जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नबिल बैंकले ल्यायो नयाँ मास्टर डेबिट कार्ड

बिल बैंकले मास्टर कार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको छ । ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले नयाँ मास्टर डेबिट कार्ड जारी गरिएको बैंकले जनाएको छ । काठमाडाैंमा आयोजित कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई स्तरीय सुविधा दिने प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुवातदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।’

मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले नयाँ डेबिट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए ।

नयाँ डेबिट कार्डमार्फत ग्राहकले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतीक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।

मास्टरकार्डको नयाँ डेबिट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।

नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक मास्टर क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टर क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको छ। कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

एनएलजी इन्स्योरेन्सको आम्दानी बढ्यो

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार गत आवको तीन महीनामा १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा समेत वृद्धि भएको तथ्यांकले देखाएको छ। गत आवको असोज मसान्तसम्म ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म ३९ करोड ४० लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गर्न सफल भएको छ।

आम्दानीसँगै कम्पनीको कुल खर्चमा पनि वृद्धि भएको देखिएको छ। गत आवको तीन महीनामा कम्पनीले २३ करोड ८४ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेकोमा चालू आवको तीन महीनामा भने ५२ करोड २७ लाख १० हजार रुपैयाँ खर्च गरेको छ।

खर्चमा वृद्धि आएसँगै कम्पनी घाटामा पुगेको छ। गत आवको तीन महीनामा ४८ करोड ९० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आवको तीन महीनामा भने १० करोड १० लाख ५२ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ। कम्पनी घाटामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि १२.७१ रुपैयाँबाट घटेर १५.७६ रुपैयाँ ऋणात्मक भएको छ। प्रतिशेयर नेटवर्थ भने १६८.७६ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम २७ करोड १९ लाख १६ हजार रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख २५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५७ लाख ३९ हजार रुपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोषमा १५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

गत वर्षको असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३८ करोड ६५ लाख ९९ हजार रुपैयाँ रहेकोमा चालू आवको असोज मसान्तसम्म बढेर ४ अर्ब ५० करोड ४ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।

शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी

गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर उत्कृष्ट र अब्बल सावित गर्न सफल भएको हो । दशैं तिहार र कर्फ्युका बीचमा पनि काम गरेर कम्पनीले २१८ वटा बीमा दावी बापत ४२ करोड १० लाख ७४ हजार ३३ रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले जेनजी आन्दोलनमा पुगेको क्षतिको बीमा दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै ४३३ वटा बीमा पोलिसी बापत दुई अर्ब ४१ करोड नौ लाख ९८ हजार १५७ रुपैयाँको बीमा दावी परेको छ । कूल बीमा दावी २३ अर्ब २२ करोड मध्ये शिखर इन्स्योरेन्स मात्रै सो दावी परेको हो ।

कम्पनीका अनुसार हालसम्म ४२ वटा बीमा दावी सम्बन्धी फाइल अन्तिम भुक्तानी पश्चात बन्द भइसकेको छ । सो बापत कम्पनीले एक करोड ९२ लाख ७० हजार ३३ रुपैयाँ भुक्तानी गरेको छ । सो संख्यामा सवारी साधनहरु रहेका छन् । त्यस्तै, १७६ वटा बीमा पोलिसी अन्तर्गत परेका बीमा दावी रकम मध्ये एडभान्स बापत ४० करोड १८ लाख चार हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले भने, ‘हामी बीमा गरेपछि दावी भुक्तानी गर्न ढिलाई गर्दै गदैनौं । खोजी खोजी भुक्तानी गरिरहेका छौं ।’ सिईओ पाण्डेका अनुसार कम्पनीले अग्रिम भुक्तानीलाई समेत तीव्रता दिइरहेको छ । उनले भने, ‘हाम्रा सर्भेयरहरु लगातार फिल्डमा खटिइरहनु भएको छ, उहाँहरुको अनुमानित मूल्याङ्कनको ५० प्रतिशतसम्म भुक्तानी दिन मिल्छ, सोही बमोजिम पैसा दिइरहेका छौं ।’ सिईओ पाण्डेले शिखर इन्स्योरेन्सबाट अग्रिम भुक्तानी पाएर कतिपयले क्षतिभएको संरचना पुननिर्माण समेत सुरु गरिसकेका छन् ।

