![अर्थमन्त्री पुनका विश्वासपात्र बने धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष](https://aarthikbazarnews.com/wp-content/uploads/2024/05/unnamed.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार राना नियुक्त भएका छन् ।
अर्थमन्त्री बर्षमान पुनले यहि जेठ ३ गते मन्त्रिस्तरीय निर्णय गर्दै रानालाई धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा नियुक्त गरेका हुन्।
केहि नेपाल ऐन संशोधन पश्चातको व्यवस्थामा टेकेर अर्थमन्त्री पुनले रानालाई धितोपत्र बोर्डको सदस्यमा नियुक्त गरेका हुन्। पछि धितोपत्र बोर्डको सञ्चालक समितिले रानालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो।रानालाई अर्थमन्त्री पुनको विश्वासपात्रको रुपमा लिने गरिन्छ।
बोर्डलाई पाँच महिनादेखि नेतृत्त्व दिन नसकेका अर्थमन्त्री बर्षमान पुनले केहि नेपाल ऐन संशोधन गरेर अध्यक्ष नियुक्त नहुँदासम्म अर्थमन्त्रालयका सहसचिव स्वत अध्यक्ष हुन सक्ने कानून बनाएका थिए।
धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका राना केहि समयअगाडी मात्रै अर्थमन्त्रालयमा हाजिर भएका थिए। अर्थमन्त्रालय आउनुअघि उनी भरतपुर महानगरपालिकामा प्रशासकीय प्रमुख थिए। उनी यसअघि अर्थमन्त्री पुनको गृहजिल्ला रुकुममा प्रमुख जिल्ला अधिकारि थिए ।
सहसचिव भएपनि प्रशासकीय ब्याकग्राउण्ड भएकाले रानाको नियुक्ति धितोपत्र सम्बन्धि ऐनमा अध्यक्ष नियुक्ति सम्बन्धि व्यवस्था विपरित भएको स्रोतको दाबी छ।
अध्यक्ष नियुक्ति गर्दा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गरिने छ भन्ने व्यवस्था धितोपत्र सम्बन्धि ऐनको दफा ७ मा उल्लेख छ।