![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![माथिल्लो त्रिशुली-१ मा ९ अन्तर्राष्ट्रिय बैंकले ५० अर्ब ऋण दिन सहमत](https://aarthikbazarnews.com/wp-content/uploads/2019/11/unnamed-1-1024x683.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन(आइएफसी)सहित अन्य आठ वटा अन्तर्राष्ट्रिय बैंकले ५० अर्ब ८५ करोड रुपैयाँ(४५ करोड ३० लाख डलर) ऋण लगानी गर्न सहमत भएका छन्।
नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुने यो जलविद्युत आयोजना २१६ मेगावाट क्षमताको हो।शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा र उर्जामन्त्री वर्षमान पुनको उपस्थितीमा प्रवर्द्धक कम्पनी नेपाल जल तथा उर्जा विकास कम्पनी र आइएफसी, कोरियाली आयात निर्यात बैंक, एसियाली विकास बैंक, एशियाली पूर्वाधार तथा लगानी बैंक, कोरियाली विकास बैंक, बेलायती वित्तीय संस्थान, डच उद्यमशील विकास बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्ड र प्रोपार्कोबीच ऋण सम्झौंता भएको छ।
सम्झौतामा प्रवर्द्धक कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक इ र सम्बन्धित वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरे।आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत ईक्विटीबाट जुटाइएको छ। कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसमेत गरी) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३० लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपूँजी (ईक्विटी) बाट जुटाइएको छ।
प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो।
आईएफसीले १६ करोड १३ लाख, एसियाली विकास बैंक(एडिबी)ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक(एआईआईबी)ले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक(केएक्जिम)ले १० करोड, कोरिया डेभलप्मेन्ट बैंक (केडिबी) ले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानी गर्ने छन्।
सिडिसी ग्रुप पिएलसी (सिडीसी)को २ करोड १९ लाख, नेदरल्याण्ड डेभलप्मेन्ट फाइनान्स कम्पनी (एफएमओ)को १ करोड ५४लाख, फ्रेन्च डेभलमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) १ करोड १० लाख र अन्तराष्ट्रिय विकासकालागिओपेक फण्डको (ओएफआईडी) १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ । द बैक अफ न्यूयोर्क मेलनले ‘अफसोर एकाउण्ट’ र नेपाल इन्भेष्टमेन्ट बैकले ‘अनसोर एकाउण्ट’ बैकको रुपमा काम गर्ने छन्।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादनहुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादनहुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट क्षमता विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ।
नेपाल सरकार र नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच १४ पुस ०७३मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो। प्राधिकरण र कम्पनीबीच १४ माघ २०७४ विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो ।
प्राधिकरणले आयोजनाको विद्युत खरिद गरे वापत अधितकम दश वर्ष वा व्यवसायीक विद्युत् उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुक्ता अवधि(पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधि सम्मकालागि ऋणको अंशमा मात्रै डलरमा भुक्तानी गर्ने छ। उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था गरिएको छ।
प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामा क्रमश८.४० र ४.८० प्रति युनिट दरमा खरिद गर्नेछ। स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ ।
ऋणको अंशका लागि मात्रै डलरमा भुक्तानी गर्दा प्राधिकरणलाई विदेशी मुद्रा विनिमय जोखिम परे वा नपरे पनि कम्पनीले आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको १४ वर्षदेखि २६ वर्षसम्म ३ अर्ब २६ करोड ५४ लाख युनिट निशुल्क ऊर्जा दिने छ । कम्पनीका अनुसार जसको मूल्य ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको हुनेछ ।
नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न कम्पनीले आफ्नो तर्फबाट एक तिहाइ जोखिम मूल्य योगदान बापत निशुल्कऊर्जा दिन लागेको जनाएको छ। नेपाल राष्ट्र बैकबाट वैदेसिक ऋणको सम्झौता स्वीकृति प्राप्त भएपछि र सम्झौता अनुसारको शर्त पूरा गरिएपछि आयोजनाको मुख्य निर्माण सन् २०२०बाट सुरु गर्ने कम्पनीले जनाएको छ। आयोजनाको निर्माण सुरु भएको ५ वर्षभित्रमा सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विश्वप्रख्यात कम्पनीहरु डेलिम इन्ड्रस्ट्रियल कम्पनी लिमिटेड र क्येर्योङ कन्ट्रक्सन इन्ड्रस्ट्रियल कम्पनी लिमिटेडको संयुक्त उपक्रमले इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमाआयोजनाको निर्माण गर्ने छ।
अहिले आयोजनाको निर्माण पूर्वका कार्यहरु प्रवेश सडक, कार्यालय तथा आवास गृह निर्माण,त्रिशूली नदीमा बेलीब्रिज राख्ने लगायतका काम भइरहेको कम्पनीले जनाएको छ।
आयोजनामा कोरियाली कम्पनी कोएनको ५० प्रतिशत,डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, आइएफसीको १५ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर लगानी रहेको छ। कम्पनीका अनुसार स्थानीयलाई १० प्रतिशत शेयर लगानी सुनिश्चित गरिएको छ।-