जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा ३ अर्ब

प्राइम कमर्सियल बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १९.६८ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले ४१ करोड रुपैयाँ रहेकोमा अहिले ४८ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७९.३२ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.८६ प्रतिशत रहेकोमा अहिले ५.८६ प्रतिशत छ । बजार मूल्य प्रतिकित्ता २४५ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.९२ बाट घटेर ६.०८ प्रतिशतमा झरेको छ ।

कृषि विकास बैंकको नाफा करिब ९७ प्रतिशत घट्यो

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरे पनि प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४२ करोड रुपैयाँ छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले बढेको छ । जसले नाफामा सिधा असर परेको छ । यस्तो रकम पहिले ९० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २३९.५२ रुपैयाँ छ । निष्क्रिय कर्जा उत्ति नै छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.७८ प्रतिशत रहेकोमा अहिले पनि त्यति नै छ । बजार मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.०७ बाट घटेर ५.४२ प्रतिशतमा झरेको छ ।

माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ ।

साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ । सोका लागि मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ । विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

२० प्रतिशत घट्यो एनएमबी बैंकको नाफा

एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । पहिले लोन लस प्रोभिजन रकम ३ करोड ‘रिभर्सल’ गरेकोमा अहिले ७१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४८ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २४.९५ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ३.६३ प्रतिशत रहेकोमा अहिले ४.५८ प्रतिशत छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ (प्रतिसेयर ८.०९ रुपैयाँ) छ । बजार मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.४९ बाट घटेर ५.८९ प्रतिशतमा झरेको छ ।

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशत घट्यो

सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा असर परेको छ । लोन लस प्रोभिजन रकम पहिले १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।

खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले १०.६४ रुपैयाँ रहेकोमा अहिले ९.०३ रुपैयाँ छ ।

बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ हो । बैंकको आधार दर ७.५८ प्रतिशत रहेकोमा अहिले ५.९० मा झरेको छ ।

डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको फड्को

नेपालमा डिजिटल भुक्तानी तीव्र गतिमा विकास भइरहेको छ । वित्तीय कारोबार शैलीमा परिवर्तन ल्याउन डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्त्वपूर्ण लगानी गर्दै आएका छन् ।

यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा सिद्धार्थ बैंक सकारात्मक र महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

डिजिटल उपकरण एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले विशेष प्राथमिकता दिएको छ ।

एटीएममार्फत कारोबार
नेपालभर हाल ५ हजार २६३ वटा एटीएम सञ्चालनमा छन्, जसमा सिद्धार्थ बैंकको एटीएम संख्या २२९ छ । जुन कुल संख्याको करिब ४ प्रतिशत हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अवधिमा देशभरका एटीएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोही अवधिमा सिद्धार्थ बैंकका एटीएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ७ प्रतिशत हिस्सा हो ।

एटीएम संख्यामा ४ प्रतिशतको हिस्सा भए पनि कारोबारको रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्न बैंक सफल भएको छ । एटीएम सेवा सहज र भरपर्दो बनाउनका लागि छुट्टै इकाइमार्फत सञ्चालन र प्रदर्शनको नियमित निगरानी गरिँदै आएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल करिब २ करोड ७७ लाख पुगेको छ । एउटै व्यक्तिले विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्याले समग्र प्रयोग प्रवृत्तिलाई झल्काउँछ ।

सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन् जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा सिद्धार्थ बैंकका मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ ।

ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान देखिन्छ । बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि प्रविधिमा उल्लेख्य लगानी गरेको छ र मोबाइल बैंकिङ प्रणालीको कार्यक्षमता बढाउन नियमित सुधार र परिमार्जन गर्दै आएको छ ।

साथै, सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ । ग्राहकहरूलाई सहज रूपमा डिजिटल कारोबारमा सहभागी गराउन बैंकले निरन्तर प्राविधिक सुदृढीकरण र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । यसले बैंकको डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै देशको डिजिटल वित्तीय प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍इरहेको बैंकको भनाइ छ ।

प्ले स्टोरमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपीको रेटिङ ४.२ बाट सुधार भएर ४.६ स्टारमा पुगेको छ । त्यस्तै, एप स्टोरमा पनि रेटिङ २.९ बाट बढेर ४.६ स्टारमा पुगेको छ । ‘यी उल्लेखनीय सुधारको परिणामस्वरूप बैंकस्मार्ट एक्स्पी नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

डेबिट कार्ड
हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन् तीमध्ये सिद्धार्थले मात्र ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ ।

गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा, सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको बजार हिस्सालाई ७ प्रतिशतमा स्थापित गरेको छ ।

क्रेडिट कार्ड
हालसम्म बैंकहरूले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ । यस आधारमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

‘क्रेडिट कार्ड क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउन निरन्तर प्रयास हुँदै आएको छ’ बैंकले भनेको छ ‘यसका लागि लक्षित ग्राहकलाई ध्यानमा राखी उपयुक्त योजनाहरूको साथ कार्ड वितरण गरिँदै आएको छ ।’ साथै, बैंकले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ग्राहकहरूलाई विविध छुट र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

बैंकको ‘सिद्धार्थ रिवार्डस् प्लाटफर्म’ मार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ।

सिद्धार्थ बैंकले क्रेडिट कार्ड सेवामा सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई सरल र प्रयोगमैत्री बनाएको छ । यसले ग्राहकलाई सहज भुक्तानी अनुभव प्रदान गर्दै, डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्‍याइरहेको छ ।

प्रिपेड कार्ड
हालसम्म बैंकहरूले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरिसकेका छन् तीमध्ये सिद्धार्थ बैंकको हिस्सा १४५ अर्थात् ३४ हजार २२४ कार्ड रहेको छ । कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८ प्रतिशत छ ।

बैंकले प्रिपेड कार्ड सेवालाई सहज, भरपर्दाे र ग्राहकमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम हुँदै आएको बैंकको भनाइ छ ।

यसले ग्राहकहरूले आवश्यकता अनुसार सहजै कारोबार गर्न सक्ने वातावरण तयार गरेको छ । ‘नयाँ सुविधा र अपडेट समयमै उपलब्ध गराउँदै ग्राहक अनुभव अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिइँदै आएको छ’ बैंकले भनेको छ ।

भर्चुअल ई–कम तथा क्रेडिट कार्ड
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ, जसलाई मोबाइल बैंकिङको इजीबैंक सेवा मार्फत प्रयोग गर्न सकिन्छ । यस कार्डको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झटमुक्त र सजिलो भएको छ ।

त्यति मात्र होइन, बैंकले चाँडै सिद्धार्थ फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसबाट ग्राहकले क्युआर स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन् । यी डिजिटल सेवाहरूले ग्राहकलाई समय र स्थानको कुनै सीमा बिना सहज रूपमा कारोबार गर्न मद्दत पुर्‍याउनेछ । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ ।

वृद्धिदर
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटीएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेर आफ्नो सेवा विस्तार गरेको छ । बैंकहरूले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशत वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ ।

क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९ हजार ९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ, जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ ।

प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।

‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।

त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ ।

डोल्मा ग्रुपलाई पुँजीगत लाभकर छुट दिने संझौतापछि अर्थमन्त्री विवादमा तानिए

मोरिससको ‘सेल कम्पनी’ मा लगानी गरेको डोल्मा ग्रुपलाई नेपालमा लगानी ल्याउने सरकारको संझौता विवादास्पद बनेको छ । डोल्मालाई कर छुट दिने गरी नेपाली बजारमा लगानी भित्राएको विषय विवादास्पद भएको भन्दै अर्थमन्त्री आलोचित बनेका छन् । यस्तै किसिमको संझौतामा यसअघि एनसेललाई दोहोरो कर लाग्ने विषय नेपालको सर्वोच्च अदालत पुगेको थियो । एनसेललाई पुँजीगत लाभकर बुझाउन भनिएको थियो ।

डोल्मा ग्रुपलाई पुँजीगत लाभकर छुट दिनेगरी सरकारले संझौता गरेको छ। । खनाल अर्थमन्त्री भएपछिको यो निर्णय विवादास्पद निर्णय मानिएको छ । सरकारले ‘ट्याक्स हेभन कन्ट्री’ मोरिससको ‘सेल कम्पनी’ मार्फत नेपालमा लगानी ल्याएको र उक्त कम्पनीलाई आयकर छुट दिने निर्णय गरेको बुझिएको छ । नेपालमा १६ वटा कम्पनीमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिन सरकारले मोरिससँगको सन्धिमा आधारित छ ।

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।

बैंकका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश गरेर १३ प्रतिशत प्रतिफल पाउनेछन्। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित ९.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि लगानीकर्ताले प्रतिफल पाउनेछन्।

नबिल बैंकको नाफामा १४ प्रतिशतले गिरावट

नबिल बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म बैंकको खुद नाफा १४.५६ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो। पोहोर ३ महिनामा बैंकले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। कर्जा नोक्सानी बढेर ब्याज आम्दानी घट्दा नाफामा गिरावट आएको छ।

बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा करिब ८० करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ। गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी र ७५ करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको थियो।

बैंकले नोक्सानी व्यवस्थाका लागि ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। पोहोर यही अवधिमा बैंकले ४५ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो। ब्याजदर घट्दा बैंकको ब्याज आम्दानी घटेर ९ अर्ब ८० करोडमा सीमित भएको छ। गत आवको असोज मसान्तसम्म बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा १ अर्ब रुपैयाँले घटेको हो।

बढेको प्रोभिजनिङले बैंकको नाफा प्रभावित भएको हो। नाफा घट्दा बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ। गत आवको असोज मसान्तमा ३९ रुपैयाँ ८३ पैसा रहेको ईपीएस २५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। बैंकले ५ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ३ महिनामा बैंकले निक्षेप ३२ अर्बले बढाउँदा ९ अर्ब रुपैयाँ बराबरको कर्जा थप गरेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात गत आवको सोही अवधिको तुलनामा सामान्य बढेर ४.३१ प्रतिशत कायम भएको छ। गत आवको असोज मसान्तसम्म यस्तो अनुपात ४.२४ प्रतिशत थियो। बैंकको प्राथमिक पुँजी कोष अनुपात घटेर ९.५५ प्रतिशत हुँदा र पुँजीकोष अनुपात सामान्य बढेर १२.६७ प्रतिशत कायम भएको छ।

असोजसम्म बैंकको औसत बेसरेट ५.५८ प्रतिशत छ। यसैगरी, नेटवर्थ प्रति सेयर २४० रुपैयाँ ७२ पैसा, रिटर्न अन इक्विटी १०.७० प्रतिशत र पीई रेसियो १९.९७ छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई दियो

नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पौडेललाई प्रबक्ताको जिम्मेवारी दिईएको नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

सूचनामा उल्लेख भएअनुसार पौडेल केन्द्रीय बैंकमा मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । वि.सं २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका उनले हालसम्म बेंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण लगायतका विभागहरुमा सकुशल नेतृत्व संहालीसकेका छन् ।

एनआईसी एशिया बैंकका नवनियुक्त सिईओ शाक्यद्वारा पदभार ग्रहण

एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुजित कुमार शाक्यले आफ्नो पदभार ग्रहण गरेका छन् । बैंकको २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय अनुसार सिईओ पदमा नियुक्त शाक्यले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमै विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्यले दिल्ली विश्वविद्यालय, भारतबाट ब्याचलर इन कमर्श र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सन् १९९६ मा तत्कालिन नेपाल–श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक, लक्ष्मी बैंक र सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरे।

बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउने क्रममा, मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धक र कर्पोरेट बैंकिङ प्रमुखको रूपमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।

यसअघि शाक्यले सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए भने, नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनु अघि बैंकिङ क्षेत्रमा व्यापक अनुभव प्राप्त गरे।

उनको नेतृत्वमा एनआईसी एशिया बैंकले आगामी दिनमा सेवा विस्तार, नवप्रवर्तन र वित्तीय स्थायित्वमा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।