जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बङ्गलादेश बैंकको संस्थापक शेयर किन्न दुई समूहको मात्रै आवेदन

बङ्गलादेश बैंकको संस्थापक शेयर किन्न दुई समूहको मात्रै आवेदन

नेपाल बङ्गलादेश बैंकमा रहेको विदेशी लगानीकर्ताको सस्थापक शेयर खरिद गर्न अपेक्षाकृत थोरै निवेदन परेको छ। आइएफआइसी बैंक ढाकाले नेपाल बङ्गलादेश (एनबी) बैङ्कको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने भएपछि खरिदका लागि एनबी समूह (लक्ष्मीबहादुर श्रेष्ठ समूह)  र बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका नरेन्द्र भट्टराईले मात्र निवेदन दिएका हुन् ।

त्यसो त सङ्ख्याको हिसाबले हेर्ने हो भने धेरै छ। ‘तर, समूहको आधारमा भन्ने हो भने दुई वटा मात्र भन्न मिल्छ’, बैंक सम्बद्ध स्रोतले भन्यो। सेयर खरिदका लागि एनबी समूह अन्तर्गतका कम्पनी, व्यक्ति र नरेन्द्र भट्टराई समेत गरी सात वटा आवेदन परेको बैंकले जनाएको छ ।

भट्टराईले एक लाख कित्तासम्मको शेयर खरिदका लागि आवेदन दिएका छन्। एनबी समूहले आफ्ना मनाङ्क इन्भेष्टमेन्ट प्रालि, हिमालयन क्यापिटल मार्केट एण्ड इन्भेस्टमेन्ट प्रालि, दिब्यश्वरी इन्भेस्टमेन्ट र हिम सागर ट्रेडिङ मार्फत शेयर खरिदका लागि अलग अलग आवेदन दिएको छ। बैंकमा अन्य शेयर होल्डरहरूको संस्थापक शेयर सामान्य रहेकाले अन्यले आवेदन नदिएको स्रोतको भनाई छ।

बैङ्कको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त शेयर खरिद गर्नका लागि आवेदकले ‘फिट एण्ड प्रोपर टेस्ट पास’ गर्नुपर्ने प्रावधान राखेको छ ।  उक्त ‘फिट एण्ड प्रोपर टेस्ट’ गर्न नसकिएमा आइएफआइसीले आफ्नो शेयर हालका संस्थापक शेयर धनी बाहेकलाई विक्री गर्ने बाटो खुल्ने छ । तर, एनबी समूहले आफ्ना सबै कम्पनी र व्याक्तिहरु ‘फिट एण्ड प्रोपर टेष्ट’मा पास हुने दाबी गरेको छ ।

यदि हालका आवेदनकर्ता ‘फिट एण्ड प्रोपर टेष्ट’मा पास हुन सकेनन् भने सो शेयर खरिदका लागि मुलुकका सबैजसो स्थापित व्यापारिक घराना तयार रहेको देखिएको छ। नागरिक लगानी कोष, एनआरएन डेभलपमेन्ट फण्ड, आइएमइ समूह, सिजी समूह, केएल दुगड समूह, शङ्कर ग्रुप र गैरआवासीय नेपाल सङ्घका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो उक्त शेयर खरिदको लागि निवेदन दिने तयारीमा रहेको बुझिएको छ ।

गत असार २९ गते नेपाल बङ्गलादेश बैंकमा रहेको बङ्गलादेशको आइएफआईसी बैङ्कको ४०.८९ प्रतिशत शेयर बिक्री गर्न एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको थियो । आइएफआईसी बैंकले आफ्नो सम्पूर्ण संस्थापक शेयर बिक्री गरेर बाहिरिनका लागि यो प्रक्रिया अघि बढाइएको हो।

नेपाल बङ्गलादेश बैङ्कको असार २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईएफआईसी बैंक लिमिटेड ढाकाले आफ्नो सम्पूर्ण ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता शेयर बेच्न लागेको हो। यसबाट करिब ६ अर्ब रुपैयाँको शेयर खरिद विक्री हुँदै छ ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका