जोडिनुहोस
मङ्लबार, अशोज ८, २०८१
मङ्लबार, अशोज ८, २०८१
  • होमपेज
  • विकल र एलिनाको हुन्डी कारोबार: भ्रष्टाचार गरेको रकम क्रिप्टोकरेन्सीमा लगानी, अमेरिकामा ६ करोडको घर

विकल र एलिनाको हुन्डी कारोबार: भ्रष्टाचार गरेको रकम क्रिप्टोकरेन्सीमा लगानी, अमेरिकामा ६ करोडको घर

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी डाक्टर एलिना बस्नेतविरुद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अमेरिकाको न्युयोर्क बस्ने एलिनाको संलग्नतालाई लिएर राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ। एलिना प्रत्यक्ष सम्पर्कमा नआएपछि विभागले भदौ १५ गते सूचना जारी गर्दै सम्पर्कमा आउन ७ दिनको समय दिएको थियो। विमागले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ।

सम्पर्कमा नआएकी एलिनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। विकल र एलिनाले आफन्तहरूसँग मिलेर हुन्डीको कारोबार गरेको देखिएको छ। उनीहरूले १ करोड ४६ लाख ६६ हजार २७८ रुपैयाँ हुन्डी गरेको देखिएको भन्दै सोही रकम बिगो दाबी गरी मुद्दा दायर गरिएको हो।

२०६१ चैत १५ देखि २०७४ साउन ३ गतेसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा विभिन्न पदमा रहेर काम गरेका विकल २०७४ साउन ४ गते सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनले ती दुई संस्थामा कार्यरत रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलिसकेको छ।

केन्द्रको कार्यकारी निर्देशक रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले गत जेठ ८ गते उनलाई २५ करोड जरिवाना र २ वर्ष कैद सजाय सुनाएको थियो।

अनुसन्धानका क्रममा विकलले अमेरिकास्थित रबिहुड मार्केट्समार्फत क्रिप्टोकरेन्सी/ बिटक्वाइनमा लगानी गरेको र नेपालमा गैरकानुनीरुपमा आर्जित रकम अमेरिकामा पत्नी एलिना, सालो एलिस बस्नेत लगायत व्यक्तिसँग मिलेर हुन्डीमार्फत लगेको देखिएको छ।

प्रहरीले जेठ २७ गते बुझाएको प्रतिवेदनका आधारमा बिगो दाबी गरिएको छ। विभिन्न ८ वटा मितिमा हुन्डी कारोबारबाट रकम स्थानान्तरण गरेको देखिएको छ।

सन् २०२२ डिसेम्बर २७ मा ५३ लाख ४ हजार ८०० रुपैयाँ पठाएको देखिएको छ। एलिसले ह्वाट्सएपमा गरेको कुराकानीलाई प्रहरीले आधार बनाएको छ। सन् २०२१ को जुलाईमा डाक्टर वीरेन्द्र शाहले एलिनासँग भाइबरमा ६१ हजार डलर चाहिएयो भनेर कुरा गरेको देखिएको छ।

विकलमाथि अख्तियारले पनि विभिन्न प्रकरणमा अनुसन्धान गरेको थियो। उनले क्रिप्टोकरेन्सी र बिटक्वाइनमा लगानी गरेको खुलेको थियो। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईबाट प्राप्त विवरण अनुसार विकलले राष्ट्र बैंकको स्वीकृति बिना २०७८ साउन ११ गते सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा बचत खाता, सोही बैंकमा २०७८ भदौ १७ गते एक वर्षे मुद्दती खाता र चल्ती खाता खोलेको देखिएको छ।

इन्स्टासेफ इन्क नामक कम्पनीबाट विकलको अमेरिकास्थित बैंक अफ अमेरिका नेसनल एसोसिएसनको खातामा अगस्ट २०२० मा १ लाख ८८ हजार ३०० डलर जम्मा भएको देखिएको छ। विकल र एलिनाको संयुक्त नाममा बैंक अफ अमेरिकामा खाता नम्बर ५१८००४०५५०१९ र विकलको नाममा सोही बैंकमा ४८३०८३३७१५१९ नम्बरका खाता रहेको देखिएको छ।

विकल नेपालमा आपूर्ति हुने सूचना प्रविधिसम्बन्धी सामग्री (सफ्टवेयर र हार्डवेयर)को स्पेसिफिकेसन तयार गर्ने काममा संलग्न हुने गरेको र यस्ता सामग्री आपूर्ति गर्ने विदेशी कम्पनीसँग साँठगाँठ गरी ती कम्पनीहरूको विदेशस्थित खाताबाट निजको विदेशी मुलुकमा रहेको बैंक खातामा गैरकानुनी रकम कमिसनस्वरुप जम्मा भएको देखिएको छ।

विकलले एलिनाको नाममा अमेरिकाको ६३६० टुलिपवेस्ट जेम्सभिल्ला एनवाइ १३९७८ मा करिब ६ करोड रुपैयाँ बराबरको अपार्टमेन्ट खरिद गरेको खुलेको छ।

विकलले नेपालमा कमिसन र भ्रष्टाचार लगायतका गैरकानुनी कार्यबाट आर्जित रकम हुन्डीमार्फत अमेरिकामा पत्नी एलिनाका नाममा पठाई आफ्नो नाममा जम्मा गर्ने र मुद्रा निर्मलीकरण गर्ने गरेको पाइएको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?