जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार

उद्योगीहरूरुले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विद्युत् महसुल तिर्न सामूहिक अस्वीकार गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले भने डेडिकेटेड तथा ट्रंक लाइन महसुल किस्ता बुझाउन ताकेता गरेको मिति घर्किएसँगै लाइन काट्न थालेको छ ।
यसै सन्दर्भमा पीडित तथा प्रताडित उद्योग समूह (नेपाल) ले विज्ञप्ति जारी गर्दै उद्योगीहरूले महसुल तिर्न अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका छन् । यो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको दाबी उद्योगीले गरेका छन् । उनीहरूले प्राधिकरणबाट आउने वैध शुल्क तिर्नबाट भने नपन्छिएको बताएका छन् ।

‘यो संस्थागत स्वेच्छाचारिता र प्रमाणहीन शक्तिविरुद्ध लडाइँ हो, जसले हरेक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ ,’ उद्योगीहरूले सुशासनका लागि हालै आन्दोलनमा उत्रेको युवा पुस्ता (जेनजी) लाई सम्बोधन गर्दै प्रश्न गरेका छन्, ‘प्रमाण छैन भने भुक्तानी किन गर्ने ?’

यस्तो छ उद्योगीले सामूहिक निर्णय गर्नुका कारण
सामूहिक अस्वीकार
यो विवाद एक–दुई कम्पनीको मात्र होइन, ३० भन्दा बढी ठूला उद्योगहरूको साझा समस्या हो । बितेका सात वर्षभन्दा बढी समयदेखि कुनै पनि उद्योगले डेडिकेटेड लाइनको प्रिमियम सेवा प्रयोग गरेको कुरा स्वीकार नगर्नुले प्राधिकरणको बिलिङ प्रणाली र प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पार्छ ।

प्रमाणको माग
हाम्रो माग पारदर्शी र न्यायपूर्ण छ । हामीले प्राधिकरणद्वारा गठित लाल आयोगको प्रतिवेदन र टीओडी मिटर डाटा अर्थात् लोडसेडिङको बखत उद्योग सञ्चालन गरेको प्रमाणका आधारमा मात्रै दायित्व निर्धारण गर्नुपर्ने माग गर्दै आएका छौं । कसरी भुक्तानी गर्ने, जब प्राधिकरणसँग हामीले सेवा उपयोग गरेको प्रमाण नै छैन ?

स्वेच्छाचारी कदम
प्राधिकरणले कानुनी प्रक्रिया लत्याएको छ । उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाइ त्यस प्रक्रियाका लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि प्राधिकरण सञ्चालक समितिले सम्पूर्ण प्रक्रिया र कामकारबाही स्वेच्छाचारी ढंगले रद्द गरिदियो । यो संस्थागत अन्याय र कानुनी शासनप्रतिको घोर उपेक्षा हो ।

राष्ट्रिय क्षति : आर्थिक आत्मघाती कदम
बिजुली काट्ने धम्की ऋण उठाउने वैध रणनीति होइन, यो राष्ट्रिय अर्थतन्त्रलाई आत्मघाती नोक्सान पुर्‍याउने कदम हो ।

१५ हजार रोजगारीको जोखिम
यो विवादमा संलग्न उद्योगहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् । बिजुली काटिएमा यी उद्योग बन्द हुनेछन् र हजारौं नेपाली परिवारको रोजीरोटी खोसिने छ, जुन अहिलेको आर्थिक मन्दीको समयमा सबैभन्दा ठूलो सामाजिक संकट हुनेछ ।

राज्यको राजस्व नोक्सान
हामी प्राधिकरणलाई मासिक १ अर्ब रुपैयाँभन्दा बढी नियमित महसुल बुझाउने विश्वसनीय उपभोक्ता हौं । ऐतिहासिक विवादित ऋण उठाउने नाममा यो स्थिर राजस्वको स्रोतलाई जोखिममा पार्नु राष्ट्रिय हित विपरीत छ ।

क्षतिको अनुपात (४:१)
यसअघि २३ उद्योगको २२ दिनका लागि बिजुली काट्दा उद्योग क्षेत्रले १२ अर्ब रुपैयाँभन्दा बढी क्षति बेहोरेको थियो, जबकि राज्यले भन्सार, अन्त:शुल्क र आयकर समेत गरी ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको थियो । यस ४:१ को नोक्सानको अनुपातले राज्यको आक्रामक कदमले देशलाई नै ठूलो क्षति पुर्‍याउने पुष्टि गर्छ ।

न्यायपूर्ण सुशासन आह्वान
यो विवाद नेपालको सुशासन परीक्षाको घडी हो । प्राधिकरणले सुरुमा २० अर्ब रुपैयाँभन्दा बढी बक्यौता दाबी गरे पनि पछि लाल आयोगले यसलाई घटाएर ६ अर्ब रुपैयाँ मात्रै उठाउन सिफारिस गरेको थियो । यो ठूलो भिन्नताले सुरुको बिलिङ स्वेच्छाचारी थियो भन्ने हाम्रो दाबीलाई प्रमाणित गर्छ । हामी सरकार र प्राधिकरणलाई न्याय र जवाफदेहिताका लागि युवा पुस्ताले स्थापना गरेका सिद्धान्तलाई सम्मान गर्न आग्रह गर्दछौं ।

प्रमाणको प्रतिबद्धता
टीओडी मिटर डाटा प्रयोग गरी पारदर्शी र प्रमाणमा आधारित दायित्व निर्धारण गरियोस् ।

कठोरता अन्त्य गरियोस्
तत्काल बिजुली काट्ने सम्पूर्ण धम्की र स्वेच्छाचारी कदमहरू स्थगित गरियोस् ।

प्रक्रियाको सम्मान
प्रशासकीय र कानुनी प्रक्रियाको सम्मान गरियोस् ।

हामी भुक्तानीको विरोधमा होइनौं
हामी प्रमाणहीन र स्वेच्छाचारी शक्तिको विरोधमा छौं । जबसम्म प्रमाणमा आधारित न्याय मिल्दैन, तबसम्म राष्ट्रिय अर्थतन्त्र र १५ हजारभन्दा बढी नागरिकको रोजीरोटीको रक्षाका लागि हाम्रो अडान कायम रहने छ ।

डेडिकेटेड ट्रंकलाइन विवाद: बक्यौता नतिर्ने उद्योगमा भोलि लाइन काटिने

डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगीलाई उज्यालोमा लक्ष्मीपूजा मनाउन दिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिरकणले आज लक्ष्मीपूरा मनाउन दिने र बक्यौता नतिर्ने उद्योगीको मंगलबार लाइन काट्ने भएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले अनुसार आज लक्ष्मी पूजाको दिन बत्ति दिने र भोलिदेखि मात्रै काट्ने विषयमा करिब टुंगोमा पुगेको क्लिकमान्डुलाई बताए।

यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो । बक्यौता नतिर्ने उद्योगीको आजैबाट लाइन काट्नुपर्ने भएपनि एक दिनलाई समय दिने मिश्रले जानकारी दिए ।

अहिलेका ऊर्जामन्त्री कुलमान घिसङ प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा डेडिकेटेड र ट्रंक लाइनको छुट बिल भन्दै प्रिमियम थपेर बिल पठाएपछि ७ वर्षदेखि यो विवाद कायमै छ । उद्योगीहरुले टाइम अफ दि डे अर्थात् टीओडी मिटर तथ्यांक दिएको अवस्थामा मात्रै पैसा तिर्ने अडान राख्दै आएका छन् ।

प्रिमियम थपेर बिल पठाएको प्राधिकरणले अहिलेसम्म प्रमाण दिन सकेको छैन । तर प्राधिकरणले उद्योगमा लाइन काटेरै बक्यौता उठाउने रणनीति अख्तियार गरेको छ ।

भाइटिकाको दिन बाहेक राजश्व संचालनका लागि बैंकिङ सेवा सुचारु रहने

तिहार विदाको समय भाइटिकाको दिन बाहेक अरु सबै दिनमा बैंकवित्तका सेवा सूचारु रहने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो।

विप्लव भन्छन्, ‘५ सय र १ हजारका नोट खारेज गरौं’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ५ सय र १ हजारका नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने भएको छ ।

नेकपाले आइतबार आयोजित पत्रकार सम्मेलनमा ५ सय र १ हजारको नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने निर्णय भएको जानकारी गराएको हो ।

‘भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरूको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाई ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ ।

यसैगरी नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सिटिजन लाइफ म्याग्दी शाखाद्वारा तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार केन्द्र बेनी नगरपालिका ४ तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्ष कृष्णबहादुर खड्का रहेका थिए । उक्त कार्यक्रमको सभापतित्व सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख भावना पौडेलले गरेकी थिइन् ।

सो कार्यक्रममा तातोपानी व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू उपस्थिति भए । तातोपानी व्यवस्थापन समितिले सिटिजन लाइफको टिमलाई सम्मानसँगै मायाको चिनो हस्तान्तरण समेत गरेको छ ।

उक्त कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षले तातोपानी कुण्डको बारेमा विस्तृत रुपबाट जानकारी गराएका थिए ।

कम्पनीकी शाखा प्रमुख भावना पौडेलले सिटिजन लाइफको र कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा सिटिजन लाइफ म्याग्दी शाखाको कर्मचारी र एजेन्सी म्यानेजरहरूको समेत उपस्थिति थियो। उक्त सरसफाई सामग्री वितरण कार्यक्रममा १२ हजार बराबरको कार्यक्रम हस्तान्तरण गरिएको थियो।





ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान

ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारका विभिन्न पक्षहरूबारे जानकारीमूलक प्रस्तुति दिए । सोही अवसरमा क्यापिटलले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोगस्वरूप डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा पूँजी बजारप्रति आधारभूत ज्ञान र लगानी चेतना बढाउने विश्वास व्यक्त गरे । उनले विद्यालयमा प्रदान गरिएको डिजिटल बोर्डले कक्षाकोठा शिक्षणलाई आधुनिक र आकर्षक बनाउने उल्लेख गरे ।

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारबारे प्रारम्भिक ज्ञान दिनुको साथै प्राथमिक बजारमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षण सामाग्री उपलब्ध गराएकोमा ग्लोबल आइएमई क्यापिटलप्रति आभार व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यमा क्यापिटलले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले क्यापिटलको यो योगदानले शिक्षण–सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउन टेवा पुर्याउने बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि, व्यवसायी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो ।

ग्लोबल आइएमई क्यापिटलले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै पूँजी बजारप्रतिको पहुँच र लगानी चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।

सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित

सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई २१औं वार्षिक साधारण सभाबाट निर्विरोध सञ्चालकमा पुनः निर्वाचित गरिएको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ, र खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत, र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।

वित्तीय परिसूचकका आधारमा २०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, पुँजी कोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत, र कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८१.०३ प्रतिशत रहेको छ ।

जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच हवाइ भाडामा सहमति भएको छ । कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो ।

बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत उपरोक्त अनुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । बैठकका निर्णय आजैदेखि लागू हुने बताइएको छ ।

null

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरेका हुन् ।

यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।

बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताए। उनले यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा आभार व्यक्त गरेको बैंकले जनाएको छ।

ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

‘ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ’, बैंकले भनेको छ, ‘ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेसिया, बङलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।’

बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानीत भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४को अवार्ड प्राप्त गरेको थियो ।

यसअघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

सानिमा बैंकको तिहार र छठ अफर : विभिन्न मर्चेन्टहरुमा मिठाई किन्दा क्यासब्याक र छुट

सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ ।

योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

८ वर्षको सफलतापछि सिटिजन लाइफको समावेशीता दिवस

जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ ।

स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ ।

वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष आफ्ना सबै शाखा कार्यालयहरूमा “विविधता र समावेशीकरण दिवस” मनाएको छ, जसअन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन्। यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ पारेको छ ।

यसका साथै, समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा नि:शुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गर्दै समाज र वातावरण दुवैप्रति आफ्नो दायित्व सुदृढ पारेको छ।

कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ । कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आगामी दिनहरूमा कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहँदै प्रचलित कानुन, नीति, नियम तथा नियमनकारी निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्दै सञ्चालक समितिको मार्गदर्शनअनुसार संस्थागत सुशासन कायम राखी निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन टोली कटिबद्ध रहेको जानकारी गराएको छ । कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

दसैंमा आन्दोलनको प्रभाव : राजस्व संकलन लक्ष्यको ७८% मात्र

जेन-जेड आन्दोलनको प्रभाव राजस्व संकलनमा देखिएको छ। आन्दोलनका कारण दसैंको मुखमा राजस्व संकलन लक्ष्यभन्दा कम भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म कुल २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो सोही अवधिको लक्ष्यको ७८.१२ प्रतिशत हो।

राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार यस वर्षको राजस्व संकलन गत वर्षको तुलनामा केही कम देखिएको छ।
चालु आवमा वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ राखिएको छ। असोजसम्मको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो।

असोज महिनाका लागि १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व लक्ष्य तोकिएको थियो। जसमा ९२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८९.७१ प्रतिशत हो। असोज ३१ गते मात्र ८ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा असोजसम्म २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। सो वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ थियो भने असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ थियो।