

सेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । २०८२ सालको पहिलो कारोबार दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अंकले बढेर २६८८.६३ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा रोकिएको थियो । मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा कुल ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ६ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २१२ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको मात्रै घटेको छ । मंगलबार कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक अर्थात् ९.६९ प्रतिशतले घटेको छ । मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.५३ प्रतिशत, विकास बैंकको २.४० प्रतिशत, फाइनान्सको १.६५ प्रतिशत र होटल तथा पर्यटन समूहको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, जलविद्युत् समूहमा १.४७ प्रतिशत, लगानी समूहमा २.६३ प्रतिशत, जीवन बिमा समूहमा ०.८६ प्रतिशत, उत्पादन समूहमा १.२१ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्यमा ०.६१ प्रतिशतको सुधार भएको छ ।