सिईओ पाण्डको अनुसार शिखर इन्स्योरेन्स कम्पनीलाई दावी भुक्तानीका लागि कुनै समस्या छैन । कूल दुई अर्ब ४१ करोड बीमा दावी मध्ये करिब ३७ करोड रुपैयाँ शिखर इन्स्योरेन्सको भागमा पर्ने सम्भावना रहेको र कर समेत कट्टा गर्दा चालु आवमा शिखर इन्स्योरेन्सलाई २२।२३ करोड भन्दा बढि क्षति नहुने बताए । उनले भने, ‘त्यति रकम त हाम्रो छ महिनाको कमाई त हो । हामीलाई कुनै समस्या छैन ।’

कम्पनीमा बागमति प्रदेशमा ३४८ वटा बीमा दावी परेको छ । मधेश प्रदेशमा २४ वटा, लुम्बिनीमा १४ वटा, सुदुरपश्चिममा २६ वटा, कर्णालीमा १२ वटा, कोशीमा ६ वटा गण्डकीमा ३ वटा बीमा दावी परेका छन् ।
दावी मध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत एक अर्ब ७७ करोड, व्यक्तिगत सवारीमा २६ करोड १९ लाख, व्यापारिक सवारी साधनको २० करोड ९६ लाख, मोटरसाइकलमा ६३ लाख ३९ हजार, इन्जिनियरिङ १३ करोड २३ लाख र विविधमा दुई करोड १० लाख रुपैयाँको बीमा दावी परेको छ ।

निजि सवारीमा तीन करोड ६३ लाख, व्यापारिक सवारीमा चार करोड ९९ लाख, मोटरसाइकलमा १३ लाख पाँच हजार, सम्पत्ति बीमामा २८ करोड १९ लाख र इन्जिनियरिङमा तीन करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति भोगेको भाटभटेनी सुपर मार्केटलाई शिखरले २५ प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ भने थप २५ प्रतिशत भुक्तानी गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुर्याइसकेको जनाएको छ । भाटभटेनीको बीमा दावी शिखर इन्स्योरेन्समा एउटा मात्रै भाटभटेनीमा रहेको आउटलेटको परेको थियो ।

कम्पनीका अनुसार तिहार अघि ४० प्रतिशतसम्म बीमा दावी भुक्तानी गरिसक्ने जनाएको छ । यस अवधीमा दशैं विदा, सार्वजनिक विदा, दशैं पछिको बाढी पहिरो विदा, र घटना लगत्तै जारी कर्फ्यु आदेश समेत गणना गर्दा जम्मा १७ कार्यदिनभित्रमा उक्त दावी भुक्तानी गर्न सफल भएको हो । बीमा दावी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनीले उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आइरहेको छ । बीमा दावी छरितो हुँदा आम जनमानसमा बीमाप्रति जनविश्वास बृद्धि भई बीमा व्यवसाय विस्तारमा समेत योगदान पुग्ने मानिन्छ ।

सिटिजन लाइफको खुद बीमाशुल्क २८ प्रतिशतको वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको कुल बीमशुल्क आर्जन गत बर्षको तुलनामा २७ प्रतिशतले वृद्धि भएर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ , गत बर्षको सोहि कम्पनीले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क गर्न सफल भएको छ ।

पहिलो त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत बषको तुलनामा कम्पनीकोे खुद बीमाशुल्क आर्जन १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत बर्षको तुलनामा कम्पनीको खुद बीमशुल्क आर्जन २८.७३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको मुनाफा पहिलो त्रैमाससम्ममा ०.४३ प्रतिशतले वृद्धि भएर १३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ , गत बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमामा रहेका संचिति गत बर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड रुपैयाँ रकम संचिति रहेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ६३ करोड रुपैयाँ रकम संचिति रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९३ रुपैयाँ रहेको छ।

प्रभु महालक्ष्मीको व्यवसाय र मुनाफा दुबै वृद्धि

प्रभु महालक्ष्मी लाइफको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएकोे छ । कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा १ अर्ब २० करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीका बीमाशुल्क आर्जन १९ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ५० प्रतिशतले वृद्धि भएर कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
जीवन बीमा कोषमा ३५ प्रतिशतले वृद्धि भएर १४ अर्ब ८४ करोडरुपैयाँ रहेको छ।गत बर्षको सोहि अवधिमा जीवन कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ५६ पैसा रहेको छ।

