नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
भोलि अर्थात् कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरे ।
बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागि आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको बताएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
‘उच्च मनोवलले काम गर्नुस्, व्यबसायीहरु कालो सूचिमा पर्दा मेरो मन दुख्छ’ : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताए । उनले -हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्यो भन्दै नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएको उल्लेख गरे । हरेक कुरा हामीमै निर्भर रहने भन्दै उनले सम्पूर्ण काम र आर्थिक क्रियाकलापमा पनि मनोबल उच्च राख्न आग्रह गरे । उनले भने – ‘ मलाई लाग्छ, सरकारको सन्देश पनि त्यही हो, केन्द्रीय बैंकबाट त म यो कुरा तपाईंहरूलाई सधैँ भन्छु, कहिलेकाहीँ हामीसँग पैसा पनि हुन्छ, तर मनोबल एकदमै कम हुन्छ अहिले पैसा छ, अहिले हामीले बाहिर गएर माग्न पनि पर्दैन।’ उनले सरकारले साँच्चै खोज्न जाने हो भने २.७५ प्रतिशत ब्याजदरमै रकम पाइने हुँदा अहिलेको अबस्था एउटा अबसर पनि भएको बताए ।
अहिले नेपाली बैंकहरूमा कतिपय समस्या आएको उल्लेख गर्दै उनले पुरानो व्यवसायिक घरानाहरूलाई पुरानो कर्जा तिर्न र नयाँ सस्तो दरको कर्जा लैजान आग्रह गरे । तर पुरानो ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने काम गर्दा आफैलाई नोक्सान हुने उनले उल्लेख गरे । उनले कुनै उद्योग वा कुनै फर्महरूले काम गरिरहेको छैन भने, त्यसलाई छाडेर नयाँ व्यबसायमा होमीन पनि आग्रह गरे । पुरानै संरचना र पुरानै तरीकाको उद्योग संरक्षण गरिराख्न जरुरी नभएको उनको भनाई छ । -‘तपाईंहरूले हरेक कुरामा पुनर्संरचना मात्रै भनिराख्नु हुँदैन, अनुकूलन भएन भने छाडेर अर्को सुरु गर्न पनि सक्नुपर्छ ’ उनले भने ।
निजी क्षेत्रबाट धेरै मागहरू नियमित रूपमा आएको उल्लेख गर्दै गभर्नर पौडेलले राष्ट्र बैंकबाट सकेसम्म सबैलाई सम्बोधन गर्ने प्रयास गरेको बताए । उद्योगी र व्यबसायीहरु कालो सूचिमा पर्ने काम आफूलाई निकै नमज्जा लाग्ने गरेको उल्लेख गर्दै उनले एकदम ठूलो सङ्ख्यामा कालोसूचीमा परेको विषयलाई आफूले चिन्ताको रूपमा लिएको बताए ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभाँस दिने
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने जनाइएको छ ।
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एकै पटक ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका छन्। १८ जना कार्यकारी निर्देशकमध्ये ११ जनालाई उनले चलाएका हुन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई मानव संशाधन विभाग पुर्याइएको छ भने उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई ल्याइएको छ। विदेशी विनिमयका रेवतीप्रसाद नेपाललाई सम्पति तथा सेवा व्यवस्था विभाग लगिएको छ। त्यहाँका रोशनकुमार सिग्देललाई बैंकिङ विभाग पुर्याइएको छ।
डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा लगिएको छ। डा. डिल्लीराम पोख्रेललाई बैंकिङबाट मौद्रिक व्यवस्थापनमा लगिएको छ। गभर्नरले गरेको सरुवा कर्मचारी माझ विवादमा परेको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेलको प्रभाव र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको खेलोफड्कोमा तालमेल नै नमिलाइ सरुवा गरिएको कर्मचारीहरु बताउँछन्। छोटो समयमै कार्यकारी निर्देशकहरु चलाइएको छ। दसैंअघि मानव संशाधन विभागका कार्यकारी निर्देशक भएका बिश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग पुर्याइएको छ। तिमिल्सिनादेखि पण्डितसम्मको सरुवा छोटो अवधिमा गरिएको छ।
केही दिनअघि कार्यकारी निर्देशकमा बढुवा भएका राजन विक्रम थापालाई एकीकृत नेकपा माओवादी समर्थक भनेर शरण अधिकारीको प्रभावमा गभर्नर कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको कर्मचारीको आरोप छ। गुरु पौडेललाई हटाउनमा पूर्व अर्थमन्त्री पौडेलको जोडबल रहेको बताइन्छ। बाँकी कार्यकारी निर्देशकहरु शरण अधिकारीको तजबिजीमा चलाइएको कर्मचारीहरुको आरोप छ।
‘शरणजी खासमा संचालक समितिको सचिवमा मात्र सीमित हुनु पर्नेमा उहाँले अहिले सहायक गभर्नरकै रुपमा काम गरिरहनु भएको छ’ एक कार्यकारी निर्देशकले भने, ‘निर्देशक तहका कर्मचारीले गभर्नर भेट्न पनि उहाँको अनुमति चाहिने वातावरणको सृजना गराउनु भएको छ। अधिकारीले आफूलाई नजानिँदो पाराले नियन्त्रण गरिरहेको भन्ने कुरा गभर्नरले महशुस नगरेको हुन सक्छ।’

निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन
नेपाली कांग्रेसले निर्वाचनअघि नै महाधिवेशन गर्ने निर्णय गर्ने भएको छ। जारी केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकालाई हुबहु पारित गर्ने तयारी गरेको छ। महाधिवेशनमार्फत नेतृत्व फेरेरमात्र निर्वाचनमा जानुपर्ने आवाज कांग्रेसमा बलियो बन्दै गएसँगै केन्द्रीय समितिले गगनको कार्यतालिका सदर गर्ने तयारी गरेको एक पदाधिकारीले जानकारी दिए। ‘विशेष महाधिवेशनदेखि नियमित महाधिवेशनको दबाब चर्किएको छ। यसैले पनि चुनावअघि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्छ भन्नेमा लगभग केन्द्रीय पदाधिकारी पुगिसकेका छन्,’ ती पदाधिकारीले भने।
गगनले १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव केही दिनअघि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए। संस्थापनइतरका नेता डा शेखर कोइराला र अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनको प्रस्तावलाई साथ दिएकामा संस्थापन पक्षकै कतिपय नेता पनि निर्वाचनअघि महाधिवशेन गर्नुपर्ने पक्षमा उभिएका छन्। शेखरले शुक्रबार आफू पक्षीय जिल्ला सभापतिहरुसँग पुसमै महाधिवेशन गर्नुपर्ने बताएका थिए। ‘बाहिर मौनता साँधेको भन्ने हल्ला छ। महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्ने माग चर्किएको छ। हाम्रो लाइन के हो?’ छलफलमा जिल्ला सभापतिहरुले शेखरलाई प्रश्न गरेका थिए।
जवाफमा कोइरालाले आफू दुई वर्षदेखि नै नियमित महाधिवेशनको पक्षमा रहेको र अहिले पनि त्यही अडानमा रहेको बताएका थिए। ‘दुई वर्षदेखि नै म नियमित महाधिवेशनको पक्षमा छु। पुसमा महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर मात्र चुनावमा जानुपर्छ,’ कोइरालाले जिल्ला सभापतिहरुसँगको भेटमा भनेका थिए। विश्वप्रकाश पनि विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न निर्वाचनअघि महाधिवेशन गर्नैपर्ने बताउँछन्। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो? विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्छ,’ शर्माले आइतबार भनेका छन्।
संस्थापन पक्षका पुराना नेताहरुले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखेपछि यही समूहमा असन्तुष्टि देखिएको छ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर निर्वाचनमा नयाँ नेतृत्व लिएरमात्र जानुपर्ने भन्दै गगनको पक्षमा खुलेका छन्। सभापति शेरबहादुर देउवा समूहबाट १४औं महाधिवेशनमा सहमहामन्त्री जितेका मन्सुरले यो पटक महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुपर्ने प्रस्ताव नै राखेका छन्।
देउवा समूहका असन्तुष्ट नेताहरु आइतबार सोल्टीमोडस्थित एक होटलमा भेला राखेका थिए। केन्द्रीय सदस्य राजेन्द्र केसीले डाकेको भेलामा उपस्थिति नेताहरुले नियमित महाधिवेशनको पक्षमा उभिने निर्णय गरेका छन्। भेलामा देउवा पक्षका २५ केन्द्रीय सदस्यलाई डाकिएकामा १५ जना सहभागी थिए। ‘भेलामा १५ जना सहभागी थिए। नियमित महाधिवेशनमै जोड दिनुपर्छ भन्ने सहमति जुटेको छ,’ ती केन्द्रीय सदस्यले भने। भेलामा पुष्पा भुसाल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्यलगायत थिए।
देउवा पक्षका अर्का केन्द्रीय सदस्य मदन अमात्यले आफू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको र कार्यवाहक सभापतिलाई खुला पत्र लेख्ने तयारी गरेको बताए। ‘म खुला पत्र लेख्दैछु। निर्वाचनअघि नै महाधिवेशन हुनुपर्छ भन्ने आम कार्यकर्ताको माग हो नि,’ अमात्यले भने। यसरी संस्थापन पक्षकै नेता निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि कांग्रेसले केन्द्रीय समिति बैठकबाट गगनले पेस गरेको कार्यतालिका सदर गर्ने तयारी गरेको हो।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ। निर्वाचन भएमा सार्नेगरी यो निर्णय सर्वसम्मत हुने नेताहरु बताउँछन्। ‘अहिले पुसमै महाधिवेशन गर्ने प्रस्तावलाई सदर गर्ने र अनेक कारण देखाएर निर्वाचनपछि सार्ने संस्थापन पक्षको रणनीति छ,’ कांग्रेसका अर्का पदाधिकारीले भने। करिब एक महिनाअघि सुरु भएको केन्द्रीय समितिमा बल्ल १२० जनाले आफ्नो धारणा राखेका छन्। १६७ सदस्यीय केन्द्रीय समितिमा अझै ४५ जनाले धारणा राख्न बाँकी छ।
सुधन गुरुङले नमानेपछि कुलमानले अन्तिममा फेरे पार्टीको नाम
ऊर्जासहित तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङले दल दर्ताका लागि सोमबार निवेदन दिने भएका छन्। कुलमानले ‘नेपाल जनसेवा पार्टी’ दर्ताका लागि निवेदन दिने भएका हुन्।
यसअघि ‘उज्यालो नेपाल’ पार्टी दर्ता गर्ने भनिएकामा कुलमान आइतबार विभिन्न समूहसँग छलफलपछि ‘नेपाल जनसेवा पार्टी’ गठन गर्ने निर्णयमा पुगेका हुन्।
‘दलको नाम नेपाल जनसेवा पार्टी र नारा उज्यालो नेपालका लागि जनसेवा पार्टी राख्ने पक्कापक्की भएको छ,’ कुलमान निकट एक नेताले भने।
स्रोतका अनुसार हामी नेपालका संयोजक सुधन गुरुङले ‘उज्यालो नेपाल’ नाममा असहमति जनाएपछि कुलमानले अन्तिममा पार्टीको नाम फेरेका हुन्।
कुलमानको नेतृत्वमा गठन हुने पार्टीमा सुधनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि रहनेछन्। उनको दललाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को पनि साथ रहने भनिएको छ।
कुलमानले जेनजी नेता र उद्योगीलाई पार्टीमा समेट्न लागेका छन्। त्यसका लागि उनले छलफल गरिसकेका छन्।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थामा छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ हस्पिटालिटी तिनकुने काठमाडौं लगायतका सम्पुर्ण आउटलेटहरु आवासमा २० प्रतिशत र खाना तथा पेय पदार्थ १० प्रतिशत, बन्दीपुर माउण्टेन रिर्सोट बन्दीपुर तनहुँमा खाना तथा आवास ७ प्रतिशत, स्माईल ३६० डेण्टल क्लिनिक सामाखुशी काठमाडौंकम दन्त सेवामा २० प्रतिशत, बन्दीपुुर बजार घर बन्दीपुर तनहुँमा खाना तथा आवासमा ७ प्रतिशत, लन्जेभिटि हेल्थ होम ललितपुर महानगरपालिका–३ टुटेपानीमा अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअप लगायतका सेवामा २० प्रतिशतसम्म छुट दिइने सहमती भएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।
यसअन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।
बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरेको हो । कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको थियो । कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिदै यो एउटा सफलता सिढि मात्र हो भने अझ ठूला सफलताहरु अगाडि रहेकाले सो एचिभ गर्न सम्मानीतहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरेका थिय ।
कार्यक्रममा फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरेका थिए ।
सिटिजन्स बैंकले ल्यायो क्यूआर मर्चेन्ट लोन, ५ लाखसम्म ऋण लिन सकिने
सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरूलाई आधुनिक र सहज बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यका साथ नयाँ डिजिटल ऋण योजना ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको छ । बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि ल्याइिएको यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ ।
यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा प्रदान गरिनेछ । सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्टको रूपमा कारोबार गरेको हुनुपर्नेछ । योग्य ग्राहकहरूले आफ्नो ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ, जसको भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ ।
सिटिजन्स बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ । बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले ‘क्यूआर मर्चेन्ट लोन’ योजना बैंकको डिजिटल वित्तीय सेवामा एउटा कोसेढुङ्गा सावित भएको बताउँदै यसले ग्राहक र बैंकबीचको सम्बन्ध अझ सहज र गतिशील बनाउने विश्वास व्यक्त गरे ।
कामना सेवा फुट्सल कप सिजन–५ सम्पन्न, सिद्धार्थ र लुम्बिनीले जिते उपाधि
कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप सिजन–५’ शनिबार सम्पन्न भएको छ।
पुरुष तर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २–० ले पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै, महिला तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई. बैंकलाई १–० ले हराउँदै यस सिजनको उपाधि कायम राख्न सफल भएको छ।
वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको यो फुट्सल प्रतियोगिता बैंकको कर्मचारीबीच आपसी सहयोग, खेल spirit र स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हो।
विजेता र उपविजेता टोलीहरूलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन बैंकका डि.सी.ई.ओ. विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गर्दै गरेका थिए। समापन कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे।
प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ९ टिम सहभागी भएका थिए। बैंकका विभिन्न विभागीय प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा खेलहरू उल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए।
यस्तै, बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा कार्तिक २७ गते बिहीबार देशव्यापी रक्तदान कार्यक्रम पनि आयोजना गर्ने तयारी गरेको छ।
एन आई सी एशिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी कार्ड सुविधा प्रदान गर्ने भएको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेसनल कार्ड स्वीच’ तथा ‘नेपालपे कार्ड’को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।
कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
यो सम्झौतासँगै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच प्रणालीमा जोडिएको छ। यसपछि बैंकले आफ्ना ग्राहकहरूका लागि एनसीएचएलद्वारा सञ्चालित नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी गर्न र उक्त कार्ड स्वीकार गर्न सक्नेछ।
एनपीएस–एनसीएस विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गरी डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि स्थापित एक केन्द्रीय प्रणाली हो। यो प्रणालीको कार्यान्वयनले घरेलु कार्ड कारोबारको लागत घटाउन, भुक्तानीसम्बन्धी डाटालाई स्थानीयकरण गर्न र डिजिटल भुक्तानी इकोसिस्टममा नवीनतम उपकरणहरूको विकासलाई बढावा दिन मद्दत पुग्ने विश्वास लिइएको छ।
एनसीएचएलको यस प्रणालीमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरू आबद्ध भइसकेका छन्। देशभर ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटीएम टर्मिनल मार्फत सेवा प्रदान गर्दै आएको अग्रणी विकास बैंक शाइन रेसुङ्गाको यो सहकार्यले डिजिटल भुक्तानीको पहुँचलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।












