
कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ । आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो ।
सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।
तर, उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।
विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ ।
यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरिएको छ ।
निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न हुने भएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































