जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • भारतबाट ५ महिनामा ५ अर्ब डलरको आईफोन निर्यात

भारतबाट ५ महिनामा ५ अर्ब डलरको आईफोन निर्यात

मोबाइल फोन उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी एप्पलले सोमबार विश्वव्यापी रूपमा आफ्नो नयाँ मोबाइल फोन आईफोन-१६ लन्च गरेको छ ।

आईफोन- १६ सिरिज भारतका साथै विश्वभरका देशमा एकैसाथ लन्च गरिएको छ । अहिले भारतमा बनेको आइफोनको निर्यात ५० प्रतिशतले बढेको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतले ५ अर्ब डलरको आईफोन निर्यात गरेको छ ।

समाचार एजेन्सी (आईएएनएस) को रिपोर्टले उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाको सहयोगमा भारतबाट विशाल टेक कम्पनी एप्पलको आईफोन निर्यात तीव्र गतिमा बढिरहेको देखाएको छ ।

यो चालु आर्थिक वर्षको अप्रिलदेखि भदौसम्मको अवधिमा बढेर ५ अर्ब डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा ५० प्रतिशतले बढेको औद्योगिक तथ्यांकले देखाएको छ ।

उद्योग विश्लेषकहरूले एप्पलको आईफोन प्रो र आईफोन प्रो म्याक्स मोडेलको उत्पादन भारतमा सुरु हुन लागेको बताएका छन् । जसका कारण भविष्यमा आईफोन निर्यातको मूल्य अझै बढ्ने सम्भावना छ । नयाँ आईफोन सिरिज सेप्टेम्बर २० देखि भारतमा उपलब्ध हुनेछ ।

केन्द्रीय रेलवे र इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले आईफोन- १६ भारतीय उत्पादन कारखानामा निर्माण भइरहेको बताए । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गत विश्वका लागि प्रतिष्ठित उत्पादनहरू भारतमा बनिरहेको बताएका छन् ।

प्रत्येक महिना एक अर्ब डलरको आईफोन निर्यात

अहिले भारतबाट हरेक महिना कम्तीमा एक अर्ब डलर बराबरको आइफोन निर्यात भइरहेको छ । यसको मुख्य कारण भारतको पीएलआई योजनालाई मानिएको छ । २०२३/२४ मा १२.१ अर्ब डलरको आईफोन निर्यात भएको थियो । यस्तै, २०२२/२३ मा ६.२७ अर्ब डलरको आईफोन निर्यात भएको थियो । वित्तीय वर्ष २०२३/२४ मा एप्पलको भारत सञ्चालनको मूल्य २३.५ अर्ब डलर थियो ।

सन् २०२४ मा भारतमा एप्पलको राजस्व वार्षिक आधारमा १८ प्रतिशतले बढ्न सक्छ । नयाँ आईफोन सार्वजनिक भएसँगै कम्पनीको देशमा स्थिति पहिलेभन्दा बलियो हुनेछ । गत वर्ष एप्पलले भारतमा करिब एक करोड आईफोन बिक्री गरेको थियो । यो वर्ष यो बढेर १.३ करोड पुग्ने अनुमान छ । एप्पलले भारतमा हरेक वर्ष ५ करोडभन्दा बढी आईफोन उत्पादन गर्ने लक्ष्य राखेको छ । एजेन्सी

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका