आर्थिक विशेष
प्रधानमन्त्रीले ‘अहिले महँगा वस्तु नल्याउँ’ भनेपछि खुलेन मदिरा र मोबाइलको आयात

गत बैशाख १३ गतेदेखि लगाउँदै आएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल माथि गरेको छ।
कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले धेरै रकम बाहिरिने खालका वस्तुको आयात माथिको बन्देजलाई केही समय लम्ब्याउने निर्णय गरेको हो।
वैशाख १३ देखि आयात प्रतिबन्ध लगाइँदै आएको थियो। भदौ १४ सम्म कायम हुने प्रतिबन्धलाई केही खुकुलो बनाउँदै निकै महँगो पर्ने वस्तुहरुलाई भने अझै कडाइ नै गरिएको हो।
६०० डलरसम्मको मोबाइल आयात गर्न पाइने व्यवस्थालाई साउन १ गतेदेखि ३०० डलरभन्दा माथिको आयात गर्न नपाइने बनाइएको थियो।
मोटरसाइकलको हकमा पनि सीसी घटाइएको थियो। २५० सीसीसम्मको बाइक आयात गर्न नपाइनेमा १५० सीसीभन्दा माथिको बाइक आयात गर्न नपाइने बनाइएको थियो।
आयात प्रतिबन्धका बारेमा छलफल गर्न बसेको उच्चस्तरीय समितिले भने मदिरा र मोबाइलको आयात खुलाउन सिफारिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अहिले महँगा वस्तुको नखुलाउने, अवस्था सहज भएपछि सबैको खुलाउने’ भनेर रोकेका थिए।
विदेशी मुद्रा अत्यधिक बाहिरिएपछि देशको शोधनान्तर घाटा उच्च भएको थियो। साथै आयात क्षमता १२ महिनाबाट ६ महिनामा झरेको थियो। यही कारण सरकारले महँगा तर विलासिताका वस्तु आयात प्रतिबन्ध गर्ने निर्णय गरेको हो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































