पूर्वाधार
एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि टेरामक्समा भ्रष्टाचार मुद्दा


मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा सफाइ पाएका नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि अख्तियारले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराममक्स) प्रकरणमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाललाई विशेष अदालतले एमडीएमएस खरिद प्रकरणमा ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ जरिवानासहित १३ महिना कैद सजाय तोकेर अरु सबै कर्मचारीलाई भने सफाइ दिएको थियो । खनालालाई फेरि अर्को मुद्दा लागेको छ । अख्तियारले विहीबार विशेष अदालतमा दर्ता गराएको मुद्दामा खनालसहितका अरु कर्मचारीबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ विगोमाग गरेको छ ।
एमडीएमएसमा सफाइ पाएका प्राधिकरणका कर्मचारीहरुलाई फेरि टेरामक्सको मुद्दा लागेको छ । प्राधिकरणका कर्मचारीहरुमा निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाला हाडा, दीपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्चुतानन्द मिश्र र सन्दीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। एमडीएमएसमा विजय कुमार राय, दिपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ र सन्दीप अधिकारीलाई सफाई दिएको थियो । अख्तियारले यी कर्मचारीसहितका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दीगम्बर झासहितका सबै प्रतिवादीलाई जनही ३ अर्ब २१ करोडको विगो माग गरेको छ ।
अख्तियारले दायर गरेको टेरामक्सको मुद्दामा पूर्व मन्त्री मोहनबहादुर बस्नेत, प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती विरुद्ध आरोपत्र दायर भएको छ । अख्तियारले पूर्व मन्त्री तथा कर्मचारीलाई सरह परामर्शदाता कम्पनी भानराइज सोलुन्स सालका सीईओ जमुल अनौटी र भानराइजका लोकल एजेन्ट कनेक्सन ट्रेडका अध्यक्ष दिलिपकुमार गुरुङ र यसका निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
कर्मचारीलाई लागेको यो मुद्दासँगै प्राधिकरणको तीनवटा महाशाखा फेरि नेतृत्वविहीन भएको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनीहरु स्वत: निलम्बित भएका हुन् । यो मुद्दापछि प्राधिरकणको अनुगमन महाशाखा, प्रसाशन महाशाखा र पूर्वाधार महाशाखाको नेतृत्व रिक्त भएको हो । यी महाखामा अनुगमनमा राय, प्रसाशनमा आचार्य र पूर्वाधारमा हाडा निर्देशक छन् ।