ट्र बैंकले तोके भन्दा माथि नै छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको स्प्रेड दर ५.०८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैतमा बैंकको स्प्रेड दर ५.६५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले धेरै हो । बैंकले गत आर्थिक वर्षको चैतसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

तर, चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको सेयरधनीलाई वितरण गर्न योग्य नाफाको रुपमा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले बढाएको छ भने फि तथा कमिसन आम्दानी भने २.३२ प्रतिशतले घटेको छ । बैंकको ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा देखिएको समान्य सुधारले खुद नाफामा उल्लेख्य प्रभाव पार्न नसकेको देखिन्छ ।

यस अवधिमा बैंकको कर्मचारी खर्च करिब ११.५२ प्रतिशत बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ५४ करोड २३ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आवको चैतसम्ममा बैंकको निक्षेप एक खर्ब ८० करोड रुपैयाँ रहेको छ भने कर्जा ९२ अर्ब ११ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ७७ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात भने १३.०८ गूणाले बढी छ ।

चालु आर्थिक वर्षकोे चैतसम्ममा बैंकको खराब कर्जा केही बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा ०.१२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ०.३६ प्रतिशत पुगेको छ ।
चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ९.२५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकको आधार ब्याजदर ९.३१ प्रतिशत रहेको थियो

लक्ष्मी बैंकको वितरण योग्य नाफा ४१ करोड ऋणात्मक

चालु आर्थिक वर्ष ०७६/०७७को तेस्रो त्रैमाससम्ममा लक्ष्मी बैंक (LBL) ले १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेपनि वितरण योग्य नाफा ४१ करोड ऋणात्मक रहेको छ ।

नियामकिय जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ ट्रान्सफर गरेसँगै बैंकको वितरण योग्य मुनाफा ऋणात्मक देखिएको थियो ।

यद्यपी बैंकले गत आर्थिक बर्षको यसै अवधिको तुलनामा भने ६ करोड ३ लाख रुपैयाँ बढी नाफा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफामा सुधार भएको छ।

बैंकको खुद नाफामा सामान्य बढेपनि पूँजी वृद्धिको अनुपातमा नबढ्दा प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा बाट १४ रुपैयाँ ८१ पैसामा झरेकोे छ। बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

बैंकले गत चैत सम्ममा ९७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर ९० अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । जसबाट बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको निष्क्रिय कर्जा ०.५८ प्रतिशत बढेर १.७८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ

राष्ट्रिय वाणिज्य बैंकको नाफा १५% घट्यो, वितरणयोग्य नाफा ११५ करोड

चालु आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा १५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२५ प्रतिशतले थोरै हो ।

गत आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको खुद ब्याज आम्दानीमा उच्च गिरावट आएपछि नाफा घटेको हो । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले नेपालमा पनि लकडाउन गरेको अवस्था छ ।

सरकारले चैत ११ देखि लकडाउन गरेको अझै पनि कायम छ । बैंकहरुले त्रैमासको अन्तिम समयमा कर्जा तथा ब्याज उठाउन पर्ने समयमा लकडाउन भएको अवस्था र समग्र अर्थतन्त्र नै ठप्प भएकाले ब्याजदरमा छुट दिनुपर्ने तथा कर्जा तथा ब्याज असुलीको समय थप भएको हुनाले ब्याज आम्दानीमा गिरावट आएको हो ।

गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा बैंक कस्ट अफ फण्ड करिब दोब्बरले बढेको छ भने आधार ब्यादर घटेको छ । तर, बैंकको निक्षेप तथा कर्जाको ब्याजदर अन्तरमा भने कुनै परिवर्तन आएको छैन । चालु आर्थिक वर्षको चैत्रसम्ममा बैंकको स्प्रे रेट ४.७० प्रतिशत रहेको छ । यो रेट नेपाल राष्ट्र बैंकले तोकेभन्दा केही माथि हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको शेयरधनीलाई वितरण गर्न योग्य नाफा एक अर्ब १५ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ५.८४ प्रतिशतले घटेको छ भने फि तथा कमिसन आम्दानी भने ७.७७ प्रतिशतले बढेको छ । बैंकको ब्याज आम्दानी आएको गिरावटले खुद नाफा घटेको हो । यस अवधिमा बैंकको कर्मचारी खर्च करिब एक करोड ७ लाख रुपैयाँले घटेको छ ।

चालु आवको चैतसम्ममा बैंकले ६ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ४४ करोड ७६ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आवको चैतसम्ममा बैंकको निक्षेप २ खर्ब ४५ करोड रुपैयाँ रहेको छ भने कर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।

चालु आवको चैतसम्ममा बैंक नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि घटेको छ। चालु आवको ९ महिनामा बैंकको प्रतिशेयर आम्दानी ४४.९६ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५१.८१ रुपैयाँ थियो ।

चालु आवको चैतसम्ममा बैंकको खराब कर्जा केही बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा ४.२८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ४.६४ प्रतिशत पुगेको छ । चैतसम्ममा बैंकको आधार ब्याजदर भने बढेर ६.७२ प्रतिशतमा पुगेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर ५.३८ प्रतिशत रहेको थियो

सिद्धार्थ बैंकको खुद नाफा २५ करोडले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा २५ करोड २९ लाख रुपैयाँले खुद नाफामा गिरावट आएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने १५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६३ करोड ४३ लाख र नियामकीय जगेडा अन्तर्गत ८५ करोड ८८ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने ऋणात्मक देखिएको हो।

चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.८९ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ४० करोड ५४ लाख रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ३० अर्ब ३४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपनि बैंकको कर्मचारी र सञ्चालन खर्चमा भएको वृद्धिका कारण सञ्चालन नाफा भने घटेको छ। बैंकले गत आवको चैत मसान्तको तुलनामा ७७ करोड ७० लाखले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा भने २९ करोड रुपैयाँ घटेर १ अर्ब ९७ करोड ९३ लाखमा खुम्चिएको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३६ बाट बढेर २.२४ प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.२८ गुणा , निक्षेप संकलन लागत ७.२३ प्रतिशत, आधारदर ९.९८ प्रतिशत, स्प्रेडदर ५ प्रतिशत र पूँजीकोष अनुपात ११.८६ प्रतिशत रहेको छ

ग्लोबल आइएमई बैंकको निक्षेप २ सय अर्ब बढी, ९ महिनाको नाफा ३ अर्ब माथि

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

जनता बैंकलाई मर्ज गरेको बैंकको जनताको सहित कुल खुद नाफा ३ अर्ब १५ करोड ३९ हजार रुपैयाँ कायम भएको छ । जनता बैंकले मर्जरअघि कमाएको ४५ करोड १३ लाख ३० हजार सहित सो नाफा कायम भएको हो।

यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ५७ करोड ९५ लाख रुपैयाँ मात्र रहेको छ। एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा बृद्धि हुँदा खुद नाफा बढेको हो । यस अवधिमा बैंकको खर्चका साथै खराब कर्जा समेत केहि बढेको छ।

चैत मसान्तसम्ममा बैंकले २ खर्ब १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

१८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा कायम भएको छ। बैंकको जगेडा कोषको आकार ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकको पूँजी बढेअनुसार नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानी केहि खुम्चिएको छ। गत वर्षको यसै अवधिमा २४ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २२ रुपैयाँ १६ पैसामा झरेको छ। जनतालाई गाभेपछि बैंकको चुक्ता पूँजी ८४ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.७६ बिन्दु बढेर १.१४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा, कोषको लागत ६.८४ प्रतिशत, आधार ब्याजदर ९.४१ प्रतिशत, स्प्रेडदर ५.१८ प्रतिशत, र पूँजीकोष अनुपात ११.२० प्रतिशत रहेको छ

धेरै बैंकको लाभांश क्षमता कमजोर हुँदा कृषि विकास बैंकको यस्तो देखियो अवस्था

अधिकांश वाणिज्य बैंकहरुले वितरणयोग्य मुनाफाको आकार कमजोर रहेको वित्तीय विवरण निकालेका छन् । यस बीचमा केही बैंकहरुले भने औसतभन्दा बढी आकारको वितरणयोग्य मुनाफा भएको वित्तीय विवरण निकालिरहेका छन्।

यो सूचीमा कृषि विकास बैंकले पनि आश देखाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मा १ अर्ब २५ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ ।

गत चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफामा १७ करोड २१ लाख रुपैयाँको संकुचन देखिएको हो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.२२ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ ।

खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको खुद नाफामा पनि प्रभाव देखाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३६ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ७८ लाख रुपैयाँले घटेर २ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७६ करोड रुपैंया थियो ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेर्न अर्निङ्ग २ अर्ब ४३ करोड छ ।

प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १३.८६ गुणाले बढी छ

नाफा घट्दा पनि नबिल बन्यो सबैभन्दा धेरै कमाउने बैंक

नबिल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधिकांस सूचकमा गिरावट आएपनि सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो नम्बरमा कायम भएको छ।

बैंकको कोषको लागत बढ्दा खुद ब्याज आम्दानी, संचालन नाफा, खुद नाफाका साथै रिर्टेन अर्निङ तथा प्रतिशेयर आम्दानी समेत घटेको छ । तर पनि ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो नम्बरमा परेको छ। बैंकले यस अवधिमा खराब कर्जा भने केहि घटाउन सफल भएको छ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १९ करोड खुद नाफा कमाएको थियो।

चलु आर्थिक बर्षको ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो स्थानमा नबिल बैंक देखा परेको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई र तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

बैंकको ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ। अन्य बैंकहरुको वितरण योग्य नाफा प्रभावित भइरहदा नविलको भने सामान्य घटेको छ।

एक खर्ब ७१ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४९ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । जसबाट ३ अर्ब ३७ करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप सामान्य बढेको छ भने कर्जा करिब १७ प्रतिशत बढीले बढेको छ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड, शेयरधनी कोषमा २ अर्ब ९५ करोड र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा ०.६४ प्रतिशतबाट घटेर ०.६३ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७१ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ २१ पैसा तथा मूल्य आम्दानी अनुपात १६.८१ गुणा छ ।

बैंकको कोषको लागत ६.५५ प्रतिशत, आधार दर ७.८२ प्रतिशत र स्प्रेड दर ४.३४ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७८.८८ प्रतिशत छ ।

एनएमबि बैंकको तेस्रो त्रैमासमा ३२ करोडले नाफा घटेपनि समग्रमा बढ्यो

एनएमबि बैंक (NMB) को नाफा तेस्रो त्रैमासमा अघिल्लो आवको त्रैमासको तुलनामा ३२ करोड ४० लाख रुपैयाँले घटेपनि समग्रमा भने खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आवको तेस्रो त्रैमास (माघदेखि चैतमा) मा बैंकले ५३ करोड ६६ लाख खुद नाफा आर्जन गरेकोमा चालु आवको यसै अवधिमा ३२ करोड ४० लाख घटेर २२ करोड २५ लाख मात्र नाफा कमाउँदा पनि बैंकको चैतसम्मको कूल नाफा १ अर्ब ८८ करोड ३२ लाख ८३ हजार रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले असुल गनुपर्ने कर्जा तथा ब्याज कारोना भाइरसको माहामारीका कारण सरकारले लगाएको लकडाउनका कारण असुली हुन सकेन भने अर्कोतर्फ चैतसम्म तिर्नुपर्ने साँवा तथा ब्याजतिर्ने समय असार मसान्तसम्म बढाएका कारण पनि बैंकको नाफा प्रभावित बनेको हो।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६३ करोड ६ लाख र नियामकीय जगेडा अन्तर्गत ६६ करोड ४८ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने नाफाको तुलनामा घटेको हो।

चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.६९ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ ३८ लाख, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ७ करोड ९४ लाख र १२ करोड १ लाख रुपैयाँ शेयर प्रिमियम रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपनि सञ्चालन र कर्मचारी खर्चका कारण सञ्चालन नाफा भने घटेको छ। यद्यपी बैंकले ६२ करोड बढी गैह्र सञ्चालन आम्दानी गर्दा नाफा बढेको हो। बैंकले गत आवको चैत मसान्तको तुलनामा १ अर्ब २० करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब २९ करोड ५७ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा संकुचन भएको छ।

चैत मसान्तसम्ममा बैंकको अर्जा असुली हुन नसकेपछि खराब कर्जा अनुपात ०.७९ बाट बढेर २.४८ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०ं१७ गुणा , निक्षेप संकलन लागत ७.०९ प्रतिशत, आधारदर ९.९९ प्रतिशत, स्प्रेडदर ४.८८ प्रतिशत र पूँजीकोष अनुपात १४.२६ प्रतिशत रहेको छ

इन्भेष्टमेन्ट बैंकको कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २४ करोड ७१ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम असुली नभएको ब्याज बापतको रकम व्यवस्था गर्दा बैंकको नाफाको तुलनामा शेयरधनीलाई बाँड्ने रकम निकै थोरै भएको हो।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ८८ करोड ८६ लाख र नियामकीय जगेडा अन्तर्गत १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने अत्यन्त न्यून हो।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा ७ करोड १ लाख रुपैयाँले खुद नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.३८ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ११ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा १ अर्ब २१ करोड ७८ लाख र ३ करोड २६ लाख रुपैयाँ शेयर प्रिमियम रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब १८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी नै घटेपछि शुल्क कमिसन आय र ब्यापारिक तथा अन्य सञ्चालन आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा टेवा पुर्याउन सकेको देखिँदैन। बैंकले गत आवको चैत मसान्तको तुलनामा ३७ करोड ९८ लाखले खुद ब्याज आम्दानी घटेर ४ अर्ब ५३ करोड ५९ लाखमा संकुचित बनेको छ। जसले बैंकको सञ्चालन नाफा पनि १२ करोड १७ लाख घटेर ३ अर्ब ५६ करोड ५७ लाखमा झरेको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २.६७ प्रतिशतमा आएको छ। जसले बैंकको कर्जा नोक्सानी व्यवस्था रकम पनि ९२ करोडबाट घटेर ७७ करोड मात्र व्यवस्था गर्दा पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९५ गुणा, निक्षेप संकलन लागत ६.३८ प्रतिशत, आधारदर ८.५३ प्रतिशत, स्प्रेडदर ५.०१ प्रतिशत र पूँजीकोष अनुपात १२.५९ प्रतिशत रहेको छ

कोरोना संकटबीच प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड

कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। यो अवधिमा बैंकको रिटेन अर्निङ ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ३ अर्ब ३७ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १८ अर्बरुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १६.०३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ४ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुगेको हो।

बैंकको खराब कर्जाको अनुपात २.९५ प्रतिशत रहेको छ भने बेस रेट ८.९८ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७३.७४ प्रतिशत कायम भएको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.८९ रुपैयाँ र पीई रेसियो ११.३१ गुणा रहेको छ ।

फण्डको लागत घटाएर स्प्रेड बढाउँदा समेत स्ट्याण्डर्ड चार्टर्डको नाफा ३ प्रतिशतले मात्र बढ्यो

आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय स्रोतको लागत घटाएर स्प्रेड नेपाल राष्ट्र बैंकले तोकेको सिमा भन्दा माथि गएर पनि नाफामा सामान्य वृद्धि गरेको छ । बैंकले कस्ट अफ फण्ड घटाएर स्प्रेड ५ प्रतिशत भन्दा माथि पुर्याउदा पनि ३ प्रतिशतले मात्र नाफा बढाएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कष्ट अफ फण्ड घटेर ४.९७ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेपको ब्याज अन्तर (स्प्रेड) बढेर ५.३२ प्रतिशत पुगेको छ । यो अवस्थामा बैंकले चैतसम्ममा ३.९२ प्रतिशतको ग्रोथ गरेको हो ।

गत आर्थिक वर्षको चैतसम्ममा बैंकको कस्ट अफ फण्ड ५.४१ प्रतिशत थियो भने स्प्रेड रेट ४.७५ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४.४ प्रतिशतमा झार्नु पर्ने स्प्रेड रेट झनै बढाएर बैंकले ५.३२ प्रतिशतमा पुर्याएको छ । बैंकहरुले २०७६ असारमा नै स्प्रेड रेट ४.५ मा झार्नु पर्ने व्यवस्था थियो ।

निक्षेप दिने र कर्जामा लिने ब्याजको अन्तर नियामकले तोकेको भन्दा धेरै असुली गरेको अवस्थामा पनि बैंकले चैत मसान्तसम्ममा ६ करोड ८१ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले असुल गर्नु पर्ने कर्जा तथा ब्याज कारोना भाइरसको माहामारीका कारण सरकारले लगाएको लकडाउनले असुल हुन सकेन । त्यसका साथै ब्याजमा केही छुट समेत दिनु परेको र कर्जा तिर्ने समय समेत थप गरीएको हुनाले उठ्न पर्ने कर्जा समेत बाँकी रहदा पनि नाफामा केही असर गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९२ प्रतिशतले धेरै हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ९.३४ प्रतिशतले बढाएको छ भने फि तथा कमिसन आम्दानी ८.३६ प्रतिशतले बढेको छ । बैंकको ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा देखिएको समान्य सुधारको प्रभाव खुद नाफा देखिएको हो । यस अवधिमा बैंकको कर्मचारी खर्च पनि साढे १३ प्रतिशत भन्दा धेरैले बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ५७ करोड ४५ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको निक्षेप ८५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने कर्जा ५७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँमा सिमित छ । बैंकको मूल्य आम्दानी अनुपात भने १९.६७ गूणाले बढी छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब कजार्मा समेत समान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा ०.२० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ०.२२ प्रतिशत पुगेको छ ।

चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ७.२७ प्रतिशतमा झरेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर ७.७४ प्रतिशत रहेको थियो

सिर्जना फाइनान्सको नाफा खुम्चियो, इपिएसमा गढबढी

सिर्जना फाइनान्स (SFFIL) को खुद नाफा ६ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ। गत आवको यसै अवधिमा ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको नाफा समीक्षा अवधिमा ८५ लाख २८ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २ करोड ५१ लाख ८२ हजार रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ७३ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १२.२० रुपैयाँ रहेको छ। तर फाइनान्सले वित्तीय विवरणमा २७.४५ रुपैयाँ उल्लेख गरेको छ।

जगेडा कोषमा १३ करोड ७७ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १४६.४१ रुपैयाँ छ। सनराइज बैंकले प्राप्ती गर्ने प्रकृयामा रहेकाले माघ ११ गतेयता फाइनान्सको शेयर कारोबार रोक्का छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ७ अर्ब ३५ करोड निक्षेप संकलन गरि ६ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालनबाट २२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा फाइनान्सले १० करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्सको खराब कर्जा अनुपात ४.८१ बाट घटेर २.११ प्रतिशतमा झरेको छ।