
सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन को तयारीमा रहेका पाँच कम्पनीहरुले धितोपत्र बोर्ड (सेबोन) मा एकसाथजसो आवेदन दिएका छन्।
पाइपलाइनमा रहेका कम्पनीहरुले निषेधाज्ञाकै बीच सेबोनमा आवेदन दिएपछि आईपीओ जारीमा चाप पर्ने देखिएको छ।
सेबोनबाट निषेधाज्ञाअघि दुई कम्पनीले आईपीओको अनुमति पाइसकेका छन् भने पाँच कम्पनीले यसका लागि निवेदन दिएका थिए। यीबाहेक थप पाँच कम्पनीले हालको निषेधाज्ञाबीच नै आईपीओ अनुमतिका लागि निवेदन दिएका हुन्।
यी सम्पूर्ण १२ कम्पनीलाई सेबोनले सेयर निष्कासन अनुमति दिँदा बजारमा सर्वसाधारणका लागि आइपीओको आवेदन भर्नका लागि कुल ८ करोड १८ हजार कित्ता हाराहारी सेयर उपलब्ध हुनेछन्। यसबाट उक्त दर्जन कम्पनीले बजारबाट करिब ८ अर्ब १८ लाख रुपैयाँ उठाउनेछन्।
निषेधाज्ञाअघि नै एक अर्ब ५० करोड रुपैयाँबराबरको एक करोड ५० लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको मध्यभोटेकोशी जलविद्युत आयोजनाको आईपीओ जारी नहुँदै जीवन विकास लघुवित्तले ६० करोड ८४ लाख रुपैयाँबराबरको ६० लाख ४८ हजार कित्ता सेयरको प्राथमिक निष्कासन गर्ने अनुमति हालै पाएको छ।
निषेधाज्ञा अन्त्य हुनेबित्तिकै यी दुई कम्पनीको कुल दुई अर्ब १० करोड ८४ लाख रुपैयाँ बराबरको दुई करोड १० लाख ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि आउने पक्कापक्की भएको छ।
कोभिड प्रभाव कम भएसँगै यी कम्पनीहरुको सेयर आयोजना/कम्पनी प्रभावित स्थानीयका लागि निष्कासन गर्न सुरु हुने बताइएको छ। धेरै कम्पनीको सेयर पाइपलाइनमा रहेकाले अन्य सर्वासधारणका लागि भने निष्कासन हुन सम्बन्धित कम्पनीहरुले पालो कुर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।
निषेधाज्ञाकै बीच पाँचवटा कम्पनीले पौने दुई अर्ब रुपैयाँभन्दा बढीको प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। यसरी निवेदन दिनेमा जीवन बीमा तथा जलविद्युत कम्पनी दुई/दुईवटा र एउटा लघुवित्त कम्पनी छन्।
आईपीओ जारीको पाइपलाइनमा रहेका यी कम्पनीमध्ये बीमातर्फ युनियन लाइफले सबैभन्दा बढी कित्ता सेयर निष्कासनको तयारी गरेको छ। युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो।
यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासनका लागि निवेदन दिएको छ।
आईपीओको पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरुमा दोर्दी खोला जलविद्युत र माथिल्लो हेवा खोला जलविद्युत रहेका छन् । दोर्दीले २९ करोड ५० लाख रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपीओ ल्याउन लागेको हो। यस्तै, माथिल्लो हेवा खोला २० करोड रुपैयाँबराबरको २० लाख कित्ता सेयर निष्कासनको प्रक्रियामा गएको छ।
त्यस्तै, मानुषी लघुवित्तले पनि तीन करोड ९३ लाख ७० हजार ५०० रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ।
यी पाँच कम्पनीले कुल एक अर्ब ७७ करोड ९५ लाख ६७ हजार ९०० रुपैयाँ बराबरको एक करोड ७७ लाख ९५ हजार ६७९ कित्ता साधारण सेयरको प्राथमिक निष्कासन (आइपीओ) का लागि वैशाख १६ यता बोर्डमा निवेदन दिएका हुन्।
यीबाहेक पनि अन्य चार जलविद्युत र एक सूचनाप्रविधि सेवा प्रदायक कम्पनीले यसअघि नै कुल चार अर्ब ११ करोड ४० लाख १० हजार ८०० रुपैयाँ बराबरको ४ करोड ११ लाख ४० हजार १०८ कित्ता आईपीओका लागि सेबोनमा निवेदन दिएका थिए।
त्यसमा साहस ऊर्जा (एक करोड पाँच लाख कित्ता), सयपत्री हाइड्रोपावर (९ लाख कित्ता), माथिल्लो सोलु (३३ लाख सात हजार पाँच सय कित्ता), ग्रीन भेन्चर हाइड्रोपावर (६२ लाख ५० हजार कित्ता) र डिस मिडिया नेटवर्क (२३ लाख ८५ हजार ९२९ कित्ता) रहेका छन्। यिनले सेबोनबाट अनुमति पाउन भने बाँकी नै छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































