जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • राजस्व अनुसन्धान विभागद्वारा तीन वर्षमा ७३ अर्ब बिगो दाबी गर्दै ७६७ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा तीन वर्षमा ७३ अर्ब बिगो दाबी गर्दै ७६७ मुद्दा दायर

तीन वर्षमा राजस्व अनुसन्धान विभागले सात सय ६७ वटा मुद्दा दायर गरेको छ । विभागले यस अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धीका मुद्दाहरू उक्त सङ्ख्यामा दायर गरेको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ असार मसान्तसम्म ७३ अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बिगो माग सहितका १ हजार ६ सय ६२ जना विरुद्ध मुद्दा दायर भएको हो ।

आव २०७६/७७ मा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धी पाँच सय ४२ जना विरुद्ध दुई सय ४३ वटा मुद्दा दायर गरेको थियो । सी आर्थिक वर्ष दायर गरेको मुद्दामा १६ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ बिगो माग गरिएको थियो ।

विभागका अनुसार सो अवधिमा राजस्व चुहावट सम्बन्धीका ९६ वटा मुद्दा दायर भएका थिए । विभागले १५ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बिगो माग गरी राजस्व चुहावट गर्ने तीन सय १६ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यस्तै, सोही आवमा विभागले विदेशी विनिमय अपचलनका एक सय ४७ वटा मुद्दा दायर गरेको थियो । विदेशी विनिमय अपचलन गरेको आरोपमा विभागले दुई सय २६ जना विरुद्ध १ अर्ब २२ करोड ९७ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको थियो ।

आव २०७७/७८ मा भने उक्त मुद्दा घटेको देखिन्छ । यस अवधिमा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धी ४३१ जना विरुद्ध १३८ वटा मुद्दा दायर गरेको थियो । दायर गरेको मुद्दामा २४ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बिगो माग गरिएको थियो ।

विभागले यस अवधिमा दायर गरेका मुद्दामा राजस्व चुहावटको आरोपमा १९ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी सहित तीन सय १७ जना विरुद्ध ८४ वटा मुद्दा दायर गरेको थियो । सोही अवधिमा विदेशी विनिमय अपचलन गरेको आरोपमा ४ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ मागदावी सहित एक सय १४ जना विरुद्ध ५४ वटा मुद्दा दायर गरेको थियो ।

त्यसै गरी, आव २०७८/७९ मा विभागले एक सय ३१ वटा मुद्दा दायर गरेको छ । सो अवधिमा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा १३ अर्ब २९ करोड २० लाख रुपैयाँ बिगो मागदावी सहित तीन सय ३७ जना विरुद्ध मुद्दा दायर गरेको हो । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यस आवमा भने मुद्दाको सङ्ख्या घटेको छ ।

विभागले यस अवधिमा दायर गरेको मुद्दामा राजस्व चुहावटको आरोपमा १० अर्ब ४ करोड ५६ लाख रुपैयाँ मागदावी सहित दुई सय ४६ जना विरुद्ध ७१ वटा मुद्दा दायर गरेको छ । त्यस्तै, सोही अवधिमा विदेशी विनिमय अपचलनको आरोपमा ३ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मागदावी सहित ९१ जना विरुद्ध ६० वटा मुद्दा दायर भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका