जोडिनुहोस
मङ्लबार, मंसिर ४, २०८१
मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • भ्रष्टाचारको आरोपमा अख्तियारद्धारा मुगुदेखी पश्चिम रुकुमसम्मका १७ जना विरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा अख्तियारद्धारा मुगुदेखी पश्चिम रुकुमसम्मका १७ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा १७ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ५ थर्पु डिक्रेस्थित श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर केसी लगायत तत्कालीन प्रधानाध्यापकसमेतले विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानून विपरीत लगानी गरी दुरुपयोग गरेको, बागबजार-रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुुरीका आधारमा अनुसन्धान गर्दा अध्यक्ष केसी सो विद्यालयका प्रधानाध्यापक लाल बहादुर केसीले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावली २०५९ को नियम १६५ विपरीत विद्यालयको ८ लाख ९४ हजार रुपैयाँ विभिन्न व्यक्ति¸ सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋणकर्जा दिई उक्त रकम फिर्ता नगरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ । उनीहरु विरुद्ध ८ लाख ९४ हजार रुपैयाँ विगो कायम गरी आयोगले मुद्दा दायर गरेको हो ।

त्यसैगरी, वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोण बहादुर खत्री र कोषाध्यक्ष माया केसीले सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी अध्यक्ष खत्रीले ८ लाख ४८ हजार रुपैयाँ र कोषाध्यक्ष केसीले विद्यालयको ८ लाख रुपैयाँ बाटो निर्माण गर्नको लागि लिएको आयोगको भनाई छ ।

उनीहरुले सो रकम बाटो निर्माण नगरी उक्त रकम विद्यालयको खातामा दाखिल नगरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । अध्यक्ष खत्रीको मृत्यु भएकाले निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मृत्यु भएको व्यक्तिको हकमा सरकारी विगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले खत्रीको हकमा निजको हकवाला श्रीमती पुतला खत्री, छोराहरु विनोद केसी¸ विवेक केसी र विशाल केसी समेतबाट असुलउपर गरिने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन आधारमा सो नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा र सव-ओभरसियर (करार) गड बहादुर बुढा विरुद्द मुदा दायर गरेको छ ।

आयोगमा परेको निवेदनका आधारमा अनुसन्धान गर्दा ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई सात लाख ५७ हजार ३०७ रुपैयाँ भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ । उनीहरु विरुद्द आयोगले सोही रकम बराबरको विगो माग गरी मुद्दा दायर गरेको हो ।

यसैगरी सोही नगरपालिकाका तत्कालीन नगर उप(प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नं. वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरु हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी रकम भुक्तानी लिने दिने कार्यमा संलग्न रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सोही नगरपालिका वडा नं. ११ का तत्कालीन वडा अध्यक्ष दान बहादुर बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम हिनामिना भ्रष्टाचार गरेको आरोप छ ।

यसै गरी उपभोक्ता समितिका अध्यक्ष जीवन बहादुर बुढा, सचिव केश बहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवालले स्वास्थ्य चौकी ग्याविन पर्खाल निर्माण कार्य गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिने दिने कार्य गरी ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम हिनामिना गरेको आयोगको भनाई छ ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?