जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आधा दर्जन ‘फर्मुला’ जसले मुक्तिनाथलाई देशकै अव्वल विकास बैंक बनायो

आधा दर्जन ‘फर्मुला’ जसले मुक्तिनाथलाई देशकै अव्वल विकास बैंक बनायो

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBBL) ले आर्थिक वर्ष २०८१/८२ मा डेढ अर्बभन्दा बढी नाफा आर्जन गर्दै विकास बैंक क्षेत्रमै पहिलोपटक यस्तो उपलब्धि हासिल गरेको छ। बैंकले चौथो त्रैमासमा १ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब १८ करोड रुपैयाँभन्दा ३०.७० प्रतिशतले बढी हो। यससँगै बैंक सेयरधनीलाई लाभांशको रूपमा बाड्न सक्ने रकम पनि झन्डै डेढ अर्ब पुगेको छ।

बैंकको प्रगति विवरण हेर्दा, अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा १९ करोडबाट झन्डै डेढ अर्ब पुग्नु ऐतिहासिक उपलब्धि मानिएको छ। त्यस्तै, प्रति सेयर आम्दानी (EPS) पनि करिब ३० प्रतिशतले बढ्दै २२ रुपैयाँ पुगेको छ। बैंकको संचित नाफा ६५१.१५ प्रतिशतले उकाली चढ्दै १ अर्ब ४६ करोडमा पुगेको छ भने सञ्चालन नाफा २ अर्ब २३ करोडमा पुगेको छ। शुद्ध ब्याज आम्दानी ७.५ प्रतिशतले बढ्दै ४ अर्ब ५६ करोड कायम भएको छ, जसलाई २७.५२ प्रतिशतले घटेको क्षति व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) ले थप बल दिएको छ।

यस्तो कठिन अवस्थामा पनि मुक्तिनाथ विकास बैंकले उत्कृष्ट प्रगति गर्नुका पछाडि आधा दर्जन ‘फर्मुला’हरू रहेको बैंकको उच्च व्यवस्थापनको दाबी छ। पहिलो, नयाँ कर्जा विस्तारभन्दा पुराना कर्जाको सावाँ–ब्याज असुलीमा जोड दिइएको छ। दोस्रो, कर्जा गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। तेस्रो, साना तथा मझौला कर्जामा केन्द्रित रहँदै असुली प्रणाली कडाइ गरिएको छ। चौथो, लक्ष्य पूरा गर्ने कर्मचारीलाई ‘रिवार्ड’ दिने प्रणालीले आन्तरिक मनोबल बढाएको छ। पाँचौं, उच्च व्यवस्थापनमा विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रियामा लचकता ल्याइएको छ। छैटौं, संचालक समितिको विश्वास र अधिकार वितरणले व्यवस्थापनलाई अझै सक्षम बनाएको छ।

बैंकको निक्षेप संकलन १ खर्ब १७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९७ अर्ब ५२ करोडमा उक्लिएको छ। पुँजी पर्याप्तता अनुपात १२.९९ प्रतिशत कायम रहँदा गैर–निष्पादन कर्जा (NPL) अनुपात २.७५ प्रतिशत रहेको छ। प्रति सेयर खुद सम्पत्ति मूल्य (Net Worth Per Share) १६९.९५ रुपैयाँ कायम भएको छ।

सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्ल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको नेतृत्वमा बैंकले कठिन आर्थिक अवस्थामाझ पनि प्रगति हासिल गर्न सफल भएको हो। विश्लेषकहरूका अनुसार, मुक्तिनाथले अवलम्बन गरेको रणनीति अरू बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय बन्न सक्ने देखिएको छ।

कठिनाइको समयमै रणनीतिक व्यवस्थापन, असुलीमा सुधार र कर्मचारीको मनोबल वृद्धिले बैंकलाई देशकै अव्वल विकास बैंकको हैसियतमा उभ्याएको विश्लेषण गरिएको छ।

645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका