आर्थिक विशेष
नेपाल स्टार्टअप फेस्ट दुई महिनापछि, आवेदन खुला, लगानीका लागि ११ कम्पनीसँग समझदारी

नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण दुई महिनापछि गर्ने भएको छ। मञ्चलेे स्टार्टअप फेस्ट डिसेम्बर २३ मा गर्ने घोषणासहित त्यसमा सहभागिताका लागि आवेदन खुला गरेको छ।
मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि काठमाडौंमा एक समारोहबीच ११ कम्पनीसँग समझदारी समेत गरेको छ। एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्विटी, टिम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआईबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो। मञ्चका अनुसार यी कम्पनीसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ छ ।
कार्यक्रममा ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित गरिएको थियो। ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनी बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी ट्रेडिङ र वाइजयाकलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो।
तीमध्ये ६ कम्पनीले लगानीका लागि मसझदारी गरेका ११ कम्पनीसमक्ष आफ्नो नवीन सोचबारे प्रस्तुतीकरण समेत गरेका छन्। ११ कम्पनीले स्टार्टअपमा गर्ने लगानीबारे छिट्टै घोषणा गर्ने भनिएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअप आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना औंल्याए। मञ्चका अध्यक्ष अनुराग गोयलले स्टार्टअपलाई प्रोत्साहन गर्ने प्रतिबद्धता अनुरुप फेस्ट गर्न लागेको बताए। मञ्चले नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण एक वर्षअघि गरेको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































