
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सोमबार शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।
यो सम्झौता भए सँगै प्रभु केवलकारको ३० करोड बराबरको आईपीओ निष्काशन गर्ने कार्य अघि बढेको छ।
प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धका कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै धेरै आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेको कम्पनीले जनाएको छ ।
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।
त्यस्तै, यस प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदूरपश्चिमस्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा उपस्थिति जनाएको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा रु ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