भू-उपयोग नियमावलीमा तेस्रो संशोधन : कित्ताकाटमा नयाँ व्यवस्थादेखि ‘भूमि बैंक’ स्थापनासम्मका व्यवस्था

सरकारले भूउपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट जारी गरिएको यो नियमावलीले जग्गाको कित्ताकाट, वर्गीकरण र उपयोगमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ ।

विशेषगरी, आवासीय जग्गाको कित्ताकाटको लागि न्यूनतम क्षेत्रफल तोकिनु र स्थानीय तहमा ‘भूमि बैंक’ स्थापनाको अवधारणा ल्याइनुलाई महत्त्वपूर्ण मानिएको छ । यो संशोधन राजपत्रमा प्रकाशित भएसँगै तुरुन्त प्रारम्भ भएको छ ।

कित्ताकाटमा नयाँ नियम
संशोधित नियमावलीले आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई कित्ताकाट गर्दा न्यूनतम एक सय तिस (१३०) वर्ग मिटरभन्दा कम क्षेत्रफल हुने गरी गर्न नपाइने व्यवस्था गरेको छ। यसले अव्यवस्थित र साना घडेरीमा हुने खण्डीकरणलाई निरुत्साहित गर्ने देखिन्छ ।

तर, एउटै वडामा एउटै भूउपयोग क्षेत्र वा एकै प्रकृतिका दुई वा सोभन्दा बढी कित्ताहरुबाट कित्तकाट गरी एकै जग्गाधनीको नाममा कायम हुने जम्मा क्षेत्रफल र कित्ताकाट भई दाताको नाममा बाँकी रहने जग्गाको क्षेत्रफल यो नियमावली अनुसारको न्यूनतम क्षेत्रफलमा नघट्ने गरी कित्ताकाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै, विद्युतीय प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) क्षेत्रको कित्ताकाट गर्न पनि बाटो खुला गरिएको छ । सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिएर त्यस्तो जग्गामा परेको बिद्युतीय प्रसारण लाइनको मार्गाधिकार(राइट अफ वे) क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखि आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको छ ।

‘भूमि बैंक’ को स्थापना र सञ्चालन
तेस्रो संशोधनको सबैभन्दा महत्त्वपूर्ण प्रावधान ‘भूमि बैङ्क’को स्थापना हो । नियमावलीमा परिच्छेद ४ ‘क’ थप गरी ‘भूमि बैंक’ सम्बन्धी विस्तृत व्यवस्था गरिएको छ । सरकारले सम्बन्धित स्थानीय तहको माग अनुसार त्यस्तो स्थानयि तहमा भूमि बैंकको स्थापना गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका लागि भूमि बैंक सञ्चालन समिति गठन गर्न सकिने व्यवस्था गरिएको छ । बैंक सञ्चालनका लागि सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा एक समिति गठन हुनेछ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र भूमि सम्बन्धी विषय हेर्ने शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।

जग्गा उपयोगको प्रक्रिया
स्थानीय तहले आफ्नो जग्गा भूमि बैंकमार्फत उपयोग गर्न चाहने जग्गाधनीहरूका लागि कम्तीमा ३५ दिनको समय दिएर सार्वजनिक सूचना प्रकाशन गर्नेछ । सूचना प्रकाशित भएपछि भूमि बैंकमार्फत जग्गाको उपयोग गर्न चाहने जग्गाधनीले त्यस्तो जग्गाको स्वामित्व, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जगगा उपयोग गर्न दिने अवधि तथा ऐन र यो नियमावली बमोजिम वर्गीकरण गरिएको क्षेत्रभित्रको जग्गा भए वर्गीकरणको व्यहोरा समेत खुलाई सोही सूचनामा उल्लेखित अवधिभित्र तोकिएको ढाँचामा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

निवेदन प्राप्त भएपछि स्थानीय तहले उपयुक्त व्यक्ति वा संस्थासँग सम्झौता गरी जग्गा उपयोगको अनुमतिपत्र दिन सक्ने व्यवस्था गरिएको छ । जग्गा उपयोग गर्न निवेदन दिनेहरूमध्ये अल्पसंख्यक, सीमान्तकृत समुदाय तथा आर्थिक रूपले विपन्न व्यक्ति वा परिवारलाई प्राथमिकता दिइनेछ । नियमावलीअनुसार जग्गा रोक्काको बिषयमा भूमि बैंकमा राखिएको जग्गा सम्झौता अवधिभर बिक्री वितरण गर्न नपाउने गरी सम्बन्धित मालपोत कार्यालयमार्फत रोक्का राखिने व्यवस्था गरिएको छ ।

प्रतिफल र विवाद समाधानको बिषयमा नियमावलीले जग्गाधनीले सम्झौता बमोजिम वार्षिक रूपमा प्रतिफल पाउनेछन् । जग्गा उपयोग गर्ने र प्रतिफल लिने(दिने सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यसको निरुपण स्थानीय न्यायिक समितिबाट हुनेछ । यो व्यवस्थाले उपयोगमा नआएका जमिनलाई उत्पादनशील काममा लगाउन र भूमिहीन वा कम जमिन भएकाहरूलाई खेतीपाती वा अन्य व्यवसायका लागि जग्गा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, दुई वा दुईभन्दा बढी स्थानीय तहले मिलेर संयुक्त रूपमा पनि भूमि बैंक सञ्चालन गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ ।

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए।

“हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,” उनले भने ।

अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङ्गलाई गरेको आग्रहलाई उनीहरुले गम्भिरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे ।

उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गर्न आवश्यक रहेका उल्लेख गरे ।

उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आवद्ध संघसंस्थाहरु र त्यसका सदस्यहरुको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।

त्यस कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गरि पूर्वाधार विकास, रोजगारी सृजना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरु लागेको बताए ।

महासंघ अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउदै उक्त विध्वंशमा संलग्नहरुलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे ।

उनले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र सम्मृद्धि रहेका उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताए ।

एनपीएल-२ को तयारी पूरा, डे-नाइट खेल हुने, पुरस्कार राशि यथावत्

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले आगामी सोमबार (मंसिर १ गते)देखि सुरु हुने लिग यसपटक झनै भव्य रूपमा आयोजना गरिने जानकारी गराएको छ।

दोस्रो संस्करणमा पुरस्कार राशिमा भने परिवर्तन नगरिएको क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काका अनुसार पहिलो संस्करणमा निर्धारण गरिएका राशि नै यथावत् रहनेछन्। पहिलोपटक एनपीएल फ्लडलाइटअन्तर्गत डे-नाइट प्रारूपमा हुने भएकाले दर्शकमा थप आकर्षण बढ्ने अपेक्षा गरिएको उनले बताए।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाखसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए। यही पुरस्कार संरचना दोस्रो संस्करणमा पनि कायम राखिएको छ।

यसपटकको लिगबाट ३०–४० करोड रुपैयाँसम्म आम्दानी हुने क्यानले लक्ष्य लिएको छ। कोषाध्यक्ष पदम खड्काले १५ करोड बराबरको स्पोन्सर एग्रीमेन्ट गरिसकेको बताए। उनका अनुसार टिम ओनरबाट मात्र करिब ९ करोड रुपैयाँ आइसकेको छ। ‘नेपालको खेलकुदमै नयाँ हुने हिसाबले हामीले यसपटक ओटीटी व्यवस्था गरेका छौं,’ उनले भने।

ओटीटी प्रसारण अधिकार डिसहोम गोले ५ करोड ३० लाखमा प्राप्त गरेको छ। विश्वभरिबाट उठ्ने डिजिटल आम्दानीमध्ये ७१ प्रतिशत क्यान र २९ प्रतिशत डिसहोमको रहनेछ।

त्यसैगरी, लिनेयर टीभी प्रसारण अधिकार न्यूनतम १ करोडमा फाइनल भएको छ, र यो रकम अझै बढ्न सक्ने क्यानको अनुमान छ। टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने लक्ष्य पनि राखिएको छ। स्टेडियम क्षमता र बढ्दो दर्शक उत्साहका आधारमा टिकट आम्दानी अझ उच्च हुन सक्ने अपेक्षा गरिएको छ।

मुख्य तथा अन्य स्पोन्सरसिपबाट १५ करोडसम्मको प्याकेज सुरक्षित भइसकेको कोषाध्यक्ष खड्काले जानकारी दिए। विदेशी खेलाडीहरू क्रमशः नेपाल आइपुगिरहेका छन् भने सबै ८ फ्रेन्चाइज टोली प्रशिक्षणमा व्यस्त छन्।


लिगको उद्घाटन खेल सोमबार साँझ ४ बजेदेखि साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ। दोस्रो संस्करणले आर्थिक तथा व्यावसायिक दृष्टिले नेपाली फ्रेन्चाइज क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने आशा क्यानको छ।

सन नेपाल लाइफको मुनाफा ४४% ले वढ्यो 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्जजनिक गरेको छ ।

१ अर्ब ८ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कमपनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ , गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

पहिलो त्रैमासमा कम्पनीको मुनाफा ४४ प्रतिशतले बढेर २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १८.९५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.८९ रुपैयाँ रहेको छ।

जोखिमको केन्द्र बन्दै उपत्यका, सरकार र जनतामा कहिले आउने चेतना ?

नेपालको सबैभन्दा पुरानो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै विमान उडान र अवतरण हुन्छ । दिनरात नै विमानको आवत्‌जावत् भइरहने उक्त विमानस्थल घनाबस्तीको बीचमा छ । विमानस्थलको चारैतिर घरले घेरिएको छ । उता, सिनामंगलमै नेपाल आयल निगमको डिपो छ । जहाँ इन्धन भण्डारण हुन्छ । थानकोटमा पनि डिपो सञ्चालनमा छ । ती डिपो र विमानस्थल ‘बम’ जस्तै भएको छ । कतिखेर पड्किन्छ र ठूलो दुर्घटना हुन्छ ? भन्न सकिँदैन । २०८१ चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा राजधानीको तीनकुनेमा आन्दोलन भयो । आन्दोलनकारीहरु तीनकुनेबाट केही मीटरको दूरीमा रहेको डिपोमा जाने तयारीमा थिए । धन्न कसोकसो सुरक्षाकर्मीले तिनलाई रोके । भदौ २३ र २४ गतेको आन्दोलनमा पनि विमानस्थल कब्जामा लिन खोजिएको थियो । यद्यपि, सेनाले प्रदर्शनकारीलाई रोके । नत्र ठूलो क्षति हुन सक्थ्यो ।

विमानस्थल र डिपो संवेदनशील क्षेत्र हो । त्यहाँ छिरिक्क मात्र केही भयो भने अकल्पनीय जनधनको क्षति हुन्छ । तर, सरोकारवाला निकाय न त्यहाँ आन्दोलन हुनबाट रोक्छ न डिपो र विमानस्थल नै सार्छ । विमानस्थलको चारैतिर बस्ती बाक्लिँदै गएको छ । यस्तोमा ती बस्तीलाई पनि असुरक्षा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटकपटक विमान दुर्घटना भइसकेको छ । धन्न बस्तीमा पर्दैन र मात्र हो, नत्र त ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने हुन सक्थ्यो । २०८१ साउन ९ गते सौर्य एअरलाइन्सको विमान विमानस्थलभित्रै दुर्घटनामा पर्यो । भुइँ छोड्नेबित्तिकै सीआरजे७ को विमान दुर्घटनामा परेकोमा १८ जनाको ज्यान गयो ।

त्यसअघि पनि विमानस्थलमा पटकपटक विमान दुर्घटना भइसकेको छ । सन् २०१८ मार्चमा बंगलादेशबाट नेपाल आएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा ५१ ज्नाको मृत्यु भएको थियो । काठमाडौंबाट सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थल जान उडेको सीता एअरको उडान नम्बर ६०१ भएको विमान २०६९ असोज १२ गते दुर्घटनामा पर्यो ।
एडेको चार मीनेटमै विमान मनोहरा फाँटमा दुर्घटनामा परेको छ । जसमा क्याप्टेनसहित १९ जनाको ज्यान गएको थियो । यी त केही उदाहरण मात्र हुन् । विमान दुर्घटना नेपालमा सदाबहारजस्तै भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा बस्ती थोरै थियो । विमान पनि एकाध मात्र थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सानो विमानस्थल बनायो । यत्रो जनसंख्या बढ्ला, प्लेन थपिएला भनेर सरकारले सोचेकै थिएन । तर, एकाएक बस्ती पनि बढ्यो, प्लेन पनि । हाल सो एअरपोर्ट सानो भएको छ । देशविदेशबाट नेपालमा प्लेन आउँछ । यद्यपि, सरकारले विमानस्थल बढाउनमा चासो देखाएको छैन ।

विमान चौबिसै घण्टा उड्छ । दिनरात नै विमान उड्ने भएकाले छेउछाउका स्थानीयलाई आवाज खेपिनसक्नु भएको छ । ललितपुरको टिकाथली, नरेफाँट, जडीबुटी, लोकन्थली, काँडाघारी, मूलपानी, गोठाटार, पेप्सीकोला, दक्षिणढोका, जोरपाटी, बौद्ध, नयाँ बस्ती, गौरीघाट, सिनामंगल, तीनकुने, कोटेश्वर, शान्तिनगर, गैरीगाउँका स्थानीय त्रसित छन् । कतिबेला के हुने हो ? भनेर उनीहरु डराईडराई बस्नुपर्ने बाध्यता छ । रातभर प्लेन उड्ने भएकाले उनीहरु सुत्न सक्दैनन् । तर, घर बनाइसके, अब के गर्ने ? फेरि यसमा कमजोरी सरकारकै हो । सरकारले त एअरपोर्ट र डिपो छेउछाउ पहिल्यै घर बनाउन रोकिदिनुपर्‌थ्यो । त्यहाँको जग्गा अतिक्रमण गरेर सरकारको नाममा राख्नुपर्‌थ्यों । तर, सरकारले त्यति पनि गरेन । अहिले विमानस्थल छेउछाउ घरैघर छ । एअरपोर्ट बनाउने बेलामा सबै खेत र फाँट थियो । भूमाफियाले विमानस्थलको वरपरको जग्गा धमाधम प्लानिङ्ग गर्दै आनाकै लाखदेखि करोडमा बेचे । त्यो जग्गा किनेर सर्वसाधारणले घर बनाए । अहिले त्यो घर घरधनीलाई ‘टोक्नु न बोक्नु’ भएको छ ।

एकातिर भाडामा बस्ने मान्छे पाउँदैन, अर्कोतिर घर बेच्छु भन्दापनि कोही किन्दैन । घरधनीलाई तनावैतनाव छ भने सरकारलाई पनि अहिले आएर एअरपोर्ट छेउ घनाबस्ती सास्ती दिएको छ । घर बनिसक्यो, अब त्यसलाई कसरी हटाउने ? सरकारसँग अब दुईटा उपाय छ–कि ती घर अधिकरण गर्नुपर्यो कि त एअरपोर्ट र डिपो अन्यत्रै सार्नुपर्यो । डिपोमा अलिकति छिसिक्क मात्र भयो भने काठमाडौं बाँकी रहँदैन । यसमा सरकारले खेलाँची नगरोस् । २०८१ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले सिनामंगल र थानकोटको जग्गा पशुपति छेउस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा सार्ने निर्णय गर्यो । तर, त्यहाँ छेउछाउका स्थानीयले विरोध जनाए । चाबहिल, चुच्चेपाटी, जयबागेश्वरी, बौद्ध, नयाँबस्ती, गौरीघाँट, गौशालाका स्थानीयले सार्न दिइसकेका छैनन् । जसका कारण सरकारले अहिलेसम्म डिपो सार्न सकेको छैन । खतरा हुने भएपछि कसले सार्न दिन्छ ? सरकारले पहिल्यै जग्गा अधिकरण गरेर राखेको भए, अहिले यत्रो समस्या हुँदै हुँदैनथ्यो ।

त्यो मात्र होइन, पेट्रोल पम्प र ग्याँस डिपो पनि घनाबस्तीकै बीचमा छ । तीनतिर घर अनि बीचमा पेट्रोल पम्प । पेट्रोल पम्पहरु ‘बारुद्ध’ हुन् । तैपनि, पेट्रोल पम्प सञ्चालक र सरकारले जनताको ज्यानसँग खेलबाँड गरिरहेको छ । एउटा पेट्रोल पम्पमा आगो लाग्यो भने बस्ती नै सखाप हुन्छ । यस्तो जोखिम हुँदाहुँदै पनि खेलाँची गर्न मिल्छ ? पेट्रोल पम्प सञ्चालनका लागि सरकारले मापदण्ड बनाएको छ । तर, कसैले पनि मापदण्ड टेरेका छैनन् । मापदण्डविपरीतका पेट्रोल पम्पलाई न सरकारले कारबाही गर्न सकेको छ न अन्यत्र सार्न निर्देशन दिन । घरघरमा ग्याँस डिपो छ । त्यहाँको एउटा मात्र ग्याँस पड्कियो भने के हालत हुन्छ ? सरकारले घनाबस्ती र बाटोको छेउमा भएको पेट्रोलपम्प, ग्याँस डिपो, वकर्सप कबाडी गोदाम, बसपार्क हटाउनुपर्छ । नत्र जतिबेला जे पनि हुनसक्छ । त्यस्ता क्षेत्रमा आगलागी भयो भने सरकारलाई नियन्त्रणमा लिन हम्मेहम्मे पर्छ ।

भदौ २३ र २४ गते संसद् भवनमा आगजनी भयो । त्यहीँ छेउ पेट्रोल पम्प थियो । आन्दोलनकारीले पेट्रोल पम्पमा आगो लगाइदिएको भए, सर्वस्व सखाप हुन्थ्यो कि हुँदैनथ्यो ? आधा किलोमीटरमा तीन वटा पेट्रोल पम्प सञ्चालनमा छ । छोटो दुरीमा त्यत्रो पेट्रोल पम्प किन चाहियो ? फेरि पेट्रोल पम्प पनि साँघुरो ठाउँमा छ । कार छिरेर निस्किन सक्दैन । यस्तो जोखिमपूर्ण कुरामा सरकारले ख्यालख्याल गर्नुहुँदैन । घनाबस्तीको बीचमा भएको पेट्रोल पम्प, ग्याँस डिपो, वकर्सप, कबाडी गोदाम, बसपार्क सरकारले तत्काल हटाएर खुला ठाउँमा सार्न निर्देशन दिनुपर्छ । कसैले आफू व्यापार गर्नका लागि अर्काको ज्यान खतरामा पार्न पाउँदैन । साथै, बस्तीमा सुपरमार्केट राख्न पनि जोखिम भइसकेको छ । जेनजी आन्दोलनमा भाटभटेनी जल्यो । त्यहाँ छेउछाउ भएको स्थानीयको निदहराम भयो । अहिले भाटभटेनीमा आगो लगाउनेले भोलि नलगाउँला भन्न सकिन्न ।
त्यसैले, सरकारले पाठ सिक्नुपर्यो । जनताको जनधनको सुरक्षा गर्नु दायित्व सरकारको हो । घटना घटेपछि गोहीको आँशु झार्नुभन्दा घटना घट्नै नदिनतर्फ केन्द्रीत होऔं । ज्यानभन्दा ठूलो कुरा केही होइन । यसको सचेतना जनतामा हुन पनि आवश्यकता छ । जोखिमपूर्ण क्षेत्रमा जग्गा नकिनौं, भाडामा नबसौं ।

एनपीएल दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह ( प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि क्यानले आयोजना गरेको एनपीएल एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताए ।

साथै एनपीएलको दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि।सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र एनपीएलको अपार सफलताको लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गरे।

ट्रफीको शीर्ष स्थानमा साथ राखिएको सगरमाथाको कालापत्थरबाट निमा शेर्पा र मिङ्मा डेविड शेर्पा द्वारा सावधानीपूर्वक र जिम्मेवारीका साथ ल्याइएको यो पत्थरले ट्रफीलाई हिमालको मुटुसँग जोडने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको साथ तथा सहयोगले सम्भव भएको हो ।

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

सलिकोको बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले ‌शुक्रबार बिहान काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्त्वबारे जनचेतना फैलाउनु हो । कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर, नागपोखरी, गैरीधारा, हिल्टन होटल, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो ।

झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउँछन् ।

कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।