
बजारमा आर्थिक गतिविधि विस्तारै बढ्दा तथा राष्ट्र बैंकको खुकुलो नीतिले ऋणको माग बढ्न थालेको छ। न्यून ब्याजदर र अधिक तरलताबीच राष्ट्र बैंकले खुकुलो नीति लिएर लगानीलाई प्रोत्साहन गरेपछि कर्जाको माग बढ्न थालेको हो।
नजिकिएको दसैंका कारण ऋणको माग बढेको बैंकरहरुले बताएका छन्। बैंक तथा वित्तीय संस्थाले करिब एक महिनामा ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट कूल ५५ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकामा त्यस्तो रकम भदौ ११ गतेसम्म आइपुग्दा ५६ खर्ब नाघेको छ।
पोहोर साउन र भदौ २ महिनामा बैंकहरुले जम्मा ३१ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यसपालि भदौ १२ देखि मसान्तसम्म पुग्दा कर्जाको आकार ३९ अर्बबाट ५० अर्ब नाघ्ने बैंकरहरुको अनुमान छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लिएको खुकुलो व्यवस्थाका कारण कर्जा लगानी बढाउन सहयोग गरेको बैंकरहरु बताउँछन्। साथै, नजिकिंदै गरेको दसैं तिहारका लागि उपभोग्य वस्तुको माग बढेका कारण पनि कर्जा लगानी बढ्न थालेको उनीहरुको भनाइ छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ राष्ट्र बैंकले लिएको लचिलो नीतिले कर्जा बढाउन मद्दत गरेको बताउँछन्।
‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानी बढोस् भनेर घर कर्जा, रियल इस्टेट कर्जामा सहुलियत दिएको छ,’ उनले भने, ‘पहिले घर कर्जा व्यक्त्ति विषेश हुन्थ्यो। अहिले रियल इस्टेटलाई पनि सहुलियत दिएको छ। जसले गर्दा कर्जा विस्तारमा मद्दत पुगेको छ।’
यस्तो कर्जामा लोन टू भ्यालु रेसियो बढाइएका कारण माग बढेको खालिङले बताए। घर कर्जामा लोन टू भ्यालु रेसियो बढाइनुका साथै सीमा वृद्धि गरी ऋणा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा लगानीलाई प्रोत्साहन गर्न नीतिगत दर घटाएको छ। खराब कर्जाले नोक्सानी बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषमा सहुलियत दिएको छ।
पर्याप्त लगानीयोग्य रकम भएपनि पुँजीकोष दबाबका कारण ऋण लगानी विस्तार गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै रेगुलेटरी रिजर्भलाई २ वर्षका लागि पुँजीकोषमा गणना गर्ने सुविधा दिइएका कारण बैंकहरुलाई लगानी बढाउन सहयोग पुगेको छ।
कृषि र एसएमई कर्जा विस्तारमा देखिएको समस्यालाई अवधि सारेर पुरानो कर्जालाई पुनर्संरचना गर्ने सुविधा दिइएका कारण पनि बैंकहरुको नाफा बढेर लगानी क्षमता बढेको छ।
बैंकरहरुका अनुसार सेयर धितो र अटो कर्जाको पनि माग बढेको छ। नजिकिंदै गरेको चाडपर्व लक्षित गर्दै उपभोग कर्जा पनि देखिएको बैंकरहरुको भनाइ छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कर्जा ८.२ प्रतिशतले विस्तार गरेका थिए। कर्जा वृद्धि २०८०/८१ मा ५.९ प्रतिशत र २०७९/८० मा ३.६ प्रतिशतमा सीमित थियो।
सानिमा बैंकका सीइओ निश्चलराज पाण्डेय पछिल्लो समय कर्जा लगानी बढिरहेको बताउँछन्।
राष्ट्र बैंकले घरजग्गा लगायत क्षेत्रलाई चलायमान बनाउने गरी लिएको नीति, घट्दो ब्याजदर र नजिकिएको दसैंले कर्जा विस्तार भएको उनको भनाइ छ।
‘मौद्रिक नीतिमा आवासीय घर निर्माणलाई बढावा दिने व्यवस्था गरिएको छ। यस्तै तरलता धेरै रहेका कारण ब्याजदर पनि अझै घट्ने देखिन्छ। त्यसो हुँदा कर्जाको माग बढ्छ,’ पाण्डेले भने, ‘अहिले पनि कर्जाको माग विस्तारै बढिरहेको छ। गत वर्ष ८.२ प्रतिशतले कर्जा ग्रोथ भयो। यो भनेको बजारमा आर्थिक गतिविधि बढेको सूचक हो।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































