जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • छक्का पञ्जा ४’ ले गर्यो १२ करोडभन्दा बढिको व्यापार

छक्का पञ्जा ४’ ले गर्यो १२ करोडभन्दा बढिको व्यापार

सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बनेकी दीपाश्री निरौला यसपटक कलाकार मात्र छिन् । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिएका छन् । यसमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय छ ।

‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गरेका लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिएका छन् । राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्भय सिंह नीर शाहको छोरा दिग्विजय सिंह दीपकराज गिरी उर्फ ‘राजा’ गुन्डा नाइके मात्र नभई मिटर ब्याजीका रुपले परिचित छन् । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिरामी हुन्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार आफ्नै छोरा दिग्विजयलाई चुन्छन् ।

पार्टीकै अर्का नेता नरोत्तम रमेश बुढाथोकी आशावादी हुन्छन् । निर्भयले छोरालाई रोजेपछि आन्तरिक कलह सुरु हुन्छ । आफ्नै पार्टीका सदस्यको असहयोग भएता पनि दिग्विजयले आफ्नो बाल्यकालको साथी सञ्जेल केदार घिमिरे र बुद्धि बुद्धि तामाङको सहायताले चुनाव जित्छन् । युट्युबर एलिशा बेनिशा हमला को एक भिडियोले जनतामाझ हिरो हुँदै भाइरल बन्छन् ।

लेखकसमेत रहनुभएका अभिनेता गिरीले आफ्नो पात्रलाई बलियो बनाउँदा अन्यलाई भने निरन्तरता दिन सक्नुभएको छैन । स्कुलका शिक्षक सञ्जेल र बुद्धिको पात्र राजाकै अनुसार चलिरहेको पाइन्छ । चलचित्रले उनीहरूको आफ्नो कथासँग सम्बन्ध गाँस्न सकेको छैन । राजनीति र कर्मचारीतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा हुने गुण्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई चलचित्रमा समेटिएको छ । बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेटेको ‘छक्का पञ्जा ४’ मूल मुद्दाको गहिराइमा भने पुगेको छैन ।

शृङ्खला थपिँदै जाँदा सामाजिक विषयवस्तुमार्फत दर्शकसम्म पुग्नु अभिनेता गिरीसहित टोलीको प्रशंसनीय कार्य हो । लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ । कमजोरीका बीच पनि मनोरञ्जनबाहेक केही लिनु छैन भन्छन् भने यसले मनोरञ्जन दिन्छ । मनोरञ्जन ‘सस्तो रमाइलो’ बनेको छ ।

2720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?