जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • उद्यमशीलता र रोजगारी अभिवृद्धिमा पाँचखालवासीलाई नबिल बैंकको साथ

उद्यमशीलता र रोजगारी अभिवृद्धिमा पाँचखालवासीलाई नबिल बैंकको साथ

उद्यमशीलताको विकास एवं प्रवर्द्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ । 

उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नबिल बैंकबीच शुक्रवार सम्झौता भएको छ । सो सम्झौता पत्रमा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र बैंकका वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौतामा उद्यम गर्न चाहनेलाई आह्वान गरी तालिम तथा अभिमुखीकरण गराएर उद्यमशीलताप्रति आकर्षण गर्ने उद्देश्यसमेत उल्लेख गरिएको छ । “नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ”, उपप्रमुख दनुवारले भने । उनका अनुसार सामाजिक रूपान्तरणमा यो अभियानले सार्थकता पाउँदै जानेछ । यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । 

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकाङ्क्षा पूरा गर्न नगरपालिकाले नबिल  बैंकसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख दनुवारको भनाइ छ । यसले नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको सङ्ख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको उनले बताए । 

बैंकका वाग्मती प्रदेश प्रमुख श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताए । 

नगरपालिकाले गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेडसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक–निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्न सो समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । 

उनका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । उनले भने, “लगानी सम्मेलनको अझै आशा त मरेको छैन, उपयुक्त वातावरण भए अझै यो सालभित्र लगानी सम्मेलन गर्ने योजनामै छौँ ।” आव ०७६/०७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यति बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । 

गत आर्थिक वर्षमा गर्ने कार्यपालिका बनाए पनि पुनः कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । नगरप्रमुख खरेलले भने, “कोरोना तेस्रो लहरको प्रक्षेपणले नगरका अन्य योजनामा पनि प्रतिकूल असर पार्छ कि भन्ने चिन्ता पनि छ ।” नगरपालिकाले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्साएका थिए । 

काभ्रेपलान्चोकको पाँचखाल तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगर हुन्थ्यो । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न बितेका दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको उनले जानकारी दिए । उनले भने, “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएसँगै लगानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका थियौँ ।” विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको थियो । 

पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याईसकिएको तथा पुर्‍याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीय स्तरका ठुला होटेल, उद्योग पुनर्स्थापना सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ । “सम्मेलनमा स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौँ”, नगरप्रमुख खरेलले भने, “पाँचखालमा विभिन्न ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने छ ।” 

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको, बृहत् सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । 

त्यसो त, ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्णतः रोक लगाउँदै नगरपालिकाले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङ रोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको लक्ष्य रहेको छ । 

विसं २०७१ मा साबिक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । १३ वटा वडामा विभाजित पाँचखाल नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर र कूल जनसङ्ख्या ३७ हजार ७९७ रहेको छ । (रासस)

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?