एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ ।
यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिनेछ ।
यसरी ग्राहक महानुभावहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नुहुने बैंकले विश्वास लिएको छ ।
इन्भेष्टमेन्ट मेगा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
गत आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर बुझाउने वित्तीय कम्पनीको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको छ । कर दिवसको उपलक्ष्यमा सरकारले सबैभन्दा बढी संस्थागत आयकर तिर्ने संस्थाका रुपमा बैंकलाई सम्मान गरेको हो ।
नेपालमा आक्रामक बैंकिङ्गको सुरुआत गरेर दुई दशक अघि नै वित्तीय पहूँच सुदृढिकरणमा सबैभन्दा धेरै मिहेनत गर्ने बैंक थियो, ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ ।
फ्रान्सेली सहलगानी (ज्वाइन्ट भेञ्चर)मा करीब चार दशक अघि खुलेको तत्कालिन ‘इन्डोस्वेज’ बैंक सञ्चालन भएको १६ वर्षपछि पृथ्वीबहादुर पाँडे सहितका नेपालीले आधा स्वामित्व किनेपछि यो बैंकको नाम फेरेर ‘नेपाल इन्भेष्टमेन्ट’ बनाइएको थियो ।
यसरी स्वदेशी स्वामित्वमा बैंक आएदेखि नै यो बैंकले नेपालमा व्यावसायिक विस्तारका लागि असाध्यै ठूलो भूमिका निर्वाह गरेको हो । कुनै बेला लेखा प्रणालीमा पोख्त नभइसकेको र औपचारिक स्वरुप नै ग्रहण नगरेको नेपाली अर्थतन्त्रलाई व्यापक मात्रामा फैलाउन यो बैंकले ठूलो जोखिम मोलेको थियो ।
कागजपत्रको माथापच्चिसीले मानिसहरु बैंकको ऋण परिचालन नै गर्न नसक्ने अवस्थामा यो बैंकले कागजलाई भन्दा मान्छेको इमानदारिता, उसको व्यावसायिक योजना र इच्छाशक्तिलाई ज्यादा महत्व दिएर काम गरेका थियो । यही कारण स–साना व्यवसायीले पनि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने र आफ्नो कारोबार बढाउन पाउने अवस्था बन्यो ।
पछिल्लो समय नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि यो बैंकले असाध्यै बढी मिहेनत गरेका छ । ‘बिग मर्जर’को अभ्यास थाल्नु अघि सबैभन्दा ठूलो बैंक बन्ने होडमा यो बैंक एक सशक्त दाबेदार बनिरहेको थियो । त्यसैले आफ्नो उक्त छबिलाई कायम राख्न पछिल्लो समय मेगा बैंकलाई गाभिएको छ । यससँगै बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा’ भएको हो ।
देशभर २७५ वटा शाखा सञ्जाल, ६० स्थानमा शाखारहित बैंकिङ, ६५ वटा एक्सटेन्सन काउण्टर र २६४ वटा एटीएम बूथ सहितको विशाल सेवासञ्जाल यो बैंकसँग छ । साथै, अमेरिका, चीन, भारत, कोरिया, हङकङ, जर्मनी, जापान, क्यानडा, ब्रिटेन, सिंगापुर र दुबईका विभिन्न बहुराष्ट्रिय बैंकहरुसँग अन्तरराष्ट्रिय कारोबारको साझेदारी पनि छ ।
यति व्यापक र विस्तारित सेवा सञ्जालका साथमा यही बैंक गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक भएको छ । बैंक तथा वित्तीय संस्थामात्रै होइन, जीवन र निर्जीवन बीमादेखि पुनर्बीमा कम्पनी र पूर्वाधार विकास बैंकहरुजस्ता वित्तीय क्षेत्रका सबै कम्पनीले भन्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ज्यादा कर दाखिला गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागको आयोजनामा “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस, २०८२ भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका अवसरमा सोह्र विधा अन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएकाे हो, त्यसैमध्ये एक संस्था नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेका हुन्। उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका साथै नेपाल दुरसञ्चार प्राधिकरण, थर्ड आई इन्टरनेशनल, डावर नेपाल, भेरिक्स नेपाल, पोषक ब्रिडर फार्म, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल र सोल्टी होटल लिमिटेडलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ।

आइएमई खल्तीको सीईओमा प्रवीण रेग्मी नियुक्त
आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।
यससँगै कम्पनीका सीईओ विनय खड्का कार्यकाल सकिएपछि कम्पनीबाट बाहिरिएका छन् । खल्ती र आईएमई पेबीच मर्जर भएपछि खड्का खल्ती आईएमई लिमिटेडको सीईओ बनेका थिए । त्यसअघि उनी साबिक खल्तीको सीईओ थिए । डिजिटल वालेट खल्तीलाई उचाइमा पुर्याउन खड्काले महत्त्वपूर्ण भूमिका खेलेका छन्।
हाल आईएमई खल्तीको सञ्चालक रहेका रेग्मीले अब कार्यकारी भूमिका निर्वाह गर्नेछन् । यसअघि साबिक आईएमई पेको सीईओ रहेका रेग्मी खल्तीसँग मर्जरपछि कम्पनीको सञ्चालक बनेका थिए ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ।
एनआईसी एशिया बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध
एनआईसी एशिया बैंक र नेशनल क्लीयरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इंटिग्रेट गर्न आग्रह गरेको थियो । यसका लागि एनआईसी एशिया बैंक समेत एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भएको छ । नेपालपे पूर्वाधारको कमर्शियल रोलआउट पश्चात् बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछन् ।
एनपीएस–एनसीएस प्रणाली विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टका लागि सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना भइरहेको छ । प्रणालीको पूर्ण कार्यान्वयनसँगै डोमेस्टिक कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको छ । उक्त सम्झौता सोमबार सम्पन्न भएको हो ।
सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा छुट्याउने तयारी गरेको छ ।
कम्पनीले कास्की जिल्लास्थित ईदी खोलामा निर्माण गरेको ‘इदी खोला जलविद्युत योजना’ बाट २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । जलविद्युत, बैंकिङ, बिमा तथा पूँजी बजार क्षेत्रका अनुभवी व्यक्तिहरूको सहभागितामा बनेको यस आयोजनालाई हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थका अनुसार कम्पनीले आगामी दिनमा अन्य जलविद्युत आयोजनासँगै सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ ।
सिद्धार्थ बैंकको लाभांश पारित
सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले लाभांश पारित गरेको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश साधारणसभाबाट स्वीकृत भएको छ ।
७० करोड ४४ लाख रुपैयाँ बराबर बोनस सेयर र ७७ करोड ९१ लाख रुपैयाँ बराबर नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण हुने बैंकले जनाएको छ । नगद लाभांश सेयरधनीको खातामा समेत जम्मा भइसकेको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्म वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवम् बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभाबाट पारित भएको छ ।
राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैंले लिन सकिने
राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो प्रणालीको सुरुवात गरेका हुन् ।
उनले वार्षिक ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणालीको समेत सुरुवात गरे ।
सो अवसरमा अर्थमन्त्री खनालले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा लगानीको आकर्षक गन्तब्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताए ।
सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ।
प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार, “‘वान मिलियन ट्रीज क्याम्पेन’ ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्याउने छ। एक मिलियन रूख लगाउने लक्ष्य नै आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम हो। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्याउने अपेक्षा छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देश भरि बाट १४८ वटा शाखा तथा उप शाखा बाट सेवा सुविधा दिदै आइरहेको छ।
एनपीएलको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकमा एभरेस्ट बैंक
नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकका रूपमा एभरेस्ट बैंक भित्रिएको छ। विराटनगरका ४ कर्पोरेट औद्योगिक घराना एमएम ग्रुप, अरिहन्त ग्रुप, देवेनरा ग्रुप र जयश्री ग्रुपको संयुक्त लगानीमा रहेको विराटनगर किङ्ग्समा एभरेस्ट बैंक प्रायोजकका रूपमा आएको हो। विराटनगर किंग्स र एभरेस्ट बैंकले आइतबार साँझ आयोजित समारोहमा प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतापत्रमा विराटनगर किंग्सका तर्फबाट देवनरा ग्रुपका वेंकटेश मुन्दडा र एभरेस्ट बैंकका क्षेत्रीय प्रबन्धक सुधीर गौतमले हस्ताक्षर गरे। समारोहमा विराटनगर किंग्सका सञ्चालक एवम् पूर्व राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले एनपिएलले राष्ट्रलाई एकताबद्ध गर्दै मुलुकको प्रतिष्ठा पनि वृद्धि गरिरहेको धारणा प्रकट गरे।
सञ्चालक लुनियाँले भने, ‘एनपिएलका ८ वटा टिममा विदेशबाट ४८ खेलाडी र अम्पायरसमेतको समूह सहभागी हुनुहुन्छ। यसले मुलुकको प्रतिष्ठा र साख उचो भएको प्रमाणित हुन्छ। राजनीतिले देशलाई अप्ठ्यारो पारिरहेका बेला खेलले सबैलाई एक ठाउँमा ल्याइरहेको छ।’
लुनियाँले खेलाडीले जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै हार नमान्ने उल्लेख गर्दै हारेको खेलाडी उठेर फेरि खेलेर जित्छु भन्ने साहसका साथ अघि बढ्ने बताए। उनले विराटनगर किंग्सले गत वर्षको खेलमा छैठौँ स्थान हासिल गरेको र यस पटक विजेता हुने विश्वास व्यक्त गरे।
‘यसका लागि हामी यथेष्ट मेहनत गरेका छौँ। खेलाडीलाई मुम्बईसम्म लगेर अत्याधुनिक प्रशिक्षण गराएका छौँ। कोशी प्रदेशका १४ प्रदेशमै ट्यालेन्ट हन्ट गराएका छौँ। अनि योग्य र उत्कृष्ट खेलाडीको समूह तयार गरेका छौँ’, उनले भने।
लुनियाँले सन् १९८३ मा भारत विश्वकपमा विजयी हुँदा धेरै भारतीयले आफ्ना छोराको नाम कपिलदेव राखेको स्मरण गर्दै हामीले एउटा मात्र सर्वोत्कृष्ट खेलाडी उत्पादन गर्नसक्यौँ भने त्यसले विश्वभरि मुलुकको नाम र प्रतिष्ठा वृद्धि गर्ने चर्चा गरे।
बैंकका क्षेत्रीय प्रबन्धक गौतमले खेलले विकास र अनुशासनको भावनालाई सुदृढ बनाउने उल्लेख गर्दै बैंक कठिन परिस्थितिमा पनि विराटनगर किंग्सको प्रायोजकका रूपमा आएको बताए। प्रबन्धक गौतमले एभरेस्ट बैंक स्थापनाकालदेखि नै कठिनभन्दा कठिन समयमा पनि आफ्नो सामाजिक दायित्वबाट टाढा नगएको जिकिर गरे।
कामना सेवा विकास बैक र होटल सब्रिनाबीच सम्झौता
कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे ।
विदेशी मुद्रा सञ्चिती २९ खर्ब ७९ अर्ब नाघ्याे
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रूपैयाँ नाघेकाे छ ।
२०८१ असार मसान्तमा रु.२६खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई रु.२६६७ अर्ब ७० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
रेमिट्यान्समा रेकर्ड ब्रेक : एक महिनामै नेपाल भित्रियो २ खर्ब
नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दरमा वृद्धि भएको छ । तीन महिनामै साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोजसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल आएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३४.४ प्रतिशत धेरै हो । गत आवको असोज मसान्तसम्म कुल ४ खर्ब ८ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ मात्रै भित्रिएको थियो । गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १९.९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड बढी रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । मासिक रुपमा यति ठुलो आकारमा रेमिट्यान्स हालसम्म आएको छैन् । गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आएको थियो ।
विशेषगरि नेपालीहरुको ठुला दुई चाडपर्वका कारण पनि रेमिट्यान्स उल्लेख्य बढेको हो । यो वर्षको दशैं असोज १६ गते थियो । तिहार पनि कात्तिकको पहिलो साता नै परेको थियो । नेपालका दुई ठुला पर्वका कारण पनि रेमिट्यान्स वृद्धि भएको हो ।
गत भदौमा पनि १ खर्ब ७४ अर्ब ६७ करोड र साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको आँकडा छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशत बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशत बढेको थियो ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्सको आकार पनि बढ्दै आएको हो ।
तीन महिनामै १ लाख २३ हाजर ४५९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो संस्थागत र व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या हो । नयाँ श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ११.५७ प्रतिशत वृद्धि भएको छ । जबकि, गत वर्षको असोज मसान्तसम्म कुल १ लाख १० हजार ६५४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यता, पुन: श्रम स्वीकृति लिनेको संख्या पनि २८.८९ वृद्धि भई ७७ हजार २५७ पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो संख्या ५९ हजार ९३९ जना रहेको थियो ।












