सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५÷४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको छ । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको पार्चमेण्ट ग्रिनवीच कफीप्रति प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १०.३ मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो । कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका उहाँले बताउनुभयो ।
कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमीनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू–क्षय रोक्नसमेत सघाउ पु¥याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर र पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेतीको विस्तार गरिएको छ ।
यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । प्राङ्गारिक प्रमाणपत्रका आधारमा १४ देखि १६ मिलीमिटरको कफी विदेश निर्यात हुने गरिएको छ । दिनप्रतिदिन कफी पिउने नेपालीको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाँकी कफी स्वदेशमै खपत हुने गरेको सङ्घका पूर्वअध्यक्ष एवं केन्द्रीय कफी सहकारी सङ्घका उपाध्यक्ष सुदर्शन बोलखेले बताउनुभयो ।
सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारा रोग लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको उहाँले बताउनुभयो । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०÷३२ जनाले रोजगारीसमेत पाइका सङ्घले जनाएको छ ।