
प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरि आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । सिटौलाले नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनु भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी गरेका थिए ।
उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए । अध्यक्ष सिटौलाले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































