जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

माघमै भित्रियो १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स

देशमा विप्रेषण भित्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामै मात्र १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । पुस महिनासम्म मासिक औसत १ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकामा माघमा औसतभन्दा १० अर्ब बढी रेमिट्यान्स आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको यही अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भएको हो । ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजा ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

पुससम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देश आएको थियो । अमेरिकी डलरमा हिसाब गर्दा ५ अर्ब ५८ करोड डलर रेमिट्यान्स आएको हो ।

बेष्ट फाइनान्सको सीईओमा बिएन घर्ती, ११ वर्षपछि बैंकिङमा फर्किए

वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बालिनसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । १६ फागुन सोमबार बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।

२०७० मा नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स घर्तीकै परामर्शअनुसार काम गर्दै २०७३ मा समस्याग्रस्तबाट बाहिरिए आएको थियो । मध्यपुर्वमा कार्यरत गैर आवशिय नेपालीहरुको लगानी ल्याएर समस्याग्रस्तबाट बाहिरिएको फाइनान्स सिनर्जी फाइनानसँग मर्जर भएको थियो ।

करिब २६ करोड सञ्चित नोक्सानी रहेको पाइनान्सको गैर बैंकिङ सम्पत्ती २५ करोड छ । क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुको मर्जर मार्फत अगाडि बढ्ने गरी घर्तीले उक्त जिम्मेवारी लिएका हुन् ।

धनगढीमा कामना सेवा विकास बैंकको कन्क्लेभ, राहतका योजनामा व्यवसायीको जोड

कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीबीच बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा बढी व्यवसायीको सहभागीता रहेको थियो । पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रुपमा रहेका थिए।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतीका लागि दीर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नीति नियम तय गर्ने तथा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने गरेको बताए। व्यवसायीका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थासँगका केही गुनासा भएमा नेपाल राष्ट्र बैंक समक्षसमेत गुनासा राख्न सकिने बताए । एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीबीच फरक मत रहने भएता पनि एकअर्काका परिपूरक भएकाले आर्थिक अनुशासन कायम गरी व्यवसाय संचालन गर्दा बैंक र व्यवसायीबीचको सम्बन्ध सुधार हुने बताए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीसँग छलफल गर्नका लागि बैंकलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायी उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे ।

साथै, नियमनकारी निकायका विभिन्न नीतिहरूले व्यवसायी थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकाले बैंकहरूले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने जिकीर गरे । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्था अग्रसर हुँदा व्यवसायीलाई असहज महसुस भएता पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैंकले व्यवसायीका पिर मर्का बुझ्दै बैंकको कारोवार अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । बैंकले हालै मात्र चितवनका व्यवायीबीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा

महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । ‘महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरु उपलब्ध गराउनका लागि सदैव तयार छ’, उनले भने ।

बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।

पुरुषहरुको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरुले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले सामाखुशीको ईलाइट डेन्टल स्टुडियोमा १५% छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन्।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ।

बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) संचालनमा ल्याएको थियो। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको थियो।

बैंकबाट वालेटमा रकम पठाउँदा १० लाखको सीमा

डिजिटल माध्यमबाट राजस्व तिर्दा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै एक वालेटबाट अर्को वालेटमा रकम जम्मा-भुक्तानी गर्ने उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा नपुग्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंक खाताबाट वालेट र वालेटबाट अन्य बैंक खाता (क्यूआर समेत)मा रकम जम्मा गर्दा प्रतिदिन २ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँको सीमा तोकेको छ । यस्तै, एक वालेटबाट अर्काे वालेटमा रकम जम्मा गर्दा प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ । तर, राष्ट्र बैंकले नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता शुल्कहरू भुक्तानी गर्दा अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो । यस्तै, विद्युत, दूरसञ्चार, तथा खानेपानी महशुल, बीमा प्रिमियम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ)को रकम भुक्तानी र विद्यालयको शुल्क बराबरको रकमको भुक्तानी गर्दा सीमा नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । वालेटमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइने छैन । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने छ ।

भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएकोसीमाले बाधा पु¥याएको मानिने छैन ।

विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ । वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन । यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा दैनिक १० हजार रुपैयाँ प्रति कारोबार ५ हजार रुपैयाँ हुनुपर्नेछ ।

गभर्नर भन्छन्,‘ग्रे लिस्टको बुझाइमा ज्ञानको अभाव देखियो’

