जोडिनुहोस
शुक्रबार, माघ १८, २०८१
शुक्रबार, माघ १८, २०८१
  • होमपेज
  • सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई पनि कानुन, एक करोडसम्म जरिवाना

सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई पनि कानुन, एक करोडसम्म जरिवाना

सरकारले एक करोड रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याएको छ। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने, सामाजिक र धार्मिक सद्भाव भड्काउने, कुनै व्यक्तिको चरित्रमा गम्भीर आघात पुग्ने वा हिंसा भड्काउने सामग्री अपलोड गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले विधेयक ल्याएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विधेयक संसद् सचिवालयमा दर्ता गराएका छन्।

विधेयक अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्य दृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य गर्न पाउने छैनन्। त्यस्ता पोष्ट सेयर, लाइक, कमेन्ट, रिपोष्ट, ट्याग, ह्यासट्याग र मेन्सन गर्न पनि निषेध गरिएको छ। यो व्यवस्था नमान्नेलाई ५ लाख रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। हेट स्पीच भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोष्ट, ट्याग, ह्यासट्याग र मेन्सन गर्नुलाई बुझिने विधेयकमा उल्लेख छ।

विधेयकले साइबर स्टकिङ गर्न पनि निषेध गरेको छ। इन्टरनेट प्रयोग गरी कसैलाई झुट्टा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुर्व्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनियता भङ्ग गर्ने, बारम्बार अनावश्यक सन्देश पठाउने, गोप्य जानकारी खुलासा गर्ने वा वैयक्तिक सुरक्षामा खतरा पुर्‍याउने काम गरी कसैलाई हैरानी दिएमा साइबर स्टकिङको परिभाषा गरेको छ। यदि साइबर स्टकिङ गरे तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने सजाय प्रस्ताव गरिएको छ।

विधेयकले फेक एकाउन्ट बनाएर प्रयोग गर्न पनि निरुत्साहित गर्न खोजेको छ। फेक आइडी, पेज, समूह वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचानमार्फत विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्न रोक लगाएको छ। यदि यसो गरेमा तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ। विधेयकले सेक्सटोर्सन वा एक्स्टोर्सन, साइबर बुलिङलाई पनि व्याख्या गर्दै यो भए कैद र जरिवानाको प्रस्ताव गरेको छ। पछिल्लो समय धेरै इन्टरनेट प्रयोगकर्ता सिकार हुने गरेको फिसिङ वा इम्पोष्टर स्क्याम गर्न विधेयकले रोक लगाएको छ। यदि यसो गरेमा कैद र जरिबाना दुवै सजाय प्रस्ताव गरिएको छ।

त्यसैगरी, विधेयकले डिपफेक भिडियोलाईसमेत व्याख्या गर्दै सामाजिक सञ्जालको प्रयोग गरी यस्ता भिडियो अपलोड वा प्रसार गर्न बन्देज लगाएको छ। विधेयकमा हदम्यादको व्यवस्था राखिएको छ। सामाजिक सञ्जालको प्रयोग गरेर कसैले प्रस्तावित विधेयकविपरीतको कसूर हुने काम गरेमा त्यस्तो कार्यबाट मर्का पर्ने व्यक्तिले कसूर भए गरेको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका