

नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जा सम्बन्धी थप नयाँ व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै थप नयाँ व्यवस्थाहरु गरेको हो । देहायका व्यवस्था तथा शर्त पुरा गरी सुनचाँदी धितो राखी कर्जा प्रदान गर्न सकिने छ:–
(क) संस्थाको कर्जा नीति/विनियमावलीमा सुनचाँदी धितो लिई कर्जा प्रदान गर्ने व्यवस्था उल्लेख भएको हुनुपर्ने,
(ख) संस्थाले सुनचाँदीको कर्जा कारोबार गर्नु अगावै आवश्यक सुरक्षा व्यवस्था, सुरक्षणको मूल्याङ्कन व्यवस्था, ढुकुटी बीमा तथा जाँचकी सम्बन्धी व्यवस्था गरेको हुनु पर्ने,
(ग) कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितो स्वरुपदिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।
कथंकदाचित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस प्रकारको सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा रु. ५० लाख कायम गरिएको छ । यस अघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्नेछ ।