
एप्पलले आफ्नो नयाँ पुस्ताको आइफोन सार्वजनिक गरेको छ, जसमा नयाँ अल्ट्रा-पातलो मोडेल र उच्चस्तरीय मोडेलमध्ये एउटामा मूल्य बढाइएको छ। मंगलबारको यो घोषणाको बीचमा कम्पनी विश्वव्यापी व्यापार युद्धको चपेटामा परेको छ। आइफोन-१७ लाइनअपमा अब ‘एयर’ नाम पाएको नयाँ स्लिम मोडेल समावेश छ, जुन नाम एप्पलले पहिले नै आफ्नो पातलो आइप्याड र म्याक कम्प्युटरका लागि प्रयोग गर्दै आएको थियो। वार्षिक परम्परानुसार, सबै चार नयाँ आइफोन-१७ मोडेलमा गत वर्षको तुलनामा राम्रो क्यामरा र बढी टिक्ने ब्याट्री हुनेछ। सबै मोडेलमा कम्तीमा २५६ गिगाबाइट स्टोरेज हुनेछ, जुन अघिल्लो पुस्ताको भन्दा दोब्बर हो।
‘हामी फेरि स्तर बढाउँदैछौं,’ एप्पलका सीइओ टिम कुकले कुपर्टिनोस्थित कम्पनीको क्याम्पसमा स्टीभ जोब्सको नाममा बनेको अडिटोरियममा भेला भएका दर्शकलाई सम्बोधन गर्दै भने।
ट्यारिफको चपेटामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन र उनले लगाएको उच्च करको नीतिपछिको आइफोनका नयाँ मोडललाई बजारमा सहज छैन। आइफोनले नयाँ मोडल ल्याउनुलाई ट्रम्प प्रशासनले विदेशी उत्पादनलाई अमेरिकी बजारमा ल्याएको रूपमा हेरिरहेको छ, जसले गर्दा कुकलाई गाह्रो परेको छ।
आइफोन-१७ का सबै मोडेल चीन र भारतस्थित एप्पलका उत्पादन केन्द्रमै बन्ने भएकाले ती ट्रम्पका केही ट्यारिफको चपेटामा पर्नेछन्। विश्लेषकहरूका अनुसार आयात शुल्कले एप्पललाई मूल्य बढाउन दबाब दिएको छ, ताकि नाफा सुरक्षित गर्न सकियोस्।
कम्पनीले कुनै कारण नबताई आइफोन-१७ प्रोको मूल्य १,१०० डलर तोकेको छ, जुन अघिल्लो मोडेलको भन्दा १०० डलर, अर्थात् १० प्रतिशत बढी हो। आइफोन एयरको मूल्य १,००० डलरबाट सुरु हुनेछ, यो अघिल्लो वर्षको आइफोन-१६ प्रो बराबर हो।
सामान्य आइफोन-१७ भने ८०० डलरमै रहनेछ र आइफोन-१७ प्रो म्याक्स १,२०० डलरमै। सबै मोडेल सेप्टेम्बर १९ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
एप्पलको सेयर मंगलबार १.५ प्रतिशतले घट्यो, जबकि अन्य बजार बढेको थियो। यसले लगानीकर्ताहरू अझै सन्तुष्ट नभएको देखाएको छ।
नयाँ आइफोन एयर
आइफोन-१७ एयरले सबैभन्दा बढी चर्चा पायो। यसले प्रो मोडलको धेरै सुविधा समेट्दै आकर्षक डिजाइनमा आएको छ। फोरेस्टर रिसर्चका विश्लेषक दिपाञ्जन चटर्जीका अनुसार यो ट्रेन्डमा ध्यान दिने उपभोक्तालाई आकर्षित गर्नेछ। एयर मोडेल मात्र ५.६ मिलिमिटर बाक्लो छ, जब कि अन्य आइफोन १७ मोडेल ८–९ मिलिमिटर छन्। ‘त्यहाँ थुप्रै ‘क्र्याकल्स’ र एउटा ठूलो ‘पप’ थियो,’ चटर्जीले भने।
यसपटक सेल्फी संस्कृतिलाई ध्यान दिइएका नयाँ फिचरहरू पनि थपिएका छन्। आइफोन-१७ मोडलमा बढी मेगापिक्सेल भएको फ्रन्ट क्यामेरा, ‘सेन्टर स्टेज’ अप्सन, र नयाँ सेन्सर छन् जसले प्रयोगकर्तालाई फोन नघुमाइकनै ल्यान्डस्केप फोटो खिच्न दिनेछ। विश्लेषक पाओलो पेस्काटोरेका अनुसार, यद्यपि अपग्रेडहरू धेरै हदसम्म अघिल्ला वर्षझैँ क्रमिक मात्र हुन्, एप्पलले ‘लामो समयदेखि उस्तै रहेको आइफोनमा नयाँपन ल्याएको’ देखिन्छ। एप्पलले नयाँ स्मार्टवाच पनि ल्याएको छ, जसमा उच्च रक्तचाप (हाइपरटेन्सन) पत्ता लगाउन सहयोग गर्ने उपकरण छ, साथै नयाँ पुस्ताको एअरपड पनि प्रस्तुत गरेको छ।
बिक्री बढाउने प्रयास
एप्पल पछिल्ला वर्षमा बिक्री वृद्धिमा संघर्ष गर्दै आएको छ। नाफा भए पनि स्टार्टअप बिजनेसमा प्रश्न उठिरहेको छ। यही कारण कम्पनीको बजार मूल्य यस वर्ष ६ प्रतिशतले घटेको छ, जबकि नास्डाक कम्पोजिट १३ प्रतिशतले बढेको छ।
पछिल्लो वर्षको आइफोन १६ ठीकठाक चले पनि, एआई फिचर नपुगेकाले बिक्री अपेक्षा अनुसार भएन। स्मार्ट सिरि सहायक लगायतका फिचर अब अर्को वर्ष मात्र आउनेछन्।
फोरेस्टर रिसर्चका टोमस हुशानले भविष्यवाणी गरे, ‘प्रतिस्पर्धीलाई हराउन एप्पलले एआईलाई नयाँ प्रयोगकर्ता इन्टरफेसको रूपमा सफलतापूर्वक प्रयोग गर्नैपर्छ।’
विश्वव्यापी व्यापार युद्धको असर
ट्रम्प र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले बारम्बार आइफोन अमेरिकामै बनाउनुपर्ने माग गरेका छन्। तर विश्लेषकहरूले यो असम्भव बताएका छन्, किनभने यस्तो गर्न वर्षौं लाग्नेछ र मूल्य दोब्बर वा तेब्बर हुनेछ।
कुकले अमेरिकामा ४ वर्षभित्र ५०० अर्ब डलर लगानी गर्ने वाचा गरेका थिए, पछि १०० अर्ब थपे। उनले ट्रम्पलाई २४ क्यारेट सुनको आधार भएको मूर्ति पनि उपहार दिएका थिए।
यस्तो कूटनीतिले एप्पललाई सबैभन्दा कठोर ट्यारिफबाट केही हदसम्म जोगाएको छ। तर अझै पनि अमेरिकामा भित्रिने आइफोनहरूमा करिब २५ प्रतिशत शुल्क लागिरहेको छ, जसका कारण विश्लेषकहरूले कम्पनी मूल्य बढाउने अनुमान गरेका थिए। यद्यपि स्यामसङ र गुगलजस्ता अन्य स्मार्टफोन कम्पनीहरू भने गत वर्षकै मूल्यमा टिकेका छन्। (एपी)
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