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापमाथि नियन्त्रण गर्न नसकेको भन्दै हालै मात्र जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट)मा राखेको छ । ‘सम्पत्ति शुद्धीकरणका लागि हुने क्रियाकलापविरुद्ध नेपालले उच्चस्तरको राजनीतिक प्रतिबद्धता जनाएको छ’’ एफएटीएफले नेपालवारे सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालले अगष्ट, २०२३ को प्रतिबद्धता अनुसार केही क्षेत्रमा सुधार पनि गरेको छ । र कार्ययोजना अनुसार थप केही क्षेत्रमा अझै सुधार गर्नुपर्नेछ ।’

फ्रान्सको पेरिसमासम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालका सन्दर्भमा सातवटा बुँदाहरू औंल्याउँदै तिनलाई सुधार गर्नुपर्ने भनेको छ । कार्ययोजना नै बनाएर नेपालले एफएटीएफसँगको सहकार्यमा आफ्नो कार्यसम्पादन सुधार हुनुपर्ने औंल्याएको छ ।
पहिलो फाइनान्सियल एक्सन टास्क फोर्सले अपराधबाट आर्जन हुने सम्पत्तिले निम्त्याउने जोखिमवारे थप संवेदनशील हुनुपर्ने र जोखिमहरु पहिल्याउनुपर्ने औंल्याएको छ ।

दोस्रो, एफएटीएफले जोखिमको पहिचान गरी त्यसमा आधारित अनुगमन र निगरानीलाई बढाउनुपर्ने भनेको हो । उसले वाणिज्य बैंकहरू, उच्च जोखिममा रहेका सहकारीहरू, क्यासिनोहरू, खानी तथा खनिजपदार्थ कारोवार हुने क्षेत्रलाई स्पष्टसँग औल्याएको छ । त्यसबाहेक घरजग्गा व्यवसायसँग सम्बन्धित कारोबारमाथि निगरानी गर्न भनेको हो ।

तेस्रो, टास्क फोर्सले अपराधबाट आर्जन हुने पैसाको कारोवारमाथि उच्च निगरानी गर्न र त्यस्तो भेटिए तत्काल कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो । उसले पैसा वा मूल्यवान वस्तुको कारोबारमाथि राज्यका निकायहरुले चनाखोपन बढाउनुपर्ने सुझाव दिएको छ । नेपालमा समस्याको रुपमा देखिएको हुण्डिको कारोबारलाई पनि उसले इंगित गरेको छ ।

चौथो, गत वर्षको कानून संशोधनले अवैध सम्पत्तिमाथिको अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एकाधिकार दर्जनभन्दा बढी निकायमा पुगेको छ । एफएटीफले अनुसन्धानको क्षमता बढाउन, नेपालका निकायहरू बीचको समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।

पाँचौ, फौजदारी मुद्दाहरुको अभिलेख हेर्ने हो भने आर्थिक क्षेत्रसँग सम्बन्धित अपराध बढ्दै गइरहेको देखिन्छ । तर, त्यसको अनुपातमा नेपालले अपराधबाट आर्जन हुने सम्पत्तिमाथिको अनुसन्धान र मुद्दा चलाउने कामलाई करिबकरिब निष्क्रिय बनाएको थियो । पेरिसको प्लेनरी बैठकले अपराधबाट आर्जन हुने सम्पत्ति र त्यसको व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)माथिको अनुसन्धान र मुद्दा दायर गर्ने क्षमता बढाउन सुझाव दिएको हो ।

छैठौं, अपराधबाट सम्पत्तिको आर्जन गरी त्यसको व्यवस्थापन गरिरहेको कतिपय व्यक्तिहरुमाथि राज्य निर्मम हुन नसकेको भनी नेपालको आलोचना भइरहेको छ । एफएटीएफले उनीहरुको पहिचान गर्न, तिनका गतिविधिहरूलाई निगरानी गर्न भनेको छ । उनीहरुले अपराधबाट संकलन गरेको सम्पत्तिको पहिचान गरी तिनलाई जफत गर्ने कामहरुलाई अघि बढाउनु सुझाव दिएको हो ।

सातौं, एफएटीएफले आतंकवाद तथा हातहतियारमा हुने लगानी निरुत्साहित गर्न अपनाइएका प्रतिबन्धहरुको पालना गर्न सुझाव दिएको छ । वैध वा अवैध दुवै उपायबाट आर्जन भएको सम्पत्ति अपराधमा प्रयोग हुने जोखिम रहने भन्दै उसले नेपाललाई त्यस्ता क्रियाकलापमाथिको निगरानी बढाउनुपर्ने भनी सुझाव दिएको छ ।

गभर्नर अधिकारी भन्छन्–ग्रे लिस्टको बुझाइमा ज्ञानको अभाव देखियो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ग्रे लिस्टको बुझाइमा ज्ञानको अभाव देखिएको बताउँछन् । पूर्व अर्थमन्त्रीदेखि पूर्व सांसदसम्मकै तहमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ज्ञान अभाव भएको उनको भनाइ छ । अनुपालन, सुशासनसँगै ज्ञान अभावका कारण पनि नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा परेको सन्दर्भ कोट्याउँदै गभर्नर अधिकारीले माथिल्लो तहमै यस सम्बन्धी ज्ञानो अभाव रहेको बताए।

पूर्व निजामति, केन्द्रीय बैंकका पदाधिकारीहरुले मिलेर खोलेको संगठनले शुक्रबार सम्पत्ति शुद्धीकरण, ग्रेलिस्टलगायतका बारेमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले नेपालले दुई वर्षभित्र सुधार हुने समय पाएको बताउँदै त्यसलाई एक वर्षमै सफल बनाउनु पर्ने मत राखे।

‘सामान्य कुरा हामीले बुझ्नु पर्छ। त्यो भनेको गैरकानुनी रुपमा आर्जित सम्पत्ति प्रणालीभित्र छिर्न पाउनु हुँदैन। यो भएपछि सुशासित राज्य हुन्छ। सही हिसाबले काम गर्ने मान्छेलाई यसले राम्रो सहयोग पु¥याउँछ,’ उनले भने, ‘त्यसैले त्यो दिशामा जाने गरी थोरै मात्र काम गरियो भने पनि हामीले सफलता हात पार्छौं।’

उनले नेपाल ग्रे लिस्टमा प¥यो भनेर टाउको दुखाउनुको साटो त्यसलाई अवसरका रुपमा लिएर सुधार थाल्नु पर्ने बताए। ‘हामी आँफै त सुध्रँदैनौं। बाध्यात्मक परिस्थिति सिर्जना भएको छ। त्यसो हुँदा यसलाई अवसरका रुपमा लिनु पर्छ,’ गभर्नर अधिकारीले भने, ‘ग्रे लिस्टमा पर्दा निगरानी बढ्छ। यसले खर्च बढाउँछ। यसमा सचेत भएर काम गर्न थाल्यौं भने त सुधार भइहाल्छ।’

अधिकारीले बहुमूल्य धातु, अल्टिमेट/बेनिफिसियर ओनर (अन्तिम वा वास्तविक लाभ प्राप्त गर्ने लगानीकर्ता) का सन्दर्भमा सचेत हुनु पर्ने बताए। ‘बेनिफिसियर ओनरका बारेमा हाम्रोमा लेखांकन छैन। यसमा काम गर्नु पर्छ’ उनले भने, ‘विदेशीहरुले पनि यसी कुरा हामीलाई उठाइरहेका हुन्छन्। हाम्रो प्रणाली कति भ्रस्ट छ भन्ने हामीलाई भन्दा बढी उनीहरुलाई थाहा छ।’

प्रधानमन्त्री कार्यालयमा कानुन हेर्ने सचिव फणिन्द्र गौतम नेपालमा आतंकवादी गतिविधिलाई बल पुग्ने गरि सम्पत्ति शुद्धीकरण गतिविधि भएको नपाइनु नै सुखद भएको बताउँछन् । तर, अन्य तरिकाले शुद्धीकरण भने चिन्ताको विषय भएको उनको भनाइ छ । उनले कर्पोरेट क्षेत्रले घरजग्गामा गर्ने लगानी सन्देहपूर्ण रहेको बताउँदै सुनचाँदी, सहकारी लगानीमार्फत पनि सम्पत्ति शुद्धीकरणमा बल पुगेको बताए । यसबाहेक तेस्रो पक्षको प्रयोगमार्फत कारोबार गरेर अर्कैले लाभ लिने प्रवृत्ति भएको भन्दै यसमा केही न केही काम गर्नै पर्ने अवस्था आएको बताए।

‘अब अहिले थर्ड पार्टीबाट कारोबार भईरहेको छ। त्यसैले हामी अब स्मार्ट केवाईसीमा जानु पर्छ। ग्राहकलाई दुःख नदिइकन हरेक तीन-तीन महिनामा केवाइसी अपग्रेड गर्नु पर्छ,’ उनले भने, ‘त्यसका लागि हामीलाई राष्ट्रिय परिचयपत्रले सहयोग गर्छ। बैंकले पनि हेर्न मिल्ने गरि हामीले प्रणाली विकास गरिसकेका छौं।’

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।

४० दिने तेस्रो कार्यकालका लागि एनएमबि बैंकको सिइओमा केसीको पुन:नियुक्ति, त्यसपछि घिमिरे

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसीलाई ९ वैशाख २०८२ सम्मका लागि नियुक्ति दिएको छ । बैंकको सञ्चालक समिति वैठकले केसीलाई तेस्रो कार्यकालका लागि नियुक्त गरेको हो । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिले २ कार्यकाल पुरा गरेपछि पनि केसीको कार्यकाल करिब ४० दिन थप गर्ने निर्णय गरेको हो । फागुन मसान्तमा दोस्रो कार्यकाल सकिन लागेको केसीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (बाफिया) कार्यान्वयनको मितिले ८ वर्षसम्म हुने गरी तेस्रो कार्यकालको लागि केसीको कार्यकाल थप भएको हो । बाफिया २०७४ वैशाख १० गते बाट कार्यान्वयनमा आएको थियो ।

बाफियामा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल बढीमा ४ वर्षको हुनुपर्ने र अर्को एक कार्यकालको लागि मात्रै पुनःनियुक्त हुन सक्ने व्यवस्था छ । यस आधारमा केहीको २ कार्यकाल पुरा भएसँगै बैंकबाट बिदा हुनुपर्ने थियो । तर, बाफियामा नै बढीमा २ कार्यकालको व्यवस्था ऐन कार्यन्वयनमा आएको मितिबाट लागु हुने उल्लेख छ । जसअनुसार फागुन मसान्तमा दोस्रो कार्यकाल पुरा हुन लागेको केसीलाई बैंक सञ्चालक समितिले ९ वैशाख २०८२ सम्मको लागि कार्यकाल थप गरेको छ ।

नयाँ प्रमुख कार्यकारी अधिकृतलाई कार्यभार हस्तान्तरण गर्नको लागि पनि सिइओको कार्यकाल थप गरेको बैंकको दाबी छ ।पाटन उच्च अदालतले वाफिया कार्यान्वयनको मितिले २ कार्यकाल अर्थात् ८ वर्ष प्रमुख कार्यकारी अधिकृतमा काम गर्न पाउने व्याख्या गर्दै प्रमुख कार्यकारी अधिकृतको कार्यकालबारे निर्णय गर्ने अधिकार केन्द्रिय बैंकको रहेको बताएको थियो ।

९ वैशाखसम्म २०८२ सम्म केसीले नै सीईओको रुपमा काम गर्नेछन् । १० वैशाखबाट गोविन्द घिमिरेले उक्त पद सम्हाल्नेछ्न् । १० वैशाखबाट नै बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय सीईओमा बढुवा हुने भएका छन् । घिमिरे र उपाध्याय हाल नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो ।

नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।

उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ ।

वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, कुन बैंकले कति ?

कमजोर व्यवसाय र बढ्‌दो खराब ऋणका कारण वाणिज्य बैंकहरुको औसत नाफा १.६२ प्रतिशतले बढेको छ। संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफा १.६२ प्रतिशतले बढेको हो।

वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएका छन्। गत वर्ष माघसम्म वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड थियो। २० वटा बैंकमध्ये ९ वटाको नाफा बढेको छ। बाँकी ११ बैंकको नाफा घटेको छ। नेपाल बैंकको नाफा सबैभन्दा धेरै १५६.३१ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ।

यतिबेला एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चाटर्ड, हिमालयन, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि विकास बैंक, सिटिजन्स र सानिमा बैंकको नाफा खुम्चिएको छ। एनआइसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ७८.३१ प्रतिशतले खुम्चिएको छ। माघ मसान्तसम्म बैंकले ४६ करोड ४७ लाख नाफा गरेको छ। पोहोर यसै अवधिमा बैंकले २ अर्ब १४ करोड नाफा गरेको थियो।

नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ ।

नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् । अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइनेछ ।

कार्यायोजना प्रस्तुती तथा अन्तवार्ताबाट उत्कृष्ट ३ जनालाई छनोट गरी नाम सिफारिस गरिनेछ । समितिको सिफारिसमध्येबाटै एक जनालाई सरकारले सीईओमा नियुक्त गर्नेछ । खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आजसम्म आवेदन माग गरेको थियो । अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।