
नेपाल बीमा प्राधिकरणले लघु बीमातर्फ जीवन र निर्जीवन कम्पनीलाई लगानीका क्षेत्र तोकेको छ। नयाँ कम्पनी खुल्ने भएसँगै लगानीका क्षेत्र तोकेको हो। पछिल्लो समय प्राधिकरणले लघु बीमालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छ। गत महिनामात्र प्राधिकरणले ७ वटा नयाँ लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। यस अघि बीमा कम्पनहरुले लघु बीमा गर्दै आएका थिए।
प्राधिकरणले लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीलाई ८ वटा लगानीको क्षेत्र ,सीमा र सर्त समेत जारी गरेको छ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन्।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी पाउने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेपमा लगानीको बढिमा १० प्रतिशतसम्म पाइन्छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ग’ वर्गको बैंक तथा वित्तिय संस्थामा राखिएको मुद्दती निक्षेपमा कुल लगानीको बढिमा पाँच प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशनमा उल्लेख छ ।
यस्तै , नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर साधारण शेयरमा परिणत नहुने बन्ड, डिवेन्चर र ऋणपत्रमा ३० प्रतिशतसम्म लगानी गर्ने पाइने छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा २० प्रतिशत लगानी गर्ने बीमा प्राधिकरणले निर्देशन दिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशतमात्र लगानी गर्नु पर्ने बताइएको छ। नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल लगानीको बढिमा पाँच प्रतिशतसम्म लगानी गर्ने सक्ने उल्लेख छ ।
लघु बीमा कम्पनीले घरजग्गा, कृषि र पूर्वाधारहरुमा लगानी गर्ने नसक्ने प्राधिकरणले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































