जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अहिलेको सरकार कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेकै होइन : प्रधानमन्त्री केपी ओली

अहिलेको सरकार कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेकै होइन : प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएको कारण सरकार परिवर्तन गर्नुपरेको बताउनुभएको छ । मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराउनुभयो । कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका पार्टी भएको ओलीले बताउनुभयो । देशको वर्तमान अवस्था परिवर्तन गर्न अहिले यी दुई पार्टी एक ठाउँमा आएको उहाँको धारणा छ ।
अहिलेको सरकारको काँधमा असाधारण चुनौती भएको ओलीले बताउनुभयो । ‘यस सरलाई असफलता हुने छुट छैन, यसलाई सफल हुने छुट छैन भन्ने मात्र होइन यो कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेको हुँदैन, सफल हुन्छ’, ओलीले भन्नुभयो ।
यसो भन्दैमा हातमा हात बाँधेर बसेर सफल हुन नसकिने ओलीले बताउनुभयो । ‘हाम्रो भाग्यमा अर्थोक लेखेकै छैन, सफल हुने मात्र लेखेको छ, तर डोकामा दोएर दूध अडिँदैन नि त’, ओलीले भन्नुभयो ।
हामी एक दिन सफल हुन्छौँ भन्ने होइन यो सरकार अहिले नै सफल हुनु पर्ने ओलीले बताउनुभयो । यही आर्थिक वर्षमा सरकार सफल हुनु पर्ने उहाँको धारणा छ ।
यो सरकार कति दिन टिक्छ र भन्ने चर्चा हुने गरेको भए पनि त्यसमा नअलमलिन उहाँले आग्रह गर्नुभयो । ठुला दलले आवश्यकता बोध गरेर सरकार बनाएकाले सरकारको विषयमा कुनै भ्रममा पर्नु नपर्ने ओलीले बताउनुभयो । ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विधा हुँदैन, त्यस पछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ’, उहाँले भन्नुभयो ।
धोका खाएर होइन अहिले देश बनाउन यो काम नगरी नहुने भएकोले ठुला दुई दलको सरकार बनाएको उहाँले बताउनुभयो । जनतालाई सकेसम्म उपयुक्त ढङ्गले सेवा दिन, विकास, समृद्धि र सुशासनको लागि काम गर्नको लागि यो सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले ढुक्क भएर काम गर्न उहाँले सचिवहरूलाई आग्रह गर्नुभयो ।
देशको लागि केही गरौँ भन्ने प्रतिविद्धताको साथ सरकार बनेकोले सरकार कसै प्रति पूर्वाग्रही नहुने ओलीले बताउनुभयो । कामको आधारमा सरकारले सचिवहरूको मूल्याङ्कन गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
हस्ताक्षर गर्ने बित्तिकै फसिन्छ कि भन्ने चिन्तामा नपरी काम गर्न उहाँले सचिवहरूलाई आग्रह गर्नुभयो । राम्रो काम गर्दा कुनै प्रकारको समस्या आयो भने त्यसको जिम्मेवारी सरकारले लिने उहाँले प्रष्ट पार्नुभयो ।
काम गर्दा गन्तव्य के हो भन्ने कुरा बुझ्न आवश्यक रहेको ओलीले बताउनुभयो । गन्तव्य नतोकी हिँड्यो भने टुङ्गोमा नपुगिने उहाँले स्पष्ट पार्नुभयो ।
गरिबिको रेखामुनि रहेका जनतालाई त्यहाँबाट माथि ल्याउन सरकारको ध्यान केन्द्रित हुने ओलीले बताउनुभयो । यो पीडादायक स्थितिको अन्त्यको लागि योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नभयो । ‘हामीलाई नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ’, ओलीले भन्नुभयो ।
नेपाललाई हतियार होइन, युद्ध र अशान्ति होइन शान्ति चाहिएको ओलीले बताउनुभयो । नेपाली जनताई खुसी र सुखी बनाउन ध्यान केन्द्रित हुनु पर्नेमा उहाँको जोड छ । यसका लागि हरेक क्षेत्रमा योजना बनाएर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
उत्पादनमा जोड दिनु पर्ने बताउँदै ओलीले आयात गर्दा पनि उत्पादनको लागि गर्नुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा योजना बनाउँदा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी योजना बनाउनु पर्नेमा उहाँको जोड छ ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका