
शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो ।
आवश्यक प्रत्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र उक्त हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड ६० लाख पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराईसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कानस गर्ने हकप्रद शेयरलाई इक्राएनपि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष सबल भएको देखाउँछ ।
कम्पनीले चालू आवको पहिलो त्रैमासम्ममा रू. १३ करोड ३६ लाख ५२ हजार नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ९ दशमलव २७ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१२ करोड २३ लाख २ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. २० करोड १० लाख ३१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २१ करोड ९३ लाख ४१ हजार पुगेको हो ।
त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा जगेडामा रू. ६३ करोड ८८ लाख ७१ हजार र बीमा कोषमा रू. १ अर्ब ३६ करोड २० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले पुनर्र्बीमा गरेबापत रू. १५ करोड ९५ लाख ४६ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ६६ लाख ६९ हजार थियो । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कुल रू.१ अर्ब ३२ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बीमाशुल्क चालू आवको सोही अवधिमा १० दशलमव ९३ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३ हजार ६१४ जनालाई रू. ४७ करोड २७ लाख १२ हजार कुल दाबी भुक्तानी गरेको छ भने १३ हजार ३८७ जनालाई रू. २ अर्ब १४ करोड ९७ लाख ४२ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४० ,मूल्य आम्दानी अनुपात ५६ दशलमव ९१ र प्रतिशेयर नेटवर्थ रू. २२६ दशलमव ७६ रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































